+
टी-२० विश्वकप २०२६ :

कप्तान रोहितले भने- विश्‍वकपको दबाब सम्हाल्न सक्षम छौं

२०८२ माघ  २७ गते १८:१७ २०८२ माघ २७ गते १८:१७

‘इंग्ल्यान्डसँगको खेलपछि हामीले क्रन्च सिचुएसनमा कसरी निर्णय लिने र दबाब सम्हाल्ने बारेमा सिकेका छौं । आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्नेछौं’ रोहितले भनेका छन् ।

कप्तान रोहितले भने- विश्‍वकपको दबाब सम्हाल्न सक्षम छौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा दबाब स्वाभाविक हुने र त्यसलाई सम्हाल्न सक्ने टोली नै सफल हुने बताउनुभयो।
  • रोहितले इंग्ल्यान्डसँगको खेलबाट निर्णय लिने क्षमता र दबाब सम्हाल्ने पक्षमा महत्वपूर्ण सिकाइ भएको उल्लेख गर्नुभयो।
  • रोहितले नेपालले मुम्बईस्थित वाङ्खडे स्टेडियममा सबै खेल खेल्नु फाइदाको विषय भएको र नियमित अन्तर्राष्ट्रिय शृंखला खेल्नुपर्ने बताउनुभयो।

२७ माघ, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा दबाब स्वाभाविक हुने बताउँदै त्यसलाई राम्रोसँग सम्हाल्न सक्ने टोली नै सफल हुने बताएका छन्।

टी-२० विश्वकपअन्तर्गत इटलीसँग बिहीबार हुने खेलअघि मंगलबार भएको प्रि–म्याच प्रेस कन्फेरेन्समा रोहितले नेपालले पर्याप्त खेलहरू खेलेकाले दबाब कसरी व्यवस्थापन गर्ने भन्ने अनुभव रहेको बताए। ‘विश्वकपमा खेल्दा दबाब अवश्य हुन्छ, दबाब जसले झेल्न सक्छ उही सफल हुन्छ’ कप्तान रोहितले भने, ‘हामीले धेरै दर्शकको अगाडि पछिल्लो समय धेरै खेलहरू खेल्दै आएका छौं र दबाब सम्हाल्न सक्षम छौं।’

इंग्ल्यान्डसँगको पछिल्लो खेलबाट विशेषगरी कठिन परिस्थितिमा निर्णय लिने क्षमता र दबाब सम्हाल्ने पक्षमा महत्वपूर्ण सिकाइ भएको उनको भनाइ थियो। ‘इंग्ल्यान्डसँगको खेलपछि हामीले क्रन्च सिचुएसनमा कसरी निर्णय लिने र दबाब सम्हाल्ने बारेमा सिकेका छौं । आगामी खेलमा त्यहीअनुसार प्लान गर्नेछौं’ रोहितले भने, ‘टोलीको आत्मविश्वास पनि राम्रो रहेको छ, आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्नेछौं।’

रोहितले वेस्ट इन्डिज र स्कटल्यान्डजस्ता टोलीहरूसँग खेल्दा दबाब झेल्नु र योजनाहरू सही ढंगले कार्यान्वयन गर्नु एकदमै महत्त्वपूर्ण हुने बताए ।

कप्तान रोहितले इटलीलाई पनि राम्रो टोली रहेको बताउँदै हल्का रूपमा नलिने समेत बताए । ‘विश्वकप खेल्ने हरेक टिम राम्रो नै हुन्छ । पछिल्लो समय इटलीले पनि राम्रो प्रदर्शन गरिरहेको छ । त्यसकारण हल्का रूपमा लिने छैनौं’ उनले भने, ‘हामीले विश्वकपको उत्कृष्ट टोलीमध्ये एकसँग खेलिसकेका छौं, त्यसले इटाली विरुद्धको खेलका लागि मनोबल बढाएको छ।’

 इटली पहिलो खेलमा पराजित भएर वाङ्खडेमा खेल्न आउँदै छ । नेपालले भने समूह चरणका सबै खेल मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ । यहाँ सबै खेल खेल्न पाउनु फाइदाको विषय भएको रोहितले बताए । ‘वाङ्खेडे मैदानको विकेट नेपाली टोलीका लागि सुहाँउदो छ, यहाँ सबै खेल खेल्नु नेपालका लागि प्लस प्वाइन्ट हो’ रोहितले भने ।

रोहितले एक्सपोजर कमी भएकोबारे गुनासो गर्दै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय शृंखला खेल्न पाउँदा राम्रो हुने बताए । ‘गत संस्करणको टी-२० विश्वकपपछि टेस्ट राष्ट्र (वेस्ट इन्डिज) सँग एउटा मात्र सिरिज भयो, हामीले जस्तो एक्सपोजर र अनुभवको अपेक्षा गरेका थियौं त्यो पाउन सकेनौं’ रोहितले भने, ‘वर्षमा ६-७ वटा नभएपनि २-३ वटा शृंखला नियमित भयो भने हामीलाई धेरै मद्दत पुग्नेछ, नियमित रूपमा अन्तर्राष्ट्रिय शृंखला खेल्ने अवसर पाए नेपाली खेलाडीहरूको क्षमता अझ परीक्षण हुन्छ र विकासमा पनि सहयोग पुग्छ।’

नेपालको प्रि म्याच कन्फेरेन्सपछि आएका वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले पनि टेस्ट राष्ट्रसँग एसोसियट राष्ट्रले शृंखला खेल्दा धेरै एक्सपोजर पाउने कुरा उल्लेख गरेका थिए ।

इंग्ल्यान्डसँग गरेको प्रदर्शनपछि नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा दिलाएको भन्दै रोहितले अस्ट्रेलिया र भारतजस्ता विश्वका उत्कृष्ट टिमलाई नेपालमा स्वागत रहेको बताए ।

‘अस्ट्रेलिया, इंग्ल्यान्डजस्ता टिम नेपालस्थित कीर्तिपुर मैदानमा आएर खेल्नु भनेको हाम्रो लागि पनि धेरै ठुलो कुरा हुनेछ, यहाँको दर्शकबाट पनि साथ पाउनेछन्, नेपालमा न्यानो स्वागत हुनेछ’ रोहितले भने, ‘यदि ठूला टोलीहरू नेपाल आए भने हाम्रो क्रिकेट अझै फस्टाउनेछ र यसले क्रिकेटको विकासमा पनि मद्दत पुग्नेछ।’

रोहितले नेपाल प्रिमियर लिग (एनपीएल) बाट पनि खेलाडीलाई राम्रो एक्सपोजर मिलेको उल्लेख गरे। ‘एनपीएलकै कारण स्थानीय खेलाडीहरूले पनि विश्वका उत्कृष्ट खेलाडीसँग खेल्ने र ड्रेसिङ रुम शेयर गर्ने अवसर पाएका छन्’ रोहितले भने ।

विश्वकपको प्रदर्शनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि केही खेलाडीले मौका पाउन सक्ने रोहितले विश्वास गरेका छन् । ‘ट्यालेन्ट अनुसार कुरा गर्दा नेपाली टोलीमा राम्रा खेलाडीहरू छन् । तीमध्ये केही आईपीएलमा छनोट पनि हुन सक्छन्’ रोहितले भने ।

इंग्ल्यान्डसँगको खेलपछि नेपाली पेस बलर नन्दन यादवले नेपाली समर्थकहरूसँग माफी मागेको विषयमा सोधिएको प्रश्नमा रोहितले उनी भावनात्मक भएर त्यसो गरेको हुनसक्ने रोहितले बताए ।

टी-२० विश्वकप २०२६ रोहित पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय