+
+
Shares
इपिसेन्टर झापा-५ :

मतदाता भन्छन्- भोट हाल्यौं, जो जिते पनि झापाकै प्रधानमन्त्री

‘युवाहरू परिवर्तनको पक्षमा  हुनुहुन्छ । भोट हाल्ने सौभाग्य पायौं ।  सांसद मात्र होइन, प्रधानमन्त्री पनि चुन्ने अवसर पायौं,’ २८ वर्षीय सन्देश मोतेले भने, ‘मत दियौं, जसले जिते पनि झापाकै प्रधानमन्त्री हो ।’

दिनेश गौतम प्रसुन संग्रौला आर्यन धिमाल दिनेश गौतम, प्रसुन संग्रौला, आर्यन धिमाल
२०८२ फागुन २१ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा क्षेत्र नम्बर ५ मा २४ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ र मतदाता प्रधानमन्त्री झापाबाट आउने अपेक्षामा छन्।
  • मतदाता नागरिकताको प्रमाणपत्र, जग्गाधनी लालपुर्जा, सुकुम्बासी समस्या, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुधार माग गरेका छन्।
  • मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा जारी छ र यस क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता छन्।

२१ फागुन, झापा (दमक) । मतदान गरेर फर्किंदै गरेका झापा क्षेत्र नम्बर १ का मतदाता भन्दै थिए, ‘जसले जिते पनि प्रधानमन्त्री झापाले पाउने हो क्यारे ।’

झापा(५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह लक्षित टिप्पणी हो । दुवै जना भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी प्रतिस्पर्धामा छन् ।

‘युवाहरू परिवर्तनको पक्षमा  हुनुहुन्छ । भोट हाल्ने सौभाग्य पायौं ।  सांसद मात्र होइन, प्रधानमन्त्री पनि चुन्ने अवसर पायौं,’ २८ वर्षीय सन्देश मोतेले भने, ‘मत दियौं, अब जसले जिते पनि झापाकै प्रधानमन्त्री हो ।’ एक मतको पनि महत्त्व रहेको भन्दै उनी काठमाडौंबाट झापा आएका हुन् ।

८६ वर्षीया सोननाथ गिरी पनि झापाले नै प्रधानमन्त्री बनाउने गरी मत दिएको बताउँछन् । ‘जनताको सरकार बन्नु पर्‍यो । दु:ख-सुखमा साथ दिनु पर्‍यो । सरकारी काम गर्न जाँदा सजिलो हुनु पर्‍यो,’ उनले भने ।

६२ वर्षीया सुलोचना अग्रवाल ९६ वर्षीय बुबा र ९२ वर्षीय आमालाई लिएर मतदान गर्न आएकी थिइन् । झापालाई प्रधानमन्त्री बनाउने गरी मत दिएको बताइन् ।

‘जनतालाई राम्रो होस् । जित्नेलाई पनि राम्रो होस् । एक मुठी खान पुगोस् । जसले जिते पनि देश बनाउनु पर्‍यो,’ मतदाताहरूले भने ।

कृष्णमोहन साह (३०) भोट हाल्नकै लागि नर्वेबाट आएका रहेछन् । ४ वर्षअघि अध्ययनका लागि गएका उनी १ हप्ताअघि नेपाल आएका हुन् ।

‘म बाहिर बस्छु । भोट दिन मात्र आएको हुँ । राजनीतिक स्थिरता होस् भनेर भोट दिएको छु,’ उनले भने, ‘एकै पटक सुधार त हुँदैन तर नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा छ ।’ देशमै रोजगारी भए नर्वेबाट फर्किने आशा उनको छ ।

सुहागिता ताजपुरिया (७०) मत दिएको उम्मेदवारले गाउँ-ठाउँको विकास गर्नुपर्ने बताउँछिन् । ‘खानेपानीको समस्या समाधान हुनुपर्‍यो । गाउँलाई हेर्न पर्‍यो,’ उनले भने ।

उमेश खड्का (१९) ले पहिलो पटक भोट हाले । मत दिएको उम्मेदवारले जेनजीको माग सम्बोधन गर्नुपर्ने तर्क गरे । ‘पहिलो पटक मत दिएको छु । आशा छ, जेनजीले फेरि  विद्रोह गर्नु नपरोस्,’ उनले भने, ‘सामाजिक सञ्जाल बन्द नहोस् । सुशासन होस् । देश छोडेर जान नपरोस् ।’

यस पटकको चुनावले परिवर्तनको लहर ल्याउने आशा मतदाताको छ । ‘अब देशमा नयाँ युगको सुरुवात होस,’ ७० वर्षीय मोहनबहादुर पौडेलले भने।

पहिलो पटक मतदान गरेकी लक्ष्मी साह (१८) ले जेनजी आन्दोलनपछि मतदाता नामावलीमा नाम लेखाएकी थिइन् । ‘अब जेनजी आन्दोलनको मर्मअनुसार काम हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

सदीक्षा राई (१८) र रोदा राई (२२) ले देशमै केही गर्न पाइयोस् भनेर मत दिएका छन् । ‘देशमै काम गर्न पाइयोस् । विदेश जाने अवस्था नबनोस,’ उनीहरूले भने ।

हामीले कमल गाउँपालिका-६ वाणी माध्यमिक विद्यालय गोहाबारी, दमक नगरपालिका-७ श्री पृथ्वी माध्यमिक विद्यालय, दमक-९ को सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रका मतदातासँग कुरा गरेका थियौं ।

कुराकानीका क्रममा कतिपय मतदाताले नागरिकताको प्रमाणपत्र र जग्गाधनी लालपुर्जा पाउनुपर्ने मागसमेत गरे । उनीहरूले सुकुम्बासी समस्या, गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रबन्ध गर्न पनि माग गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान अधिकृत विदुर कार्कीका अनुसार शान्तिपूर्ण मतदान भइरहेको छ ।

यो क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता  ८२ हजार २९६ र अन्य २ जना मतदाता छन् ।

मतदान अधिकृत कार्कीका अनुसार मतदान केन्द्र १८५ र स्थल ६१ वटा रहेका छन् । क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको १,२,३,४,५,६,७ नम्बर वडा पर्छ । जहाँ ४० हजार ७८६ मतदाता छन् । त्यसैगरी, गौरादह नगरपालिकाको  वडा नम्बर १,२,३,४,५,६,७,८ यो क्षेत्रमा पर्छ । जहाँ ४१ हजार ४७५ जना मतदाता छन् ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३,४,५,६ पर्छ । जहाँ १५ हजार १२१ मतदाता छन् । त्यसैगरी, दमक नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९,१० पर्छ । जहाँ ६५ हजार ९९७ मतदाता छन् ।

ओली र बालेनसँगै यो क्षेत्रमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट मन्धरा चिमरिया प्रतिस्पर्धामा छिन् भने नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ उम्मेदवार छन् ।

त्यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला, मंगोल नेसनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पङ राई उम्मेदवार छन् ।

जनमत पार्टीका अमृतलाल महतो, जनता समाजवादी पार्टी, नेपालका धिरेन सुब्बा, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टी  सविन राई, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइली धर्मराज गुरागाईं पनि प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा ९ जना स्वतन्त्र उम्मेदवार छन् । डम्बर शाहु, खेमनाथ शिवाकोटी, मातृका भट्टराई, रञ्जना गौतम, शोभा भण्डारी, प्रकाश नेपाल, अर्जुन सापकोटा विपुल गुरागाईं र पुष्कर खतिवडा प्रतिस्पर्धामा छन् ।

        

 

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?