+
युरोपियन च्याम्पियन्स लिग :

राउन्ड अफ १६ को पहिलो लेगमा बायर्नको फराकिलो जित

२०८२ फागुन  २७ गते ७:५५ २०८२ फागुन २७ गते ७:५५
राउन्ड अफ १६ को पहिलो लेगमा बायर्नको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लेगमा इटालियन क्लब एट्लान्टालाई ६–१ ले हराएको छ।
  • बायर्नले १२औं मिनेटमा अग्रता लिएर दोस्रो हाफमा पनि दबाब कायम राख्दै ६–० को स्थितिमा पुर्‍याएको थियो।
  • एट्लान्टाका लागि इन्जुरी समयमा मारियो पासालिकले सान्त्वना गोल गरेपछि दोस्रो लेग मार्च १८ मा बायर्नको मैदानमा हुनेछ।

२७ फागुन, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लेगमा इटालियन क्लब एट्लान्टालाई ६–१ ले हराएको छ।

एट्लान्टाकै घरेलु मैदानमा भएको खेलमा बायर्नले सुरुदेखि नै दबाब बनाउँदै शानदार जित निकालेको हो। चोटका कारणले इंग्ल्यान्डका कप्तान ह्‍यारी केन सुरुआती टोलीमा परेनन् र बेन्चमा मात्र बसे।

तर उनको अनुपस्थितिमा पनि बायर्नको प्रदर्शन कमजोर देखिएन। फ्रेन्च मिडफिल्डर माइकल ओलिस उत्कृष्ट लयमा देखिए र दुई गोलसहित टोलीको जितमा प्रमुख भूमिका खेले।

बायर्नले १२औं मिनेटमा अग्रता लियो। ओलिसको कर्नरबाट आएको बलमा सर्जे जिनाब्रीले अवसर सिर्जना गरेपछि जोसिप स्टानिसिकले नजिकबाट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

त्यसको १० मिनेटपछि २२औं मिनेटमा ओलिसले कर्लिङ प्रहारमार्फत गोल गरे। २५औं मिनेटमा जिनाब्रीले गोल थप्दै बायर्नलाई ३–० ले अघि बढाए।

दोस्रो हाफमा पनि बायर्नले दबाब कायम राख्यो। ५२औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै अग्रता फराकिलो बनाए। ६४औं मिनेटमा ओलिसले व्यक्तिगत दोस्रो गोल गरे भने ६७औं मिनेटमा जमाल मुसियाला ले गोल गर्दै बायर्नलाई ६–० को स्थितिमा पुर्‍याए।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मारियो पासालिकले एट्लान्टाका लागि सान्त्वना गोल फर्काए।

यस जितसँगै बायर्नको अवे मैदानमा अपराजित यात्रा ९ खेल पुगेको छ र टोली दोस्रो लेग अघि निकै बलियो स्थितिमा पुगेको छ। दोस्रो लेग मार्च १८ मा बायर्नको मैदान अलियान्ज एरेनामा हुनेछ।

युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय