News Summary
Generated by OK AI. Editorially reviewed.- खाना पकाउने एलपी ग्यास अभावका कारण उपभोक्ता विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्।
- चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालमा १ लाख ४७ हजार ८ सय ६४ विद्युतीय चुलो आयात भएका छन्।
- आयात भएका चुलोमध्ये १ लाख ४ हजार ७ सय १७ इन्डक्सन र ४२ हजार २ सय १८ इन्फ्रारेड चुलो रहेका छन् र कुल आयात मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ छ।
८ चैत, काठमाडौं । खाना पकाउने एलपी ग्यास अभाव खेपेका उपभोक्ता विकल्पमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ कोे आठ महिना (साउनदेखि फागुन मसान्त) को तथ्यांक अनुसार नेपालमा विभिन्न प्रकारका कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो आयात भएको छ ।
आयात भएका चुलोमध्ये सबैभन्दा बढी आकर्षण इन्डक्सन चुलोमा देखिएको छ । चालु आव फागुन मसान्तसम्म १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो नेपाल भित्रिएको छ ।
यसैगरी इन्फ्रारेड चुलो आयात पनि उल्लेख्य छ । समीक्षा अवधिमा ४२ हजार २ सय १८ थान इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ । इन्डक्सन र इन्फ्रारेड बाहेक अन्य प्रकारका विद्युतीय चुलो भने ९ सय २९ थानमात्र भित्रिएका छन् ।
आर्थिक पक्ष हेर्दा यी विद्युतीय चुलो आयातका लागि ठूलो रकम बाहिरिएको छ । आठ महिनामा आयात भएका १ लाख ४७ हजारभन्दा बढी चुलोको कुल आयात मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बराबर छ ।
यसमध्ये इन्डक्सन चुलोको मात्रै आयात मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ छ भने इन्फ्रारेडको ७ करोड ६७ लाख ७ हजार छ । यी चुलो आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार बराबर राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया 4