११ फागुन, प्युठान । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा प्युठानमा चुनावी सरगर्मी बढेको छ। २१ फागुनको निर्वाचनलाई लक्षित गर्दै प्युठानमा नेपाली कम्युनिस्टी पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवारले आ-आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेकपाले ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ नारासहित १५ शीर्षकमा आधारित प्रतिबद्धतापत्र सार्वजनिक गरेको जनाएको छ। उसले दस्तावेजलाई प्युठानको दिगो विकासको आधारका रूपमा अघि बढाइने जनाएको छ।
नेकपाको प्रतिबद्धतापत्रमा सडक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, वन तथा जडीबुटी, पर्यटन, खानेपानी र सिँचाइ, शहरी विकास, ऊर्जा, उद्योग, सञ्चार, युवा तथा रोजगारी, भू–संरक्षण, सामाजिक न्याय र सुशासनसम्मका विषय समेटिएका छन्।
प्युठानमा नेकपाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वअर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई उम्मेदवार बनाएको छ ।
यता, रास्वपाले १४ बुँदे ‘सुशान्त प्युठान’ नामक वाचापत्र सार्वजनिक गरेको छ। बिजुवार–जुम्रीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक वाचापत्रमा स्थानीय विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।
वाचापत्रमा खानेपानी सेवाको सुनिश्चितता, प्युठान अस्पतालको स्तरोन्नति, प्राविधिक उच्च शिक्षाको विस्तार, स्वरोजगार प्रवर्द्धन, कृषि क्लस्टरमा आधारित एकीकृत खेती प्रणाली, सिँचाइ पूर्वाधार विकास, जडीबुटी तथा नगदे बाली प्रवर्द्धन र लघु उद्योग विस्तारका योजना समेटिएका छन्।
रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशान्त वैदिक छन्। पार्टीले वैज्ञानिक भू–सुधार, व्यवस्थित बसोबास र ‘लुम्बिनी धार्मिक–पर्यटकीय त्रिकोण’ अवधारणामार्फत प्राकृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन गर्दै प्युठानलाई अवसरयुक्त जिल्लाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
यसैबीच, नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट प्यूठानकी एक्ली महिला उम्मेदवार सीता बिक सम्झनाले पनि समृद्ध प्युठानको योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन् ।
यस पटक प्युठानमा १४ दल चुनावी प्रतिस्पर्धामा छन्। सबै दलका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन्।
प्रतिक्रिया 4