अत्यन्त जटिल परिस्थितिमा पुगेको देशले ६ महिनामा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भई आजको दिन देख्न पाएको छ। सबै नेपालीहरूले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरिरहेका छन्। एउटी महिलाको दृढ सङ्कल्पले आज देशले एउटा निकास पाएको छ।
नारी दिवसको सँघारमा सम्पन्न भएको चुनाव र त्यसका मतपरिणामहरू हेर्दै गर्दा काखमा नवजात शिशु लिएकी एउटी आमाको जित हुनुले नेतृत्वमा महिलाको उपस्थितिको एउटा सन्देश दिएको छ। सधैँ महिला नेतृत्वमा शङ्का गरिरहेको विगतले आज एउटा आवाज पनि उठाइरहेको छ- अबको समय महिलाको हो।
तर यही चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको उम्मेदवारी ११ प्रतिशत मात्र किन? किन समानुपातिकमा मात्र महिलालाई सीमित पारियो? सुशीला कार्की र रञ्जु दर्शनाको यो शक्ति र उदयलाई ‘पुरुष नै सर्वेसर्वा हो’ सोच्नेले कसरी हेरिरहेका होलान्? मनमा अनेक प्रश्नहरू उठिरहेका छन्। महिलाले अवसर पाउँदा धेरै गर्छन् र सक्छन् भन्ने सन्देश आजको दिनले बोलिरहेको छ।
नेपालको लोकतान्त्रिक व्यवस्थामा महिलाको सहभागिता बढाउने प्रयास संविधान र कानुनमार्फत हुँदै आएको छ। तथापि २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारीको अवस्था हेर्दा अझै पनि लैङ्गिक समानताको लक्ष्य पूर्ण रूपमा प्राप्त हुन सकेको देखिँदैन। कुल उम्मेदवारमध्ये करिब ११ प्रतिशत मात्र महिला हुनु नेपाली राजनीतिमा महिलाको पहुँच अझै सीमित रहेको सङ्केत हो।
यसको एउटा कारण राजनीतिक दलहरूको संरचना र निर्णय प्रक्रियामा पुरुषको वर्चस्व हुनु हो। धेरैजसो दलहरूमा उम्मेदवार चयन गर्दा महिलालाई प्राथमिकता दिइँदैन। परिणामस्वरूप महिलाहरूलाई प्रायः समानुपातिक सूचीमा राख्ने तर प्रत्यक्ष प्रतिस्पर्धामा कम अवसर दिने प्रवृत्ति देखिन्छ। यसले महिलालाई नेतृत्वको केन्द्रमा पुग्ने अवसर सीमित बनाउँछ।
अघिल्ला चुनावहरूको तुलनामा महिलाको उम्मेदवारी सङ्ख्या क्रमशः बढ्दै गएको छ। युवा पुस्ताबाट आएका केही महिलाहरूले सक्रिय रूपमा चुनावी प्रतिस्पर्धामा भाग लिँदा समाजमा नयाँ प्रेरणा सिर्जना भएको छ। यसले महिलाहरू राजनीतिमा सक्षम नेतृत्व दिन सक्छन् भन्ने विश्वासलाई बलियो बनाउँदै लगेको छ।
अझै पनि धेरै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नै नभएको अवस्था देखिनु चुनौतीपूर्ण पक्ष हो। यसले समाजमा अझै पनि राजनीतिक प्रतिस्पर्धालाई पुरुषकेन्द्रित रूपमा हेर्ने सोच विद्यमान छ भन्ने कुरा देखाइरहेको छ। यस्तो अवस्थामा राज्य, राजनीतिक दल र नागरिक समाजले महिलालाई नेतृत्वमा अघि बढाउने वातावरण सिर्जना गर्नु आवश्यक हुन्छ।
लोकतन्त्रको वास्तविक सार समावेशी सहभागितामा निहित हुन्छ। यदि महिलाहरूलाई समान अवसर, स्रोत र राजनीतिक समर्थन उपलब्ध गराइयो भने उनीहरू पनि राष्ट्र निर्माणको प्रक्रियामा महत्त्वपूर्ण योगदान दिन सक्छन्। त्यसैले आगामी दिनमा महिलाको प्रत्यक्ष राजनीतिक सहभागिता बढाउनु नेपाली लोकतन्त्रलाई अझ सुदृढ र समावेशी बनाउने महत्त्वपूर्ण कदम हुने देखिन्छ।
यसपटकको निर्वाचनमा तीन हजारभन्दा बढी सङ्ख्यामा पुरुष उम्मेदवार रहँदा महिलाको सङ्ख्या ३९६ मात्र रहेको देखिन्छ। १६५ निर्वाचन क्षेत्रका लागि ३,०१७ पुरुष, ३८८ महिला र एक जना तेस्रोलिङ्गी उम्मेदवार देखिन्छन्।
पछिल्ला वर्षहरूमा महिलाहरूको राजनीतिक उपस्थिति क्रमशः बढ्दै गएको देखिए पनि अपेक्षा गरेअनुसार वृद्धि हुन सकेको छैन। यही परिवर्तित राजनीतिक परिवेशलाई झल्काउने केही घटनाहरूमध्ये नेपालको पछिल्लो निर्वाचन र त्यसपछि उदाएको नयाँ नेतृत्व उल्लेखनीय छ। भोलि मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा यी घटनाहरूले नेपाली राजनीतिमा महिलाको भूमिकाबारे पुनः सोच्न प्रेरित गरेका छन्।
दृढ र निडर व्यक्तित्वका रूपमा चिनिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी विद्रोहपछिको नेपाललाई सम्हालिन्। अन्तरिम सरकारकै भए पनि उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् र आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिन्। यसले उनको नेतृत्व शैलीलाई मात्र देखाएको छैन, नेपाली महिलाहरूलाई राजनीति र राज्य सञ्चालनका क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको छ। कार्कीको साहसिक छवि नेपाली समाजमा महिला पनि कठोर निर्णय लिन सक्ने नेता बन्न सक्छन् भन्ने विश्वास निर्माण गर्ने महत्त्वपूर्ण आधार बनेको छ।
नेपालको पछिल्लो संसदीय निर्वाचनले महिला नेताहरूको उदय देखाइरहेको छ। यसभन्दा अगाडिको चुनावमा नेतृत्वमा आएका महिलाको सक्रियता राम्रो थियो भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रञ्जु दर्शना, डा. तोसिमा कार्की र सोबिता गौतमजस्ता युवा महिला नेतृहरूले परम्परागत राजनीतिक संरचनामा नयाँ ऊर्जा र दृष्टिकोण ल्याएका छन्। उनीहरूको विजय केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली राजनीतिमा पुस्तान्तरण र लैङ्गिक समावेशिताको सङ्केत पनि हो।
रञ्जु दर्शना युवा पुस्तामा लोकप्रिय सामाजिक-राजनीतिक अभियन्ता हुन्। नौ वर्षपहिले २२ वर्षकै उमेरमा रञ्जुले विवेकशील पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दै भ्रष्टाचारविरोधी आवाज, पारदर्शिता र सहरी व्यवस्थापनका मुद्दाहरूलाई निरन्तर उठाउँदै आएकी छन्। उनको राजनीतिक यात्राले युवा महिलाहरू पनि राजनीतिक प्रतिस्पर्धामा सक्रिय रूपमा उत्रिन सक्छन् भन्ने सन्देश दिएको छ।
त्यसैगरी चिकित्सक पृष्ठभूमिबाट राजनीतिमा आएकी तोसिमा कार्कीले स्वास्थ्य, शिक्षा र सुशासनका मुद्दालाई प्राथमिकता दिँदै आफ्नो राजनीतिक यात्रा अघि बढाइरहेकी छन्। उनले पेसागत अनुभवलाई नीति निर्माणसँग जोड्ने प्रयास गरिरहेकी छन्, जसले राजनीतिमा विशेषज्ञताको महत्त्व देखाइरहेको छ।
सोबिता गौतम पनि युवा पुस्ताबाट उदाएकी अर्को प्रभावशाली नेता हुन्। सामाजिक सञ्जाल, सार्वजनिक बहस र युवाहरूका मुद्दालाई केन्द्रमा राखेर उनले आफ्नो राजनीतिक पहिचान निर्माण गरेकी छन्। उनको विजयले युवतीहरू पनि सार्वजनिक नेतृत्वमा दृढ रूपमा उभिन सक्छन् भन्ने विश्वासलाई बलियो बनाएको छ।
यसैगरी अरू महिलाहरू पनि जित्ने क्रममा छन्। महिलाहरूको विजयले नेपाली राजनीतिमा दुईवटा महत्त्वपूर्ण सन्देश दिन्छ। पहिलो- नयाँ पुस्ताका महिलाहरू राजनीतिमा सक्रिय र प्रभावशाली रूपमा प्रवेश गरिरहेका छन्। दोस्रो- मतदाताहरू पनि अब महिला नेतृत्वलाई स्वीकार गर्न र विश्वास गर्न तयार हुँदै गएका छन्।
अन्तर्राष्ट्रिय नारी दिवस महिलाको अधिकार, समानता र अवसरका लागि भएका सङ्घर्षहरूको स्मरण गर्ने अवसर पनि हो। नेपालजस्तो समाजमा जहाँ अझै पनि लैङ्गिक असमानता विभिन्न रूपहरूमा देखिन्छ, त्यहाँ राजनीतिमा महिलाको उपस्थिति अत्यन्त महत्त्वपूर्ण हुन्छ। नीति निर्माणको तहमा महिला पुग्दा शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशिताजस्ता मुद्दाहरूलाई थप प्राथमिकता प्राप्त हुने सम्भावना बढ्छ।
आज सुशीला कार्कीको प्रेरणादायी छवि र नयाँ पुस्ताका नेताहरू रञ्जु दर्शना, तोसिमा कार्की र सोबिता गौतमको राजनीतिक उदयलाई एउटै सन्दर्भमा हेर्दा एउटा स्पष्ट सन्देश देखिन्छ: नेपाली महिलाहरू अब केवल राजनीतिक दर्शक होइनन्, उनीहरू परिवर्तनका सक्रिय नेतृत्वकर्ता बन्दै गइरहेका छन्।
यस नारी दिवसले हामीलाई यही प्रश्न सोध्न प्रेरित गरेको छ- के हामी महिलाहरूलाई समान अवसर, सम्मान र नेतृत्वको ठाउँ दिन तयार छौँ? यदि नेपाललाई समृद्ध, समावेशी र लोकतान्त्रिक बनाउन चाहन्छौँ भने सबै जातजाति, समूह र क्षेत्रका महिलाको समान सहभागिता केवल विकल्प मात्र होइन, अनिवार्यता हो।
(नेपाली केन्द्रीय विभाग, त्रिवि)
प्रतिक्रिया 4