२६ माघ, महोत्तरी । महोत्तरीको बर्दिवासस्थित नमुना मुसहर बस्तीका मुसहर समुदायले उम्लिरहेको तातो दूधले नुहाएर भुइँया पूजा मनाएका छन् । मुसहर समुदायले आफ्नो कुल देवता दीना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका हुन् ।
भुइँया बाबाको प्रतिकको रुपमा तीन बालक उम्लिएको दुधले नुहाएको नमुना मुसहर बस्तीका युवा अगुवा मञ्जय सदाले जानकारी दिए । मुसहर समुदायको कुलदेवता दीना–भद्रीकै अर्को नाम भुइँया महाराज रहेको उनले बताए । उनका अनुसार माघ महिनामा यो पूजा मनाइन्छ ।
भाकल पूरा भएपछि पान, मखान, लड्डु, खीर, रोटी, सुपारीलगायत चिजबिज चढाउनुका साथै बाँसको धाजामा तीर धनुषा बनाइ उक्त बाँसको बडो धुमधामका साथ पूजाआजा गर्ने चलन रहेको सदाले जनाए । कुल देवताको स्मरण गरेर तातो दूधले नुहाउँदा शरीर नपोल्ने अद्भुत शक्ति रहेको उनको भनाइ छ ।
मुसहर समुदायका बालकहरु उम्लिरहेको दुधमा नुहाउनु विज्ञानभन्दा पनि धर्म सँस्कृतिप्रतिको विश्वास रहेको बताउँछन् । पूर्वजहरुले परापूर्वकालदेखि गर्दै आएको यस्ता परम्परामा सनातनी शक्तिको प्रतिक मानिन्छन् ।
के हो भुइँया पूजा ?
भुइँया अर्थात् स्थानीय शब्दमा धर्तीलाई जनाउँछ । जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ । भुइँया पूजा प्रकृतिको पूजाका रूपमा पनि लिन सकिने भनाइ छ । छैटौँ शताब्दीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिएका दीना–भद्री दाजुभाइको पूजा गर्नु नै भुइँया पूजा हो ।
दीना–भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणको विरुद्धको महावीर योद्धाका रूपमा इतिहासमा वर्णन गरिएको भाषा तथा संस्कृति अभियन्ता फुलगेन मगही बताउँछन् । दीना–भद्रीलाई मुसहर समुदायले भुइँया महाराज भनेरसमेत सम्बोधन गर्दै आएका छन् । मुसहर कुलमा जन्मे पनि उनीहरूले सम्पूर्ण समाजको हितका लागि काम गरेको इतिहास रहेको अभियन्ता मगही बताउँछन् ।
प्रतिक्रिया 4