+

कविराज नेगीलाई विश्व तेक्वान्दो महासंघबाट उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षकको अवार्ड

२०८२ माघ  २० गते ८:५१ २०८२ माघ २० गते ८:५१
कविराज नेगीलाई विश्व तेक्वान्दो महासंघबाट उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षकको अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षक कविराज नेगीलाई विश्व तेक्वान्दो महासंघले २०२५ को 'पारा तेक्वान्दो कोच अफ द इयर' अवार्ड प्रदान गरेको छ।
  • नेगीको प्रशिक्षणमा नेपालले एसियन गेम्सदेखि पारालिम्पिकसम्म १३ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ, जसमा ३ स्वर्ण, २ रजत र ८ कास्य छन्।
  • नेगीले यसअघि पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बाट उत्कृष्ट प्रशिक्षकको सम्मान पाइसकेका छन्।

१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक कविराज नेगी लामालाई विश्व तेक्वान्दो महासंघ (डब्लुटी) ले ‘पारा तेक्वान्दो कोच अफ द इयर २०२५’ अवार्ड प्रदान गरेको छ ।

यूएईको फुजैराहस्थित अल बहर होटल एण्ड रिसोर्टमा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ समारोहमा डब्लुटीका अध्यक्ष डा. चाउ चुड–वनले नेगीलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरे । यो अवार्ड प्राप्त गर्ने नेपाली तेक्वान्दो इतिहासमा कविराज नेगी पहिलो प्रशिक्षक बन्नुभएको छ ।

नेपालमा पारा तेक्वान्दो खेलको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरिएका उल्लेखनीय उपलब्धिको मूल्याङ्कन गर्दै वर्ल्ड तेक्वान्दो टेक्निकल कमिसनले नेगीलाई उत्कृष्ट प्रशिक्षकका रूपमा छनोट गरेको हो ।

सन् २०१५ देखि नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षकका रूपमा कार्यरत नेगीको प्रशिक्षणमा नेपालले एसियन गेम्सदेखि पारालिम्पिकसम्म तथा एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसिपसम्म १३ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । ती पदकमा ३ स्वर्ण, २ रजत र ८ कास्य समावेश छन् ।

नेगीकै प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिस २०२४ पाराओलम्पिक खेलकुद तथा हाङझाउ एशियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी थिइन् । यस्तै, सिर्जना घिसिङले सन् २०२२ वर्ल्ड ग्रान्ड प्रिक्स फाइनल (जी१०) मा ऐतिहासिक स्वर्ण पदक हात पारेकी थिइन् ।

विश्व तेक्वान्दो महासंघले प्रत्येक वर्ष आयोजना गर्ने गाला अवार्ड समारोहमा ओलम्पिक तथा पाराओलम्पिक वर्षका उत्कृष्ट पुरुष–महिला खेलाडी, प्रशिक्षक, रेफ्री तथा उत्कृष्ट सदस्य राष्ट्रिय संघलाई सम्मान गरिँदै आएको छ । विश्व तेक्वान्दोमा नेपाल तेक्वान्दो संघसहित २१३ राष्ट्र आबद्ध छन् ।

यसअघि पनि नेगीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ‘कोच अफ द इयर’ अवार्ड, नेपाल ओलम्पिक कमिटीबाट सन् २०२२ को उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद्बाट २०२४ पारा तेक्वान्दो उत्कृष्ट प्रशिक्षक तथा नेपाल तेक्वान्दो संघ र बागमती प्रदेश खेलकुद अवार्डबाट समेत उत्कृष्ट प्रशिक्षकको सम्मान प्राप्त गरिसकेका छन्।

कविराज नेगी पारा तेक्वान्दाे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय