+
+
Shares

शालीन शिशिर पुन: जनअनुमोदित

विघटित प्रतिनिधिसभामा शालीन नेताका रूपमा चिनिएका शिशिर दोस्रो पटक जनअनुमोदित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १७:५२

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याए । राप्रपाका उद्धवराज भेटुवालले २९० मत र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा समेटिए ।

शिशिर खनाल दोस्रो पटक यही क्षेत्रबाट निर्वाचित भएका हुन् । विघटित प्रतिनिधिसभामा शालीन नेताका रूपमा चिनिएका शिशिर दोस्रो पटक जनअनुमोदित भएका हुन् ।

४७ वर्षीय खनालको स्थायी ठेगाना काठमाडौं, टोखा हो । राजनीतिमा आउनुअघि उनले सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा काम गरेका थिए ।

फाइल तस्वीर

सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियानमार्फत उनले सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।

सन् २०१२ देखि २०१९ सम्म टिच फर नेपाल कार्यक्रममा आबद्ध भएर सामुदायिक शिक्षामा योगदान दिए । नीतिगत अभ्यासमा खनालले २०२३ देखि २०२५ सम्म दाङको तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन गरिएको नीतिशाला कार्यक्रमसँग जोडिएर काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

यही पृष्ठभूमिमा उनी २०७९ को निर्वाचनमा उम्मेदवार बनेका थिए । त्यसबेला उनी १४ हजार २२१ मत प्राप्त गर्दै विजयी भएका थिए ।

खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सर्वेन्द्र खनाल थिए । उनले ८ हजार ९१७ मत प्राप्त गरेका थिए । यसपटक एमालेले अमनकुमार मास्केलाई मैदानमा उतारेको थियो । तर पुन: खनाल नै विजयी भए ।

चुनाव जितेपछि खनालले अब रास्वपाको सरकार बन्ने प्रतिक्रिया दिए । आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै खनालले भने, ‘मूलत: हामीप्रति एकदमै ठूलो अपेक्षा रहेको बुझेका छौं । पछिल्लो डेढ महिनामा घरटोल पुग्दा आम नेपाली जनताले भ्रष्टाचारको विरुद्धमा काम गर्नुपर्छ भन्नुभएको छ ।’

घरैदैलोका क्रममा जनताले भनेको कुरा सम्झेर काम गर्ने उनको वाचा छ । अगाडि भन्छन्, ‘धेरैले मलाई भन्नुभएको, राम्रो नीति तथा कानुनमा काम गरिदिनुस् है भन्नुभएको छ । सकेसम्म आम जनताले अनुभूत हुने गरी नै हामी एय दिनभित्रै केही नतिजा दिनेगरी काम गर्नेछौं ।’

यसपटकको निर्वाचनको परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षको रूपमा स्वीकार गर्नुपर्ने पनि उनको आग्रह छ ।

‘यो जित मुलुकमा आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको मतको रूपमा लिएको छु । जेनजी विद्रोहपछि जसरी तत्कालीन सत्ताधारीहरूले एउटा दम्भ देखाए, ७६ जनाको ज्यान जाँदा पनि जसरी राज्यसत्ता दमनमा उत्रिँदा जसरी ज्यान गयो, त्यसको विद्रोहमा पनि आम नेपाली जनता उत्रिए । राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सुशासन र समृद्धिको बाटो तय गर्न खोजेको रुपमा मैले लिएको छु,’ उनले भनेका छन् ।

जनताले देखाएको अभूतपूर्व जनलहरलाई न्याय हुनेगरी आफूहरूले काम गर्ने प्रतिबद्धता दोहोर्‍याए, ‘अभूतपूर्व जनलहर देखिएको छ । त्यसलाई न्याय हुनेगरी हामी काम गर्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?