+
+
Shares

श्रीमान्‌ले वडाध्यक्ष हारे, श्रीमतीले सांसद जितिन्

२०७९ सालको स्थानीय तह निर्वाचनमा आशाका श्रीमान् आमोदकुमार झाले विराटनगर महानगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सूर्यलाल यादवसँग पराजित भए ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २३ गते १८:२५

२३ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर-५ बाट आशा झा निर्वाचित भएकी छन् । हिजोसम्म गृहिणी र महिला स्वयंसेविकाको रूपमा काम गरेकी ४२ वर्षीया आशा अब माननीय बनेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी आशाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता स्थापित दलका ‘हेभिवेट’ उम्मेदवारहरूलाई पराजित गरिन् ।

यो क्षेत्रमा ठूला दलका उम्मेदवारले उनलाई मुख्य प्रतिस्पर्धी नै मानेका थिएनन् । ठूला दलले प्रतिस्पर्धी नमाने पनि उनलाई मतदाताले विश्वास गरेर ३० हजार ४३४ मतसहित निर्वाचित गराए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । आशा र फूलकुमारबीचको मतान्तर २१ हजार १९ छ ।

मोरङ-५ को दाबेदारको रूपमा हेरिएका जनता समाजवादी पार्टी उम्मेदवार राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा विजयी भएका योगेन्द्र मण्डलले ४ हजार १९९ मत प्राप्त गरेका छन् ।

भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्य जितेकी आशा यसअघि राजनीतिमा थिइनन् । राजनीति गर्ने रहर पनि थिएन । राजनीतिसँग उनलाई चित्त नै बुझ्दैनथ्यो । समाज बाँच्नुपर्छ भन्ने ठान्थिन् ।

‘राजनीति नगर्ने मानसिकता थियो,’ केही समयअघि उनले भनेकी थिइन्, ‘अधिकार माग्न जाँदा बर्बरतापूर्वक गोली ठोकियो, त्यो देखेपछि ज्वाला म भित्र आयो ।’

आशाको पारिवारिक पृष्ठभूमि राजनीतिक रूपमा नेपाली कांग्रेससँग जोडिएको छ । डा. कुलदीप झा २००७ सालको आन्दोलनमा बितेका थिए । शहीद कुलदीप नाताले आशाका हजुरबुबा पर्छन् । उनको परिवार विगतदेखि नै कांग्रेसको राजनीतिमा थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा आशाका श्रीमान् आमोदकुमार झाले विराटनगर महानगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सूर्यलाल यादवसँग पराजित भए ।

पेसाले निर्माण व्यवसायी आमोदले वडामा हार बेहोरेको तीन वर्ष नपुग्दै श्रीमती आशाले भने घण्टी चुनाव चिह्न लिएर सिधै सिंहदरबारको यात्रा तय गरिन् ।

स्वास्थ्य स्वयंसेविकाको रूपमा लामो समय समुदायमा काम गरेकी उनी विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रहेको रास्वपा नेता वीरेन्द्र साहले बताए ।

आशाको उम्मेदवारी घोषणा हुँदा रास्वपा भित्रै केही असन्तुष्टिका स्वरहरू सुनिएका थिए । रास्वपाका नेता मनिष झाले आफ्नै परिवारकी सदस्यलाई टिकट दिएको भन्दै ‘नातावाद’ को आरोप समेत लाग्यो । तर ती आलोचना र पार्टी भित्रको आन्तरिक द्वन्द्वलाई चिर्दै आशाले स्थापित दलका पुराना नेतालाई पराजित गरिन् ।

संसद्‌मा प्रवेश गर्दै गर्दा आशा झाले बन्द उद्योगको पुन: सञ्चालनको वातावरण बनाउने, युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने र सुशासन कायम गर्ने एजेन्डा अघि सारेकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?