१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरूको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
कार्यक्रममा ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण तथा मेडिकल हिस्ट्री संकलन गरी आवश्यक आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने कार्यबाहक प्रमुख डंगोलले बताइन् ।
उनका अनुसार स्वास्थ्य प्रवर्द्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गर्ने तथा जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
यस कार्यक्रमले अगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने डंगोलको विश्वास छ ।
‘आजबाट हामीले ७० वर्ष र सोभन्दा माथि उमेरसमूहका आमाबुबाहरूलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै प्रदान गर्ने कार्यक्रमको शुभारम्भ गरेका छौँ । ज्येष्ठ नागरिकहरूको अवस्था कस्तो छ ? भन्ने कुराको सर्वेक्षण पनि सँगसँगै भइरहेको छ । हाम्रो अगामी वर्षको नीति तथा कार्यक्रम एभिडेन्सबेस होस् भन्ने उद्देश्यलाई पनि यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएका छौं,’ उनले भनिन् ।
शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षणको काम काम समेत प्रारम्भ भएको बताइन् ।
प्रतिक्रिया 4