२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा तीन जना बाहेक सबै पार्टी अध्यक्ष तथा सभापतिहरूले चुनाव हारेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भइसकेका छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जित नजिक पुगेका छन् ।
झापा–५ बाट उठेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र झापा–३ बाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जित्न निकाल्न सकेनन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा पराजित भए ।
नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ मा पराजित भए । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ र जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट हारे । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ मा पराजित भए ।

ओली हराउँदै उदाए बालेन
एमालेका अध्यक्ष ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले हराइदिए ।
झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित बालेन निर्वाचित हुँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रह्यो ।
ओलीलाई हराउने बालेन काठमाडौं महानगरका पूर्वमेयर हुन् । ३६ वर्षीय बालेन इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित थिए । काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै थप चर्चित भए ।
झापा-५ बाट चुनाव जितेसँगै उनी अन्तर्राष्ट्रिय स्तरसम्मै चर्चाको शिखरमा पुगेका छन् । का,रण उनी भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिएका पात्र हुन् ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् ।
उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
नयाँ पुस्ताले बालेनको राजनीतिक अवतारको चर्चा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।
बालेन उदाउँदा ओली भने कमजोर भएका छन् । संसदीय निर्वाचनमा ओलीले दोस्रो पटक हार बेहोरेका मात्रै होइनन् उनी नेतृत्वको एमालेले देशभर सर्मनाक हार बेहोरेको छ ।
झापा-५ मै भने ओलीले पहिलो हार २०६४ मा खेपेका थिए । यसपटक दोस्रो हार खेप्दा उनी मतान्तरमा पनि निकै पछाडि परे । योसँगै झापा-५ लाई आफ्नो क्षेत्र भन्दै आएका ओलीको बोली खण्डित भएको छ ।
ओलीले यसअघि झापा-५ बाट २०४८, २०५१ र २०५६ सालको चुनाव जितेका थिए । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पराजित भए पनि त्यसयताका तीनवटै संसदीय चुनाव २०७० साल, २०७४ र २०७९ मा जितेका थिए ।
चुनाव जितेका मात्र होइनन्, उनी संसदीय राजनीतिको शीर्ष स्थानमा रहँदै आएका नेता हुन् । २०५१ सालमा गृहमन्त्री भए । २०६३ मा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बने । २०७२, २०७४ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भए ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए । त्यसबेला राजीनामा दिन बाध्य भएका ओलीका लागि गत बिहीबारको चुनाव संसदीय राजनीतिका लागि बिराम लाग्ने दिन बन्यो । जबकि, ओलीलाई नै हराएर बालेन प्रधानमन्त्री बन्दैछन् ।

गगनको ‘बेग’लाई अमरेशको धक्का
यस पटकको निर्वाचनले सात दशक पुरानो दल नेपाली कांग्रेसलाई पनि धक्का दिएको छ । जेनजी आन्दोलनको पृष्ठभूमिमा पुराना दलहरू भित्र नेतृत्वमा पुस्तान्तरणको बहस चल्यो । त्यसमा गगन थापा सफल भए । शेरबहादुर देउवालाई हटाएर आफ्नै नेतृत्वमा पार्टी अगाडि बढाए । तर संसदीय चुनाव आफैँले समेत जित्न सकेनन् ।
विगतमा निरन्तर काठमाडौं-४ बाट चुनाव जित्दै आएका गगन थापा विशेष महाधिवेशनबाट सभापति भएसँगै सर्लाही-४ मा चुनाव लड्न गए । रास्वपाबाट उम्मेदवार बनेका अमरेशले थापालाई हराइदिए ।
३५ हजार ६८८ मत ल्याएर अमरेश सिंह विजयी हुँदा गगन थापाले २२ हजार ८३१ मत मात्रै ल्याउन सके । सिंहले थापालाई १२ हजार ८५७ मतले पराजित गरे ।
गगन थापा र अमरेश दुवैको संसदीय यात्रा सँगसँगै जस्तो सुरु भएको हो । अमरेश संसदीय यात्रा २०६३ मा अन्तरिम संसद्बाट सुरु भएको हो । त्यसबेला उनी कांग्रेसका तर्फबट सांसद बनेका थिए । गगन थापा पनि २०६४ मा समानुपातिक सांसद भएर संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । यसपटक गगनको संसदीय यात्रामा अमरेशले ब्रेक लगाइदिए ।
२०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित सिंहलाई २०७९ कांग्रेसले टिकट दिएन । त्यसबेला कांग्रेसले नागेन्द्र कुमारलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उन्मेदवारी दिएका अमरेश २० हजार १७ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए ।
यसपटक पनि जनताले अमरेशलाई नै चुने । परिणाममा अमरेशले सर्लाही-४ बाट लगातार चौथो पटक चुनाव जित्न सफल भए ।
२०२७ सालमा जन्मिएका उनी सर्लाहीको बलरा नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । अमरेशले नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
प्रकाशसँग रोकिए राजेन्द्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव जित्न सकेनन् । उनको संसदीय यात्रा रास्वपाका प्रकाश पाठकले रोकिदिए ।
झापा–३ बाट रास्वपाका प्रकाश ३८ हजार ६७४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लिङ्देनले १७ हजार २९४ मत मात्रै ल्याउन सके । पाठकले लिङ्देनलाई २१ हजार ३८० मतले हराइदिए ।

यसअघि २०७४ सालको निर्वाचन र २०७९ सालको निर्वाचनमा लिङ्देन एमालेसँग गठबन्धन गरेर विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा राप्रपाबाट एक्लै प्रत्यक्ष जितेका लिङ्देन त्यही बलमा पार्टीको अध्यक्ष भए । तर यसपटक रास्वपाको लहरका बीच लिङ्देनको संसदीय यात्रामा ब्रेक लाग्यो ।
२०४५ साल साउन १ गते झापाको बाह्रदशी गाउँपालिका घाग्रामा जन्मिएका पाठकले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनी पूर्वपत्रकार हुन् ।
१३ वर्ष विभिन्न सञ्चारमाध्यममा काम गरेका प्रकाशले निर्वाचन प्रचारप्रसारका क्रममा अनलाइनखबरसँग भनेका थिए, ‘परिवर्तन हुनुपर्छ, रुपान्तरण हुनुपर्छ भन्ने लाग्थ्यो । पत्रकारितामा रहँदा देश कसरी चलेको छ भन्ने बुझियो । अब बोलेर र लेखेर मात्रै हुँदैन । सही कानुन बनाउन आफैं अगाडि सर्नुपर्छ भन्ने लाग्यो र राजनीतिमा होमिएँ ।’
चुनाव जितेकाले उनलाई अब गर्न खोजेको काम अगाडि बढाउने अवसर मिलेको छ । चुनावका दौरान उनले तीन वटा प्राथमिकता अघि सारेका थिए- शिक्षा, स्वास्थ्य र कृषि ।
कृषिको समुचित सम्बोधन नगरी मुलुक अगाडि बढ्न नसक्ने उनको बुझाइ छ । ‘किसानले गर्व गर्ने अवस्था बन्नुपर्छ । यसका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ । सरकारले उत्पादनमै अनुदान दिनुपर्छ ।’
नेपालको शिक्षा समयअनुकूल र प्रविधिमैत्री हुन नसकेको प्रकाशको बुझाइ छ । उनी भन्छन्, ‘२०२८ साल देखि एउटै शिक्षा नीति छ । यसलाई समयअनुकूल बनाउँदै लैजानुपर्छ । पाठ्यकक्रममा परिमार्जन गर्नुपर्छ । निजी र सरकारी दुवै विद्यालयमा समान पाठ्यक्रम र समान ड्रेस हुनुपर्छ ।’
शिक्षा र स्वास्थ्यमै नागरिकको लगानीको धेरै प्रतिशत खर्च भइरहेकाले नागरिकमा आक्रोश रहेको प्रकाश बताउँछन् । उनी भन्छन्, ‘हरेक परिवारको ६० प्रतिशत आम्दानी शिक्षा र स्वास्थ्यमा खर्च भइराखेको छ ।’
उनका नजरमा शिक्षामा र स्वास्थ्य उपचारमा नागरिको समान पहुँच छैन । प्रकाश थप्छन्, ‘स्वास्थ्यमा सर्वसुलभता आवश्यक छ । स्वास्थ्यका लागि भवनमा लगानी होइन । स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य बीमाको प्रभावकारिता बढाउनुपर्नेछ ।’
कुलमानलाई रोक्ने राजु महानगर प्रहरी
मुलुककै नेतृत्व गर्ने ध्येय राखेका पात्र हुन्– कुलमान घिसिङ । नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङलाई संसदीय राजनीतिको पहिलो खुड्किलो सुखद रहेन । काठमाडौं–३ बाट उम्मेदवार रहेका घिसिङलाई रोक्दै रास्वपाका राजुनाथ पाण्डे विजयी भए ।
१८ हजार ७५७ मत ल्याएर राजुनाथ विजयी हुँदा कुलमान दोस्रो भए । अध्यक्ष कुलमानले ११ हजार १७१ मत ल्याए । पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भए ।

कुलमानलाई रोक्ने राजु काठमाडौं महानगरपालिका पूर्वमहानगर प्रहरी प्रमुख हुन् । चुनावी घरदैलोका क्रममा राजुनाथले ‘म बालेनको सिपाही हजुर’ भन्दै मत मागेका थिए । उनै राजुलाई जनताले आफ्नो प्रतिनिधि चुने ।
राजुनाथले चुनाव जित्दा कुलमानको संसदीय राजनीति भने अन्योलमा परेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर मुलुकलाई १८ घण्टासम्मको लोडसेडिङ हटाएर उज्यालो बनाएको श्रेय पाउँदै आएका छन् । उनलाई कतिपयले उज्यालोको प्रतीकका रूपमा लिन्छन् । त्यही मनोविज्ञानलाई क्यास गर्न उनले पार्टीको नाम नै उज्यालो नेपाल पार्टी राखे । तर संसदीय राजनीतिमा पहिलो प्रयासमै रोकिए ।

राजनीतिक रूपमा उनका कदमहरू पनि परिपक्क हुन सकेनन् । जसले कुलमानलाई चुनाव नजित्ने वातावरण बनाउन भूमिका खेल्यो । वैकल्पिक शक्ति निर्माणको वकालत गर्दै राजनीतिमा आउन खोजेका उनी जेनजी आन्दोलनपछि सरकारमा मन्त्री हुन गए ।
कतिपयले मन्त्री नभएको भए हुन्थ्यो भनेर सुभेच्छा राखेका थिए । आफ्नो समर्थनमा पार्टी खोले । तर पार्टीको सदस्यता नलिएको सार्वजनिक अभिव्यक्ति दिएर उनी विवादमा तानिए ।
मन्त्रीबाट हटेर पार्टीमा खुलेपछि रास्वपामा मिसिन गए । समानुपातिकतर्फको बन्दसूचीमा रास्वपाकै तर्फबाट उम्मेदवारको नाम बुझाए । अन्तिम समयमा रास्वपा छोडे र उज्यालो नेपाल पार्टीबाटै चुनावमा होमिए । यसले कुलमानलाई राजनीतिमा कच्चा खेलाडीको रूपमा चित्रित गर्यो । परिणाममा कुलमान रास्वपाकै उम्मेदवारसँग पराजित हुन पुगे ।
जोगिएन ‘मधेशको मसिहा’ को छवि
उपेन्द्र यादवलाई मधेशमा धेरै ‘मधेशको मसिहा’को उपमा दिने गर्छन् । तर यस्तो छवि यसपटको चुनावमा उनले जोगाउन सकेनन् ।
उपेन्द्रलाई रोक्दै सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरी निर्वाचित भए । चौधरीले निकटतम प्रतिद्वन्द्वी उपेन्द्रलाई साढे १७ हजारभन्दा बढी मतान्तरले हराइदिए ।
रास्वपाका चौधरी ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले जम्मा १५ हजार २३९ मत पाए । योसँगै उपेन्द्रको संसदीय राजनीतिमा ब्रेक लागेको छ ।
२०६३/०६३ सालको संयुक्त जनआन्दोलनपछि भएको मधेश आन्दोलनमार्फत राजनीतिमा स्थापित भएका उपेन्द्र त्यसयताका हरेक निर्वाचनमा उम्मेदवार छन् ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ बाट जिते । ५२ सिटसहित चौथो शक्तिका रूपमा उदाएको मधेशी जनअधिकार फोरमका अध्यक्ष यादव २०६५ र २०६७ मा उपप्रधान तथा परराष्ट्र मन्त्री बने ।

२०७० को दोस्रो संविधानसभा चुनावमा उनी मोरङ–५ मा पराजित भए । पछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी संघीय समाजवादी फोरम बनाएका उनी २०७४ मा सप्तरी–२ बाट निर्वाचित भए । केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानसहित स्वास्थ्य र कानुन मन्त्री बने ।
२०७९ सालको निर्वाचनमा सप्तरी–२ मा फराकिलो मतान्तरले पराजित भएपछि उपेन्द्रले संसद् छिर्नका लागि उपनिर्वाचनलाई माध्यम बनाए । २०८० वैशाखमा भएको उपनिर्वाचनमा बारा–२ बाट चुनावी गठबन्धन गरी उनी निर्वाचित भएका थिए ।
यसपटक दलहरू एक्लाएक्लै चुनावी मैदानमा थिए । रास्वपाका अमरकान्तले उपेन्द्रको संसदीय राजनीतिमा ब्रेक लगाइदिए ।
२०३८ साल मंसिर १ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोमा जन्मिएका अमरकान्तले स्नातकसम्मको अध्ययन गरेका छन् । उनी राजनीतिमा जोडिएको भने २०७४ सालदेखि हो । सुरुमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)मा जोडिएका थिए । पछिल्लो समय रास्वपामा आवद्ध भएर अगाडि बढिरहेका उनी प्रत्यक्षतर्फ चुनाव जितेर संसद् प्रवेश गरेका छन् ।
अनुभवीलाई रोक्दै आए रविन
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अनुभवी राजनीतिक खेलाडीको रूपमा लिने गरिन्छ । उनै अनुभवी राजेन्द्रलाई रोकेर रास्वपाका रविन महतो सांसद भएका छन् ।
सर्लाही–२ मा ४२ हजार ५१२ मत ल्याएर रविन निर्वाचित हुँदा राजेन्द्रले जम्मा ५ हजार ९९२ मत पाए ।
यो सँगै राजेन्द्रको पुनरागमन प्रयास असफल भएको छ । राजेन्द्र २०४८ सालदेखि निर्वाचन लड्दै आएका नेता हुन् ।

२०४८ र २०५१ को मध्यावधि चुनावमा हार बेहोरेका उनले २०५६ को चुनाव जितेका थिए । २०६२–६३ को जनआन्दोलनपछि कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा महतो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बने । त्यसपछिका वर्षहरूमा वाणिज्य तथा आपूर्ति मन्त्री, स्वास्थ्य मन्त्री र उपप्रधानमन्त्री समेत बने ।
२०६४ सालमा सद्भावना पार्टीका अध्यक्ष भए । पहिलो संविधानसभा निर्वाचनमा सहज जित हासिल गरे । २०७० को दोस्रो संविधानसभा चुनावमा भने सर्लाही–५ बाट पराजित भए । २०७४ को निर्वाचनमा धनुषा–३ बाट चुनाव जिते ।
२०७९ को निर्वाचनमा पराजित भए । यसपटक पुनरागमन प्रयासमा थिए, तर सकेनन् । अनुभवी नेतालाई हराएर उदाएका रविन राजनीतिमा नयाँ अनुहार हुन् । उनको सक्रिय राजनीतिक पृष्ठभूमि छैन । तर समाजका गतिविधिमा भने सक्रिय थिए । २०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मेका महतोलाई त्यसआधारमा जनताले जिताएर पठाइदिए ।
रामजीसँग ठोक्किए सिके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन् । राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका छन् ।
२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरे ।
२०७९ को निर्वाचनमा राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए । त्यसबेला राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मत पाएका थिए । यसपटक उनी जम्मा ९ हजार ८८० मतमा सीमित भए ।

राउतलाई रोक्दै चुनाव जित्ने रामजी इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । राजविराज विहारपुरका उनी प्राविधिक ज्ञान, सामाजिक फिल्ड–वर्क र मधेश आन्दोलनको अनुभव मिसिएका प्रतिनिधि युवा नेता हुन् ।
३० वर्षीय यादवले विद्युत इन्जिनियरिङमा बीई गरेका छन् । उनी नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधार जस्ता विषयमा विशेषज्ञता राख्ने व्यावसायिक रूपमा सफल प्राविधिक पनि हुन् ।
इजीवर्ल्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशकका रूपमा सात वर्षभन्दा बढी नेतृत्व अनुभव बटुलेका यादव प्रमाण–आधारित नीति निर्माण, कार्बन क्रेडिटमार्फत वैदेशिक आम्दानी र दिगो विकास मोडल निर्माण गर्न सक्षम उम्मेदवारको रूपमा अगाडि आएका छन् ।
स्थानीय तहमा सब–इन्जिनियरिङ कलेज स्थापना, राजविराजको फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, राज रंगशाला खेल मैदानको पूर्वाधार निर्माण, राजविराज–९ मा स्वास्थ्य चौकी भवन निर्माणको काममा संलग्न रामजीलाई जनताले चुनावमा जिताइदिएका हुन् ।
प्रतिक्रिया 4