+
+
Shares

रोल्पामा प्रत्यक्षतर्फ उम्मेदवार बन्न महिला बन्चित

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८२ फागुन ३ गते ९:५८

३ फागुन,  रोल्पा । यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् ।

अन्तिम नामावली सार्वजनिक भई चुनाव चिह्न पाएसँगै दलका उम्मेदवार मतदाता भेटघाट र चुनावी अभियानमा जुटेका हुन् ।

एक निर्वाचन क्षेत्र रहेको रोल्पमा महिला उम्मेदवारको संख्या शून्य छ । जिल्लामा विभिन्न दलका १० र र २ स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका थिए । पछि २ जना स्वतन्त्र उम्मेदवारले नामावली फिर्ता लिएका थिए । अन्तिम नामावलीमा १० दल १० जना पुरुष मात्रै चुनावी मैदानमा छन् ।

प्रत्यक्ष निर्वाचनतर्फ महिला उम्मेदवार शून्य हुँदा संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रको मर्मलाई दलहरूले बेवास्ता गरेको सरोकारवालाहरूको गुनासो छ ।

रोल्पामा महिला मतदाता पुरुषभन्दा बढी छन् । मतदाताको संख्या एक लाख ४९ हजार ५९७ जना रहेको छ । जसमा महिला मतदाता ७४ हजार ९०७ र पुरुष मतदाता ७४ हजार ६९० छन् । पुरुषभन्दा महिला मतदाता २१७ जनाले बढी भए पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार भने एक जना पनि छैनन् ।

संघीयता पछिको २०७४ र २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार मैदानमा नउत्रिएको अवस्था छ । यसपटक पनि रोल्पामा ठूला र साना दल सबै चुक्न पुगेका छन् ।

यसपटक रोल्पामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिकी पुष्पा श्रेष्ठ,नेपाली कम्युनिष्ट पार्टीकि पूर्वलडाकु एवम् शहीद परिवार गीता घटराज र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले रोल्पा जिल्ला इन्चार्ज सम्झना घर्ती (असिना) तिनै जना समानुपातिक सूचीमा छन्  ।

त्यस्तै नेकपा एमालेले पूर्व केन्द्रिय सदस्य नवीन रोका मगर र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गाउँपालिका संयोजक श्याम बहादुर विकलाई समानुपातिक सूचीमा राखेको छ । तर, अन्य दलहरूले रोल्पाबाट समानुपातिकतर्फ पनि महिलालाई प्राथमिकतामा राखेको खासै देखिँदैन ।

संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरे पनि प्रत्यक्ष निर्वाचनमा भने ‘जित्ने उम्मेदवार’ को बहानामा महिलामाथि अविश्वास देखिँदै आएको छ ।

१० उम्मेदवारमध्ये महिला एक जना पनि नहुनुले दलहरूभित्र समावेशिताप्रतिको गम्भीरता कमजोर रहेको संकेत गर्ने सरोकारवाला बताउँछन् ।

देशको परिवर्तनका लागि भनेर १० बर्से जनयुद्धको उद्गम थलो मानिने रोल्पामा महिलाविहीन निर्वाचनले समावेशीताको सवालमा ठूलो प्रश्नचिह्न खडा गरेको छ ।

नेकपा एमालेकी नेतृ ईश्वरी जिएमले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार नहुनु गम्भीर चिन्ताको विषय भएको स्वीकारिन् । अहिले सबै दलले महिलाले चुनाव जित्न सक्दैन भन्ने भावना सबै दलमा भएको बताइन् ।

रोल्पा जस्तो ठाउँमा शसस्त्र संघर्षमा महिलाहरुले अग्रपंक्ति रुपमा भूमिका खेलेको र अहिले आएर राजनीतिक दल भित्रको समानुपातिकमा न्यून महिला उम्मेदवार हुने गरेको टिप्पणी उनको छ ।

अब चाहिँ सबै राजनीतिक दलले समिक्षा, छलफल र कमजोरी भएकोमा सुधार गर्नुपर्ने अवस्था तर्क उनको छ ।

नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश इन्चार्ज जयपुरी घर्तीले प्रत्यक्ष उम्मेदवार महिलालाई नबनाएको विषय रोल्पाको मात्र नभएर देशै समस्या भएको बताइन् ।

पार्टीको निर्देशन मान्नै पर्ने भएकोले रोल्पामा वर्षमान पुनलाई पार्टीले टिकट दिएको बताइन् । ‘मैले पनि टिकट वितरणको छलफलमा रोल्पाबाट प्रत्यक्ष उम्मेदवार टिकटको दाबी गरेको थिए,तर पार्टीले मलाई टिकट दिएन,पार्टीको निर्देशन मान्नुपर्‍यो’, उनले भनिन् ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?