२२ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ललितपुर-१ बाट पुरानै व्यक्ति अघि सार्दा प्रतिस्पर्धी दलहरूले भने नयाँ अनुहारलाई उतारेका छन् ।
विशेष महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री बनेका उदयशमरशेर राणा ललितपुर-१ मा पुन: उम्मेदवार बनेका छन् ।
एमालेले भने प्रदेशसभामा दुई पटक उम्मेदवार बनेका चेतनाथ सञ्जेललाई यो क्षेत्रमा संघीय संसद्को उम्मेदवारका रूपमा अघि सारेको छ ।
दलीय र स्वतन्त्र गरी ७१ उम्मेदवार रहेको ललितपुर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धरत्न महर्जन र नेपाली कम्युनिस्ट पार्टीबाट सुनिल महर्जन उम्मेदवार बनेका छन् ।
गत संसदीय निर्वाचन र स्थानीय तहमा यस क्षेत्रका पालिकाबाट प्राप्त मतको आधारमा विश्लेषण गर्दा कांग्रेस पहिलो शक्ति रहेको छ । कांग्रेस उम्मेदवार राणाले २३ हजार ८९२ मत सहित प्रत्यक्ष चुनाव जित्दा समानुपातिकमा पनि कांग्रेस पहिलो स्थानमा थियो ।
तत्कालीन माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दा कांग्रेस उम्मेदवार राणालाई जित्नका लागि थप साथ मिलेको थियो । कांग्रेसले गत निर्वाचनमा यो क्षेत्रबाट समानुपातिकमा १६ हजार ३५२ मत पाएको थियो ।
यस क्षेत्रमा महांकाल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका सबै वडा पर्छन् । साथै, गोदावरी नगरपालिकाका १ देखि ११ सम्म र १३ नम्बर वडा पर्छन् । यी सबै पालिकामा कांग्रेसबाट जितेका जनप्रतिनिधिले नेतृत्व गरेका छन् ।
पूर्वराज्यमन्त्री, कांग्रेसको भ्रातृ संस्था तरुण दलको पूर्वअध्यक्ष रहेका राणा पुनः प्रतिस्पर्धामा उत्रेका छन् । २०७० को संविधानसभा सदस्य रहेका राणा २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
चुनावी प्रचारको क्रममा अन्य दलबाट जनप्रतिनिधि बनेकालाई उनले कांग्रेसमा भित्र्याएका छन् । गत सोमबार उनले एमाले परित्याग गर्नेलाई कांग्रेसमा प्रवेश गराएका छन् । एमाले परित्याग गर्ने गोदावरी नगरपालिका-२ का वडासदस्य रमेश विष्टसहित तीन जनालाई प्रवेश गराएका हुन् ।
चुनावी प्रचारमा गरिरहेका राणाले मतदाताहरूसँग भन्दै आएका छन्, ‘जित्दा होस् या हार्दा, म सधैं तपाईंहरूसँग छु । भौतिक पूर्वाधारदेखि आर्थिक विकाससम्म, बदलिएको कांग्रेसले अब नेतृत्व गर्नेछ । तपाईँहरूको विश्वासलाई विकासमा रूपान्तरण गर्दै तपाईँहरूको सुख-दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कान्ति लोकपथलाई राष्ट्रिय महत्वको हाइवे बनाउनका लागि आफ्नो भूमिका महत्वपूर्ण रहेको राणाको दाबी छ ।्
गत निर्वाचनमा जित निकालेका राणाले २०७४ सालमा भने यही क्षेत्रमा पराजित हुनु परेको थियो । एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता हुँदा एमालेका नवराज सिलवाल २६ हजार ९५१ निर्वाचित भएका थिए । कांग्रेसका राणाले भने २० हजार ७२९ प्राप्त गरेका थिए । पछिल्लो पटक कांग्रेसबाट निर्वाचित राणाको मत अघिल्लोभन्दा करिब ३ हजारले बढेको थियो ।
यो निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका चेतनाथ सञ्जेल पहिलो पटक संघीय सांसदको लागि प्रतिस्पर्धामा छन् । २०७४ र २०७९ सालमा ललितपुर १ (ख) बाट सञ्जेल दुई पटक उम्मेदवार बने ।
२०७९ सालमा प्रदेशसभामा निर्वाचित सञ्जेल अघिल्लो पटक भने पराजित भए । २०७४ सालको निर्वाचनमा ललितुपर-१ (२) बाट १२ हजार ८६६ मतसहित निर्वाचित भएका उनी दोस्रो पटक सोही प्रदेशसभा उठ्दा हारे ।
गोदावरी नगरपालिका निवासी सञ्जेलले आफ्नो सबै समय जनताको सेवामा लगाउने प्रतिवद्दतासहित मत मागिरहेका छन् । मतदातासँग उनी भन्छन्, ‘३० दिन नै जनताको काम गर्छु । जनताको काम यो गर्छु, त्यो गर्दिन भन्दिनँ । आज सक्दिनँ भन्ने मेरो बानी छैन । सम्पूर्ण रूपमा मेरो जीवन तपाईंहरूको काममा हुन्छ ।’
बागमतीमा दुई वटा पुल आफ्नै पहलमा बनेको दाबीसहित उनले मतदातासँग मत मागिरहेका छन् ।
यस क्षेत्रको निर्वाचनमा अघिल्लो पटक उम्मेदवार बनेका नवराज सिलवाल कांग्रेससँग पराजित भएका थिए । एमाले उम्मेदवार सिलवालले १९ हजार २७८ मत पाएका थिए ।
ललितपुर-१ मा गत निर्वाचनमा समानुपातिकतर्फ पनि एमाले दोस्रो स्थानमा थियो । यस क्षेत्रबाट एमालेका लागि १५ हजार ५०८ मत समानुपातिकमा खसेको थियो । २०७४ र २०७९ सालको चुनावमा प्राप्त मत विश्लेषण गर्दा अघिल्लो चुनावमा एमाले उम्मेदवार सिलवालको ७ हजार भोट घटेको देखिन्छ ।
गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले यस क्षेत्रमा उम्मेदवार उठाएन । कांग्रेससँग चुनावी गठबन्धन गरेको माओवादी केन्द्रले कांग्रेसका उम्मदेवारलाई सघाएको थियो ।
यस पटक नेपाली कम्युनिस्ट पार्टी गठन गरेर उम्मेदवार खडा गरिएको छ । नेकपाबाट सुनिल महर्जन उम्मेदवार बनेका छन् । गोदावरीका ५० वर्षीय महर्जन पहिलोपटक चुनावी मैदानमा छन् ।
महर्जनले ‘मेरो जन्मभूमि मैले नबनाए कसले बनाउँछ ?’ नारासहित मत मागिरहेका छन् । गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्र समानुपातिकतर्फ चौथो स्थानमा थियो । माओवादी केन्द्रले त्यस समय ५ हजार ६७४ मत यस क्षेत्रमा प्राप्त गरेको थियो ।
विघटित प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर-१ मा अघिल्लो पटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ तेस्रो स्थानमा थियो । अघिल्लो पटक यस क्षेत्रमा रास्वपाबाट उम्मेदवार बनेका सचिनकुमार घिमिरे यसपटक प्रतिस्पर्धी बनेनन् ।
रास्वपाबाट यस क्षेत्रका लागि नयाँ अनुहार बुद्धरत्न महर्जन उम्मेदवार बनेका छन् । अघिल्लो पटक प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै मत रास्वपाले प्राप्त गरेको थियो ।
प्रत्यक्षका उम्मदेवार घिमिरेले ३ हजार २७७ मत ल्याउँदा रास्वपाको पक्षमा समानुपातिकतर्फ ६ हजार ८३८ मत खसेको थियो । अघिल्लो निर्वाचनमा रास्वपा लहरको निकै कम प्रभाव परेको निर्वाचिन क्षेत्रमध्ये ललितपुर-१ पनि एक हो ।
प्रतिक्रिया 4