+

साउथ अस्ट्रेलियाबाट खेल्ने पहिलो नेपाली, अब अस्ट्रेलिया मास्टर्सबाट खेल्दै

२०८२ फागुन  १७ गते १८:०३ २०८२ फागुन १७ गते १८:०३

नेपालको उमेर समूहबाट सुरु भएको दीपकको क्रिकेट यात्रा क्रिकेटको पावरहाउस मानिने अस्ट्रेलियाको भूमिसम्म पुगेको छ ।

साउथ अस्ट्रेलियाबाट खेल्ने पहिलो नेपाली, अब अस्ट्रेलिया मास्टर्सबाट खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपक क्षेत्रीले अस्ट्रेलियाको मास्टर्स 'ओभर ४०' टोलीमा छनोट भएर नेपाली क्रिकेटमा नयाँ इतिहास रचेका छन्।
  • दीपकले साउथ अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै राष्ट्रिय ४० वर्षमाथिको प्रतियोगिता खेलेका पहिलो नेपाली बनेका छन्।
  • दीपकले काठमाडौं गोर्खाजको म्यानेजर भएर नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा उत्साह व्यक्त गरेका छन्।

१७ फागुन, काठमाडौं । नेपाली क्रिकेट जगतमा कमै सुनिएको एउटा यस्तो नाम, जसले नेपालको माटोबाट सुरु गरेको आफ्नो यात्रालाई अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट मैदानसम्म पुर्‍याउन सफल भएका छन्- उनी हुन् दीपक क्षेत्री।

दाँयाहाते बलिङ अलराउन्डर दीपकले हालै अस्ट्रेलिया मास्टर्स ‘ओभर ४०’ (४० वर्षमाथिको) टोलीमा छनोट भएर उनले नेपाली र अस्ट्रेलियन क्रिकेटको सम्बन्धमा समेत एउटा नयाँ इतिहास रचेका छन् ।

नेपालको उमेर समूहबाट सुरु भएको दीपकको क्रिकेट यात्रा क्रिकेटको पावरहाउस मानिने अस्ट्रेलियाको भूमिसम्म पुगेको छ ।

अन्तरकलेज क्रिकेट प्रतियोगितामा पनि खेल्ने गरेका दीपक नेपालको यू-१५ को २२ सदस्यीय क्याम्पमा छनोट भएका थिए । उनले पछि यू-१७, यू-१९ र राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत आफ्नो प्रतिभा प्रदर्शन गरे।

नेपालमा रहँदा उनले देखाएको लगावले नै उनलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न बलियो आधार दियो। सन् २००८ मा अध्ययनका क्रममा अस्ट्रेलिया पुगेका दीपकलाई क्रिकेटमा पनि त्यति नै लगाव थियो, जति लगाव उनलाई वैदेशिक अध्ययनमा थियो ।

मातृभूमिमा आफ्नो क्रिकेट सपना पूरा गर्न नजुरे पनि उनले कर्मभूमिमा गएर सपना साकार पार्ने अवसर पाए । साउथ अस्ट्रेलियाको एडिलेड बसाइँ सरेपछि दीपकको खेल जीवनले नयाँ मोड लियो। उनले ‘साउथ अस्ट्रेलियन क्रिकेट एशोसिएसन’ (साका) अन्तर्गत एडिलेड युनिभर्सिटी क्रिकेट क्लबबाट ‘प्रिमियर क्रिकेट’ खेल्न सुरु गरे।

यस क्रममा उनले इंग्ल्यान्डका चर्चित खेलाडीहरू फिल साल्ट र बेन फोक्सजस्ता विभिन्न अन्तर्राष्ट्रिय स्टारसँगै मैदान साझा गर्ने अवसर पाए। सोही समयमा उनले भारतका स्टार क्रिकेटर एमएस धोनी, विराट कोहली, सुरेश रैनालगायतका खेलाडीसँगै अभ्यास समेत गर्ने अवसर पाए ।

यस्तै हाल नेपाली क्रिकेट टोलीका प्रशिक्षक रहेका स्टुअर्ट लका छोरा म्याक्स लसँग एउटै टिमबाट खेलेका दीपकले उक्त टोलीको कप्तानी समेत गरेका थिए ।

दीपकको नेतृत्व क्षमता पनि उत्तिकै लोभलाग्दो रह्यो । उनले ८ वर्षसम्म एडिलेड युनिभर्सिटी क्रिकेट क्लबको दोस्रो श्रेणीको टिमको कप्तानी गरेका थिए । उनकै कप्तानीमा क्लबले प्रिमियरसिप पनि जित्यो। उनी सन् २०२२-२३ सिजनका उत्कृष्ट कप्तान समेत घोषित भएका थिए ।

अस्ट्रेलियाको प्रिमियर क्लबको कप्तानी गर्ने र च्याम्पियनसिप जित्ने उनी पहिलो र एक मात्र नेपाली हुन्।

साउथ अस्ट्रेलियन टिमदेखि अस्ट्रेलियन टिमसम्म

उनको खेल जीवनको सबैभन्दा ठुलो सफलता सन् २०२६ को सुरुवातमा आयो। उनले साउथ अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै अस्ट्रेलियन राष्ट्रिय (४० वर्षमाथिको) प्रतियोगिता खेले। योसँगै उनी साउथ अस्ट्रेलियाबाट क्रिकेट खेल्ने पहिलो नेपाली बने।

उच्च शिक्षा हासिल गर्नका लागि अस्ट्रेलिया पुगेका दीपक क्रिकेटमा पनि सक्रिय हुँदै गर्दा यो मौका पाउनु सानो कुरा अवश्य थिएन । ‘पढाइ पूरा गर्नका लागि अस्ट्रेलिया आएको थिएँ, क्रिकेट पनि छाड्न मन कहिल्यै लागेन । यहाँ क्रिकेटमा अवसर पाउन गाह्रो छ, त्यसमाथि पनि बाहिरको मान्छेलाई अझ कठिन छ’ दीपकले अनलाइनखबरसँग भने, ‘मैले लोकल टिमहरूबाट खेल्दै स्टेट टिमबाटै खेल्ने मौका पाएँ । यो धेरै राम्रो अवसर हो।’

दीपकले आफ्नो करियरमा अर्को एउटा ठुलो फड्को मारे, जब उनी अस्ट्रेलिया मास्टर्सअन्तर्गत ४० वर्षमाथिको राष्ट्रिय टोलीका लागि पहिलोपटक छानिए । यो कल्पनाबाहिरको कुरा भएको बताउँदै उनले अविस्मरणीय पलका रूपमा लिएका छन्।

‘जब मलाई सेलेक्टरबाट फोन आयो, विश्वास नै लागेको थिएन, धेरै खुसी थिएँ । अस्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि अहोभाग्य हो। यो क्याप लगाउनु अस्ट्रेलियामा क्रिकेट खेल्ने हरेक खेलाडीको सपना हुन्छ र अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने यो अवसर पाउँदा म कृतज्ञताले भरिएको छु’ उनले भने ।

दीपक सम्मिलित ओभर ४० टिमले यूएईको दुबईमा हुने भारत, अस्ट्रेलिया र युएईबीचको त्रिदेशीय शृंखला खेल्नेछ ।

जन्मभूमिसँग नटुटेको नाता

अस्ट्रेलियामा जमे पनि दीपकले नेपाली क्रिकेटलाई कहिल्यै बिर्सिएनन्। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै नेपालको राष्ट्रिय खेलकुदमा सहभागिता जनाए।

यस्तै उनी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाडौं गोर्खाजको टिम म्यानेजरका रूपमा समेत काम गरे । म्यानेजरका रूपमा काम गर्दै गर्दा नेपाली क्रिकेटको बदलिँदो स्वरूपलाई नजिकबाट नियाल्न पाएको उनको भनाइ छ ।

‘काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको रात्रिकालीन खेलको साक्षी बन्न पाउनु मेरो लागि सधैं स्मरणीय रहनेछ’ दीपक भन्छन्, ‘जुन मैदानमा मैले आफ्नो जुनियर क्रिकेट खेलेँ, त्यहाँ आज प्यारापिट र लाइटसहितको डे-नाइट खेल देख्नु मेरा लागि सपना जस्तै क्षण थियो।’ काठमान्डु गोर्खाज यसपटकको एनपीएलमा प्लेअफसम्म पुगेको थियो ।

अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमन र पछिल्लो टी-२० विश्वकपमा नेपालको प्रदर्शनले आफूलाई निकै उत्साहित बनाएको दीपकको भनाइ छ। ‘नेपालमा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता र एनपीएलको एक्सपोजरले गर्दा नेपाली क्रिकेटको भविष्य निकै उज्ज्वल देखेको छु’ उनी थप्छन्।

दीपक न्युजिल्यान्डमा हुने नेपाली सामुदायिक क्रिकेटमा पनि उत्तिकै सक्रिय छन्। क्रिकेट अस्ट्रेलियाबाट लेभल-२ प्रमाणित प्रशिक्षक रहेका दीपकले हाल एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन र प्रिमियर क्रिकेट टोलीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।

अस्ट्रेलिया क्रिकेट दीपक क्षेत्री

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय