+

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन शनिबार

२०८२ चैत  ३ गते २१:५६ २०८२ चैत ३ गते २१:५६
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन शनिबार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीले आगामी शनिबार लुम्बिनीमा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ आयोजना गर्नेछ।
  • प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमी दौड, स्कुल ५ किमी दौड र भेट्रान ५ किमी दौड गरी पाँच विधा हुनेछ ।
  • म्याराथनमा करिब १२०० जना सहभागी हुने अपेक्षा गरिएको छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ आगामी शनिबार लुम्बिनीमा आयोजना हुने भएको छ ।

एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन आयोजना गर्दै आएको छ । यस वर्ष प्रतियोगिता पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमी दौड (पुरुष/महिला), ५ किमी दौड (स्कुल ब्वाइज/गर्ल्स) र ५ किमी भेट्रान पुरुष गरी पाँच विधामा सञ्चालन हुनेछ ।

यसैगरी ३ किमी खुला पिस वाकाथन पनि आयोजना गरिनेछ । सबै विधामा गरी करिब १२०० जना सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १७ लाख ६९ हजार रुपैयाँ रहेको छ । पुरुष म्याराथनतर्फ विजेताले ३ लाख ५० हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १० स्थानमा रहने धावकलाई क्रमशः १ लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

महिला हाफ म्याराथनतर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रो हुनेले ८० हजार, चौथो हुनेले ५० हजार र पाँचौं हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न वज्राचार्यले प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबाट यो म्याराथन प्रेरित रहेको बताए । उनका अनुसार एनओसीले विगत चार वर्षदेखि खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यसहित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यस कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संयोजक वज्राचार्यका अनुसार लुम्बिनी पिस म्याराथन एनओसीको प्रमुख कार्यक्रमका रूपमा स्थापित भइसकेको छ । उनले यस वर्ष सहभागीहरूको संख्या उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै यसलाई प्रतियोगिताको सफलताका रूपमा लिएका छन् । साथै, यस म्याराथनले लामो दूरीको दौडमा नेपालको स्तर उकास्न र धावकहरूको मनोबल वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनले उत्कृष्ट खेलाडी, धावक, युवा, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकै स्थानमा ल्याउने, खेल पर्यटन प्रवर्द्धन गर्ने तथा लुम्बिनीलाई शान्ति र आध्यात्मिकताको विश्वव्यापी गन्तव्यका रूपमा थप स्थापित गर्ने लक्ष्य लिएको छ ।

गत संस्करणमा पुरुष म्याराथनतर्फ अनिश थापामगर र महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ विजेता बनेका थिए ।

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय