News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघलाई निलम्बन गरेपछि एन्फाको अर्ली निर्वाचन स्थगित गरिएको छ।
- एन्फाका महासचिव किरण राईले फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गर्ने निर्णय गरिएको बताए।
- राईले राष्ट्रिय खेलकुद परिषदले फुटबलको जिम्मा लिनुपर्ने र एसियन कप छनोट खेलका लागि स्वीकृति दिनुपर्ने बताए।
१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गर्दै फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गरेको बताएको छ ।
एन्फाले आजका लागि तय गरेको अर्ली इलेक्सन बिहीबार स्थगित गरेको थियो । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले राष्ट्रिय खेलकुद परिषदले एन्फालाई निलम्बन गरेपछि फिफा र एएफसीसँग छलफलपछि एन्फा निर्वाचन स्थगित गरिएको बताए ।
‘निर्वाचनका लागि एएफसी र फिफा प्रतिनिधिहरु आउनुभएको थियो । राखेपले नै निलम्बन गरेपछि प्रतिनिधिहरुसँग छलफल निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो’ राईले भने ।
उनले यदी आफूहरु हटेर नेपाली फुटबलको स्थिति राम्रो हुन्छ भने आफूहरु हट्न तयार रहेको तर अहिले आफहरु हट्दा नेपाली फुटबल संकटमा पर्ने दाबी गरे ।
‘हामीले नटेरेको होइन । हामी नेपाली फुटबलको राम्रो नै चाहन्छौं, त्यसका लागि लामो समयदेखि मेहेनत गर्दै आएका हौं । हामी फिफाको निलम्बनमा नपर्नका लागि नै निर्वाचन गर्न खोजेका थियौं’ राईले भने ।
नेपालको कानुन नमान्ने पक्षमा आफूहरु नरहेको र विषय प्रष्ट पार्ने प्रयास गरेको राईले बताए । अब राष्ट्रिय खेलकुद परिषदले फुटबलको जिम्मा लिनुपर्ने राईले बताए ।
‘नेपाली फुटबलमा अब भ्याकुमको अवस्था छ । त्यो जिम्मा अब राखेपले लिनुपर्यो’ राईले भने । अब यो भ्याकुम कायम राख्न नहुने र अब नेपाली फुटबलको निकासका लागि जिम्मा लिनुपर्ने राईले बताए ।
अब एसियन कप छनोट अन्तर्गत लाओससँग हुने खेलको विषयमा पनि राखेपले जिम्मा गर्नुपर्ने राईले बताए । ‘एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग खेल्न जान राखेपसँग स्वीकृति लिन चैत ८ गते नै पत्र पठाएका थियौँ । हामीले निलम्बन अघि नै स्वीकृतिका लागि पत्र पठाएका थियौं र लाओससँगको खेलका लागि नेपाली टिम पठाउनुपर्छ भन्ने हामी चाहन्छौं ।’
राईले आफूहरू अराजक नभएको बताए । ‘हामी अराजक होइनौं, नेपालको कानून मान्छौं, राज्यसँग हामीले झगडा गर्नुपर्ने विषय नै छैन’ राईले भने ।
राईले ए डिभिजन लिग हुन नदिनका लागि डिजाइन नै भएको आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया 4