२२ फागुन, काठमाडौं । विराजभक्त श्रेष्ठ तेस्रो पटक विधायक बनेका छन् ।
बिहीबार भएको निर्वाचनबाट विराजभक्त विजयी भएसँगै तेस्रो पटक विधायक भएका हुन् । मतपरिणाम अनुसार विराजले २४ हजार ५९२ मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमी ३ हजार २१७ मत ल्याएर दोस्रो भए भने तेस्रो भएकी कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत पाइन् ।
विराजभक्त श्रेष्ठ पहिलो पटक २०७४ सालमा बागमती प्रदेश सभा सदस्य भए । त्यसबेला उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभामा विधायक बनेका थिए ।
प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गरी नेवा: समुदायको भावनाको प्रतिनिधित्व गरे ।
२०७९ मा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए ।
त्यसबेला श्रेष्ठले १० हजार ११२ मत पाएका थिए । त्यसबेला पनि सुमन सायमी प्रतिस्प्रर्धी थिए । त्यसबेला सायमीले ६ हजार १७९ मत ल्याएका थिए ।
विघटित प्रतिनिधि सभामा श्रेष्ठले संघीय संसद्मा सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि सक्रियता देखाएका थिए । श्रेष्ठ हरेक वर्ष आफ्नो कामका प्रतिवेदन सार्वजनिक गरे ।

केही समय युवा तथा खेलकुद मन्त्री बने । मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको थियो । त्यसलाई ब्रान्डिङ गर्दै उनले चुनावमा ‘काम गर्न सक्ने युवा’ भनेर प्रचार गरेका थिए ।
श्रेष्ठले ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका छन् । होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा करियरको सुरुवात गरेका उनी २०७२ सालको महाभूकम्पपछि समाजसेवामा सक्रिय भए ।
त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र मुस्ताङदेखि बर्दिवाससम्म विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
वातावरण संरक्षणका लागि उनले ‘फोर्स नेपाल’ संस्था खोलेर ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता अभियानहरू चलाए, जसले उनलाई भुइँतहका मानिसहरूसँग जोड्न मद्दत गर्यो । यही पृष्ठभूमिमा श्रेष्ठ २०७४ को निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा होमिएर राजनीतिमा लागेका हुन् ।
प्रतिक्रिया 4