+
+
Shares

लोकप्रिय बन्दै ‘चियासँग कविता’

ईश्वर थापा ईश्वर थापा
२०८२ माघ २४ गते १३:५९

२४ माघ, धनकुटा । धनकुटामा पछिल्लो समय साहित्यमा झुकाव राख्नेको संख्या बढ्दै गएको छ । बालबालिकादेखि युवा हुँदै पाका उमेरका जोसजाँगरका साथ यो क्षेत्रमा सक्रिय छन् । उनीहरू अरूका रचना सुन्न र आफ्नो रचना पस्कन कत्ति पनि हिच हिच्किचाउँदैनन् ।

त्यसो त धनकुटालाई पछिल्लो समय साहित्यको क्षेत्रमा लोकप्रिय नाम ‘चियासँग कविता’ बन्दै गएको छ । हरेक शुक्रबार हुने यो कार्यक्रममा साहित्यिक गतिविधि नहुने कुरै भएन । साहित्यमा लागेकाहरू अघिपछि व्यस्त हुन्छन् । सबै फरक/फरक पेसा–व्यवसायमा भएकाले पनि भेट हुन शुक्रबार नै कुर्नुपर्छ ।

शुक्रबार सरकारी नियम अनुसार आधा छुट्टी हुन्छ । छुट्टी सकेर घर जानेहरू पनि एकैछिन भएपनि साहित्य कार्यक्रममा रम्ने भएकाले सबैको भेट हुने उपयुक्त माध्यम बनेको छ । यो भेटमा साहित्यलाई अम्मल बनाउनेहरू प्राय: छुटदैनन् । ठूला कार्यक्रम नहुँदा भेट गर्नै मुस्किल पर्नेहरुलाई यो साप्ताहिक कार्यक्रमले नियमित भेट गराउन थालेको छ धनकुटामा कवि, लेखक तथा साहित्यकारहरु धेरै रहेका छन् । तर, उनीहरुको जमघट कम हुने भएकाले हरेक शुक्रबार चियासँग कविता कार्यक्रमको नियमित आयोजना गर्न थालिएको हो ।

धनकुटामा २०८१ माघको दोस्रो हप्तातिर श्रष्टाहरु मञ्जुल मितेरी, मुकुन्द प्रयास, केजी सुब्बा, रमेशचन्द्र अधिकारी, गोपाल बराइली, सन्तोष सुवेदी लगायतको टोलीले चिया भेटमा साहित्यकारबीच भेटघाट कसरी बढाउने भनेर छलफल गरे । त्यसै भेटमा चियासँग कविता कार्यक्रमको नाम जुराए । यसमा सबैले सहमति जनाए । कसले संयोजन गर्ने भनेर छलफल हुँदा धनकुटा एफएमका अध्यक्ष समेत रहेका गोपाल बराइलीले धनकुटा एफएमले संयोजन गर्ने भनेर फागुन २ गते शुक्रबारबाट हरेक शुक्रबार कार्यक्रम गर्ने भनेर कार्यक्रमको सुरु गरेका थिए ।

यो कार्यक्रममा कार्यक्रम प्रस्तोता तथा रेडियो धनकुटा एफएमका अध्यक्ष गोपाल बराइलीले कार्यक्रमको सञ्चालन गर्छन् । त्यसपछि पालैपालो सहभागी श्रष्टाहरुलाई आफूसँग भएको प्रतिभा अनुसार कविता, गजल, मुक्तक वा गित गाउने अवसर दिइन्छ । त्यसका लागि नेपाल पत्रकार महासंघ धनकुटाले हल उपलब्ध गराएको छ । गएको २०८१ फागुन २ गतेबाट सुरु भएको कार्यक्रम धनकुटा एफएमको संयोजनमै हुँदै आएको छ ।

हरेक शुक्रबार हुने चियासँग कविता कार्यक्रममा कविता लेख्न सिक्दै गरेका देखि कविता लेखनमा पाका बनेकाहरुले आफ्ना रचना सुनाइसकेका छन् । कार्यक्रमको हरेक शृङ्खलामा आएका श्रष्टा मध्ये एक जनाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । हरेक कार्यक्रम फरक व्यक्तिको अध्यक्षतामा हुने गरेको बराइली बताउँछन् ।

कार्यक्रममा धनकुटाका कवि, लेखक तथा साहित्यकारहरुले समाजका विविध आयाममाथि आफ्ना भावनालाई कवितामार्फत पोख्ने गरेका छन् । कवितामा कसैले आफूले भोगेका पीडा दर्शाउँछन भने, कसैले महिला पुरुषबीचको विभेद र महिला हिंसाविरुद्धका कविताले गुञ्जयमान बनाउँछन् । कतिपयले असमानता र विभेदविरुद्धका मात्रै होइन, देश तथा मातृत्व प्रेमले भरिएका कविता कलात्मक ढंगले प्रस्तुत गर्छन ।

कवितामा जात व्यवस्थाविरुद्वका भावना मात्रै होइन, १० वर्षे सशस्त्र युद्ध  र त्यसबाट प्रताडित भएकाहरुले जिउन गरेको संघर्षको बयान पनि सुन्न पाइन्छ । कविका कवितामा प्रेम, वियोग अनि संघर्ष र समाजको वास्तविक चित्रण पनि झल्कने गरेको छ । रचना बाचन हुँदा सहभागीहरु भावुकदेखि रोमाञ्चित हुन्छन् ।

यस्तो कार्यक्रम थोरै स्रोत – साधनबाटै गर्न सकिने हुँदा कार्यक्रमको आयोजना गर्न सहज नै रहेको आयोजकको भनाइ छ । कार्यक्रममा प्राय: सबैको उपस्थिति रहन्छ । कार्यक्रममा राम्रो जमघट हुने  हुँदा तथा रचनाका पारखीहरुलाई अहिले हप्तामा २ वटा शुक्रबार भइदिए हुन्थ्यो जस्तो लाग्न थालेको कवि भीम राईले बताए ।

उनले यस्ता किसिमका कार्यक्रम गरेर स्रष्टाको सिर्जनामाथि आलोचना र समालोचना गर्ने गरिएको बताए । त्यत्तिकै चिया खाएर गफिनुभन्दा केही रचनात्मक कार्य गरौं भनेर यस्तो कार्यक्रम आयोजना गरिएको स्रष्टा बताउँछन् ।

कवि रमेशचन्द्र अधिकारीले यस्तो कार्यक्रमले साहित्य क्षेत्रमा लागेकालाई भेटघाट गराउने र सम्बन्ध सुमधुर बनाउने बताए । उनले केही नयाँ कार्यक्रम गरौं भनेर यस्तो कार्यक्रमको थालनी गरेका बताए ।

कार्यक्रमले आगामी फागुन १ गते शुक्रबार ५० औँ शृङ्खलासहित पहिलो वार्षिकोत्सव मनाउने तयारी गरेको छ । वार्षिकोत्सवमा विभिन्न ४ विधामा पुरस्कार वितरणको तयारी गरिएको छ । चियासँग कविता कार्यक्रमका सञ्चालक बराइलीले पुरस्कार छनोट समिति गठन गरिएको र समितिको सिफारिस अनुसार पुरस्कार वितरण गर्ने जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा चियासँग कविता संग्रह विमोचनसँगै १५ हजार राशीको चियासँग कविता धनकुटा साहित्य पुरस्कार, ५ हजार राशीको चियासँग कविता युवा साहित्य पुरस्कार, ५ हजार राशीको चियासँग कविता नव प्रतिभा पुरस्कार र ५ हजार राशीको चियासँग कविता पत्रकारिता पुरस्कार वितरण गर्ने तयारी रहेको बराइली जानकारी दिए ।

चियासँग कविता संग्रहमा वर्षभरि भएको चियासँग कविता कार्यक्रममा बाचन भएका कविताहरु प्रकाशन गर्ने तयारी गरिएको छ । वार्षिकउत्सवको दिन चियासँग कविता कार्यक्रम सञ्चालनका क्रममा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?