News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावबारे नेपाल आयल निगमसँग माग, आपूर्ति र उद्योग संख्या सम्बन्धी विवरण माग गरेको छ।
- विभागले ग्यास अभाव संकट समाधानका लागि निगमलाई 'संकट व्यवस्थापन योजना' पेस गर्न भनेको छ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित बैठक बस्न लागेको छ।
- ग्यासको कालोबजारी र मूल्यवृद्धि रोक्न विभाग र आयल निगमले अनुगमन कडा बनाएको र बढी मूल्य लिनेहरूलाई कारबाही गर्ने टोली परिचालित भइसकेका छन्।
२६ फागुन, काठमाडौ । दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव झन् चुलिँदै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्याससम्बन्धी विवरण मागेको छ ।
मंगलबार विभागले ग्यासको माग, आपूर्ति, उद्योग संख्या र अभावको कारणबारे विस्तृत जानकारी निगमसँग मागेको हो ।
विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार ग्यास अभाव संकट समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको थियो । बैठकपछि निगमसँग एक वर्षको माग र आपूर्तिको मासिक विवरण माग गरिएको हो ।
‘हामीले उद्योगको संख्या, उनीहरूलाई दिइएको पीडीओ, काठमाडौंको माग र आपूर्ति कति हो भन्ने तथ्यांक मागेका छौं,’ तिवारीले भने, ‘गत वैशाखदेखि कुन महिनामा कति ग्यास आपूर्ति भयो भन्ने मासिक विवरण पनि पेस गर्न भनेका छौं ।’
भोलि बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सहित बैठक बस्न लागिएको उनले जानकारी दिए । उक्त बैठकमा हालको संकट समाधानका लागि ठोस कार्ययोजना सहित उपस्थित हुन आयल निगमलाई भनिएको तिवारीले जानकारी दिए । उनका अनुसार निगमलाई ‘संकट व्यवस्थापन योजना’ पेस गर्न भनिएको छ ।
यसैबीच ग्यासको कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले अनुगमन कडा बनाएको छ । ‘विभाग र आयल निगम दुवैको टोली अनुगमनमा खटिएको छ,’ उनले भने, ‘बढी मूल्य लिनेलाई कारबाही गर्न टोली परिचालित भइसकेका छन् ।’
उनका अनुसार निगमले बजारमा ग्यास आपूर्तिमा समस्या छैन भने पनि अभाव रहेको अनुगमनबाटै देखिएको बताए । उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले सक्रियता बढाएको हो ।
प्रतिक्रिया 4