+
+
Shares

व्यवसाय–स्टार्टअपमा युवालाई जोड्ने प्रतिनिधि खोज्दैछन् नयाँ मतदाता

नयाँ भर्सेस पुरानाभन्दा पनि नयाँ सोच र अनुभव दुवै आवश्यक ठान्छन् युवाहरू ।

दिनेश गौतम पूर्णिमा कार्की दिनेश गौतम, पूर्णिमा कार्की
२०८२ फागुन ११ गते १३:३४

मेरो पहिलो भोट शृङ्खला–७

देशमै स्वउद्यम गर्ने वातावरण छैन । नीतिगत प्रष्टता नहुँदा लगानी डुब्ने हो कि भन्ने अन्योल छ । स्वउद्यमी बन्न चाहने नयाँ पुस्ता वातावरण बनाइदिने नेतृत्वको अभाव महसुस गरिरहेका छन् । उनीहरूले स्वउद्यमीका लागि सहजीकरण गरिदिने प्रतिनिधि खोजिरहेका छन् ।

स्टार्टअपमा जोड्ने व्यक्तिलाई चुन्ने

मतदानको दिन नजिकिँदै गर्दा नयाँ पुस्तामा ‘एक्साइटेड’ पनि थपिँदो छ । चिया घरमा चिया मात्र पिउँदै छैनन् उनीहरू, कस्तो उम्मेदवारलाई भोट दिने भनेर राजनीतिक विश्लेषण पनि गर्छन् । साथै, स्टार्टअपमा जोड्ने व्यक्तिलाई चुन्ने मनस्थितिमा युवा देखिए ।

हामी बुद्धनगरस्थित ‘मिठो चिया’ मा पुग्दा युवाहरू चियाको चुस्कीसँगै विमर्शमा मग्न थिए । त्यही चिया घरमा थिए, कपिलवस्तु क्षेत्र नम्बर १ का रविनन बेलबासे । उनी यसपटक जेनजीको माहोल देख्छन् ।

‘पहिलो पटक भोट हाल्दैछु, निकै एक्साइटेड छु,’ उनले भने, ‘अहिलेको माहोल नै जेनजीको हो । उम्मेदवारहरू पनि धेरैजसो जेनजी हुनुहुन्छ। त्यसैले उत्साहित छौं र उहाँहरूको एजेन्डा हेरिरहेका छौं।’

सर्लाही क्षेत्र नम्बर १ का अशेष दाहाल पनि पहिलो पटक मतदान गर्न घर जाने तयारीमा रहेको सुनाउँछन् । ‘माहोल अहिले गरम छ । हामीले सही ठाउँमा भोट हाल्यौं भने राम्रो नेता उत्पादन हुन्छ,’ उनले भने ।

भ्रष्टाचारविरुद्ध बोल्ने प्रतिनिधि

उनीहरूले प्रतिनिधि पुरानाभन्दा अलि फरक खोजेका छन् । ‘पुरानै सोच र शैली आयो भने आन्दोलन किन गर्‍यौं ?  शिक्षा र स्वास्थ्य क्षेत्रमा आधुनिकीकरण गर्नुपर्छ । युवाहरू विदेशिन बाध्य भइरहेका छन् । त्यसैले फरक सोच, फरक भिजन भएको प्रतिनिधि खोजिरहेका छौं,’ उनीहरूले भने ।

उनीहरूले युवालाई प्रेरित गर्ने प्रतिनिधि चाहेका छन् । ‘व्यवसाय र स्टार्टअपमा युवालाई प्रोत्साहन गर्नुपर्छ । नेपालमा उत्पादन क्षेत्र कमजोर छ । हामी आयातमा निर्भर छौं । त्यसलाई बदल्न नयाँ ढंगले उद्योग, कलकारखाना खोल्ने, उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनीहरूले साझा धारणा सुनाए ।

चुनाव जिताएपछि पनि प्रतिनिधिलाई बारम्बार प्रश्न गरिरहनुपर्ने युवा मतदाताको बुझाइ ।

कञ्चनपुरका भीम जोशी आफ्नो एक भोटले पनि परिवर्तन हुनेमा आशावादी देखिए । ‘पहिलो पटक भोट दिन पाउँदा खुसी लागेको छ । हाम्रो एक भोटले पनि परिवर्तन आउँछ भन्ने आशा छ,’ उनले भने । सुनसरीकी रिया गिरी,  झापाकी मोनिका भण्डारी र मलिका तामाङ पनि भोट दिन उत्साहित छन् ।

रुकुम पश्चिमका बलबहादुर नकालले पनि पहिलो पटक मतदान गर्न लागेकोमा उत्साहसँगै जिम्मेवारीको रूपमा लिएका छन् । ‘विगतका चुनावभन्दा यसपालि अलि बढी उत्साह लागेको छ,’ उनले भने ।

बैतडीका सुमनबहादुर महरा नयाँ नेपाल बनाउने सपनासँग यस पटकको मत जोडिएको बताउँछन् । ‘प्रतिनिधिसभा निर्वाचन अरू नियमित चुनावभन्दा फरक छ । आन्दोलन, संघर्ष र नयाँ नेपालको सपनासँग जोडिएको यो चुनावमा पहिलो पटक भोट दिन पाउँदा अत्यन्तै उत्साहित छु,’ उनले भने ।

नयाँ सोच र अनुभव

जनताको भावना बुझ्ने र जनताकै पक्षमा काम गर्ने प्रतिनिधि उनीहरूले चाहेका छन् । ‘शैक्षिक र व्यावसायिक दुवै क्षमता हुनुपर्छ । भ्रष्टाचारविरुद्ध बोल्ने, देशलाई माया गर्ने, भिजनरी र विकासप्रति प्रतिबद्ध नेता चाहिन्छ,’ उनीहरूले भने ।

नयाँ भर्सेस पुरानाभन्दा पनि नयाँ सोच र अनुभव दुवै आवश्यक ठान्छन् युवाहरू । ‘पुरानो र नयाँबीचको द्वन्द्व मात्र होइन, पुरानामध्ये राम्रा काम गर्नेहरूलाई पनि समर्थन गर्नुपर्छ । अनुभवको पनि मूल्य हुन्छ । तर नयाँ ऊर्जा र नयाँ सोच पनि चाहिन्छ,’ उनीहरूले भने ।

सामाजिक सञ्जालमा आएका विचारबाट प्रभावित नभई मत दिने पक्षमा उनीहरू छन् । ‘सोसल मिडिया नराम्रो होइन तर यसलाई कसरी प्रयोग गरिन्छ भन्ने महत्त्वपूर्ण हो । यसले जनताको दृष्टिकोण बदल्न मद्दत गर्छ । जानकारी पनि दिन्छ । गलत प्रयोगले भने म्यानिपुलेसन हुनसक्छ । त्यसैले सामाजिक सञ्जालमा बोल्दा विवेक पुर्‍याउनुपर्छ,’ उनीहरूले भने ।

आधारभूत आवश्यकता

विकासको मुख्य आधार आधारभूत आवश्यकता भएको उनीहरू ठान्छन् । ‘मुख्य कुरा शिक्षा हो । त्यसपछि स्वास्थ्य, यातायात, खानेपानी जस्ता आधारभूत पूर्वाधार आउँछन् । अहिलेको शिक्षा प्रणाली रोजगारमुखी छैन । बेरोजगार उत्पादन गरिरहेको छ । यसलाई सुधार्न जरुरी छ,’ उनीहरूले भने ।

शहर केन्द्रित विकासलाई गाउँमा विस्तार गर्नुपर्ने जोड उनीहरूको छ । ‘सेवा-सुविधा गाउँमै पुर्‍याउन सके आयात घट्छ । कृषि र उत्पादन बढ्छ । रोजगारी सिर्जना हुन्छ,’ उनीहरूले भने ।

चुनाव जिताएपछि पनि प्रतिनिधिलाई बारम्बार प्रश्न गरिरहनुपर्ने युवा मतदाताको बुझाइ ।

‘जिताएर पठाएपछि पनि प्रतिनिधिलाई बेला–बेला झक्झकाउनुपर्छ। उसले गरेको कामको मूल्यांकन गर्नुपर्छ । काम नगरेमा सिस्टमअनुसार प्रश्न उठाउनुपर्छ । यसरी मात्र विकास चाँडो हुन्छ,’ पहिलो पटक मतदान गर्न गइरहेका युवाहरूले निचोड निकाले ।

तस्वीर-भिडियो : शंकर गिरी/कमल प्रसाईं अनलाइनखबर

मेरो पहिलो भोट शृङ्खला-१

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला-२

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-३

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट 

मेरो पहिलो भोट शृङ्खला-४

भोट दिन्छौँ, काम देऊ

मेरो पहिलो भोट शृङ्खला-५

जसको एजेन्डा प्रविधि, उही हो हाम्रो प्रतिनिधि

मेरो पहिलो भोट शृङ्खला-६

वाद धेरै सुनियो, अब अपवाद चाहियो

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

पूर्णिमा कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?