+
+
Shares

कृषि क्षेत्रका लागि ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रका लागि महत्त्वपूर्ण मोड भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुलुकको कृषि तथा पशुपन्छी क्षेत्रलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन तयार पारिएको 'जलवायु अनुकूलन डिजिटल नक्सा' सार्वजनिक गरिएको छ।
  • कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रका लागि महत्त्वपूर्ण मोड भएको बताए।
  • नक्साले किसानलाई बालीनाली र पशुपन्छीमा हुने जलवायुजन्य जोखिम विश्लेषण र असर लेखाजोखा गर्न सघाउने जनाइएको छ।

१९ माघ, काठमाडौं । मुलुकको कृषि तथा पशुपन्छी क्षेत्रलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन तयार पारिएको ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डिजिटल नक्सा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रका लागि महत्त्वपूर्ण मोड भएको बताए ।

‘नेपालको परम्परागत कृषि प्रणालीको सुरक्षाका लागि यो नक्सा निकै उपयोगी हुनेछ,’ मन्त्री परियारले भने, ‘यसको उपयोग किसानको तहसम्मै पुर्‍याउन सम्बद्ध निकायहरूले विशेष ध्यान दिनुपर्छ ।’

केही संस्थाहरूले नक्सा् उपयोग सुरु गरिसकेकोमा उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा बोर्लाग इन्स्टिच्युट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तन जोखिमले विश्वव्यापी समस्या निम्त्याइरहेका सन्दर्भमा यो नक्सा एक नयाँ र समयसापेक्ष प्रयास भएको धारणा राखे ।

उनले नेपाल, भारत, बंगलादेश र श्रीलंकाका वैज्ञानिकहरूको सक्रियतामा नक्सा तयार पारिएको जानकारी दिए ।

यस्तै नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले यो नक्साले जलवायु जोखिमबाट बालीनाली र पशुपन्छीमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति निर्माण गर्न सघाउने बताए । उनले यसलाई जलवायुमैत्री प्रविधि अवलम्बनको क्षेत्रमा एक महत्त्वपूर्ण कोशेढुंगाका रूपमा चित्रण गरे ।

आयोजक राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र प्रमुख डा. तुलसी पौडेलले नक्साको औचित्यमाथि प्रकाश पार्दै यसले योजना तर्जुमा, वित्तीय संस्थाहरू मार्फत जोखिम विश्लेषणमा आधारित ऋण प्रवाह तथा शैक्षिक अध्ययनमा मद्दत पुग्ने बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले माटोको डिजिटल नक्सापछि नार्कले गरेको यो अर्को उपलब्धि ‘डिजिटल नेपाल’ को उद्देश्य पूरा गर्न सहायकसिद्ध हुने उल्लेख गरे ।

समारोहमा वैज्ञानिकद्वय डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले नक्सा सञ्चालन र उपयोगबारे प्रस्तुति दिएका थिए ।

यो नक्साले किसानलाई बालीनाली र पशुपन्छीमा हुने जलवायुजन्य जोखिम विश्लेषण र असर लेखाजोखा गर्न सघाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?