+
+
Shares

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण दस्ता नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते ११:१६

२ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’को ‍औपचारिक शुभारम्भ गरिएको छ ।

वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए ।

सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ। डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार उक्त १२ सदस्यीय टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ । डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उनले जानकारी दिएका छन् ।

सप्ताहको सुरुवातसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा वरिस्ठ वन अधिकृत सन्तबहादुर थिङ, रामबहादुर घलान, भू तथा जलाधार कार्यालयका प्रमुख राकेश कुवर, अधिकृत अरुण आचार्य लगायत स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा वन डढेलोको कारण, यसको प्रभाव तथा रोकथामका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले वन डढेलो नियन्त्रणमा सरकारी निकायसँगै स्थानीय समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।

यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्यांक संकलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र रहेका ६ वटै सबडिभिजन वन कार्यालयहरूले वन डढेलो सम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रविष्टि गर्ने व्यवस्था मिलाइएको छ । ‘वन डढेलो रिपोर्टिङ २०८२/०८३’ नामक अनलाइन सिट सञ्चालनमा ल्याइएपछि डढेलोसम्बन्धी तथ्यांक समयमै संकलन हुने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ ।

वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण महत्वपूर्ण हुने भएकाले सम्बन्धित निकायले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै वन क्षेत्रमा डढेलो देखिएमा तत्काल जानकारी गराएर नियन्त्रणमा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?