काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए । उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए ।
शर्मासँग प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमा गरिएको कुराकानी–
प्रतिवेदनमा के छ ?
प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं । हामीले देखेको, बुझेको जानेको र प्रमाणको आधारमा हामीले राय सुझाव दिएका छौं ।
अब यो सम्पत्ति सरकारको भयो । अब सरकारले आवश्यक कारबाही गर्ने, पुरस्कृत गर्नुपर्ने हो कि गर्ने हो सरकारले गर्छ ।
अनुमान के गर्ने जनताले ?
जसले गल्ती गरेको छ, त्यसलाई कारबाही हुन्छ । जसले राम्रो गरेको छ, त्यसलाई कारबाही हुँदैन ।
जनताको स्पष्ट डिमान्छ छ कारबाही गर, हतकडी लगाउ भन्ने ।
ठिक छ, त्यो अब सरकारको सम्पत्ति भएको हुनाले सरकारले यो विषयमा बोल्छ ।
कारबाहीको सिफारिस गरेको छ आयोगले ?
छ ।
ककसलाई कस्तो कारबाही सिफारिस भएको छ ?
कारबाही सिफारिस गरेको छ । यो कुरा म यहाँ बोल्दिनँ ।
कति पृष्ठको प्रतिवेदन छ ? मूलभूत रुपमा २३ गतेको घटनालाई कसरी हेरेको छ ? २४ गतेको घटनालाई कसरी हेरेको छ ?
सबै गर्दाखेरि ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ । त्यसमा मिहिन रुपमा २३ गते र २४ गतेको घटनाहरुको विषयमा छ ।
तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई फौजदारी अभियोग लगाइएको छ भन्ने कुरा पनि छ नि ?
जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ । त्यसमा कुनै दुईमत छैन ।
जो दोषी छन् उनीहरुलाई फौजदारी अभियोगमै कारबाहीको सिफारिस छ वा प्रशासनिक खालको ?
कारबाहीलाई सिफारिस छ । म डिटेल कुरा अहिले भन्दिनँ तपाईंहरुलाई ।
फौजदारी छ कि छैन ?
म भन्दिनँ ।
कति जनालाई कारबाही सिफारिस गर्नुभाछ ? नम्बर त भन्न मिल्ला नि ?
कारबाही सिफारिस भाछ ल ।
यो घटना घट्नुमा केके ल्याप्सेस भएको छ ?
केही सेक्युरिटी ल्याप्सेस भा छ । निश्चय पनि संसद भवन परिसरमा सुरुबाटै ब्यारिकेडदेखिकै केही कमीकमजोरीहरु देखिएको छ । त्यत्ति हो ।
प्रधानमन्त्रीसँग कुरा हुँदा प्रधानमन्त्रीको मनस्थिति आफैंले सार्वजनिक गर्ने भन्ने छ कि अर्को सरकारले गरोस् भन्ने छ ? तपाईंले के बुझ्नुभयो ?
यो विषयमा प्रधानमन्त्रीज्यूले हामीलाई धन्यवाद दिनुभयो । यो सरकारको सम्पत्ति भयो । अब हामीले के गर्नुपर्छ गर्छौं भन्नुभाछ ।
हिजो मल्लिक आयोग थियो, रायमाझी आयोग थियो, तपाईंहरुको हालत पनि त्यस्तै हुने त होइन ?
हुँदैन । यो कुरामा ढुक्क हुनुस् ।
जाँचबुझको क्रममा कति जनालाई सोधपुछ गर्नुभयो ?
हामीले करिब २ सय प्लस मान्छेहरुलाई गर्यौं । केही बयान कागजहरु प्नि गरायौं । केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरुसँग पनि हामीले रायसुझाव लियौं ।
प्रतिक्रिया 4