+
+
Shares

वृद्धतन्त्रमा लाग्यो ब्रेक, नाति पुस्ताको काँधमा देश

मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकर्ड राखेका बालेन २०४६ सालको बहुदल पुनर्स्थापनापछि जन्मिएका पुस्ता हुन् । यसर्थ बहुदलपछिको पुस्ताको काँधमा देशको नेतृत्व आएको अर्थमा पनि बुझ्न सकिन्छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ चैत १३ गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ३६ वर्षको उमेरमा मुलुकको ४३औं प्रधानमन्त्री नियुक्त भएका छन्।
  • रास्वपाले २०७९ को निर्वाचनमा २७५ मध्ये १८२ सिट जितेर दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको छ।
  • बालेनको मन्त्रिपरिषद्‌मा १० जना मन्त्री ४० वर्ष मुनिका छन् र युवाहरुको नेतृत्वमा सरकार गठन भएको छ।

१३ चैत, काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको ४३औं प्रधानमन्त्री नियुक्त हुँदा विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ ।

शितल निवासको शपथ समारोह, सिंहदरबारको पदभार ग्रहण र सामाजिक सञ्जालहरूमा देखिएको दृष्यले बालेन प्रधानमन्त्री हुँदाको खुशी अनुमान लगाउन सकिन्छ । हिन्दू र बौद्ध धार्मिक बिधि बमोजिम साइत हेरेर बालेनले प्रधानमन्त्री पदको शपथ लिइरहँदा शितल निवासमा नारा नै लागेको थियो ।

बालेनको समर्थनमा नारा लाग्नु पछिल्ला केही वर्ष यता नौलो दृष्य होइन । गैरदलीय उम्मेदवार बनेर ०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि बालेनप्रतिको आकर्षण सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा बढ्दो छ ।

र्‍यापर पृष्ठभूमिका इन्जिनियर बालेनको लोकप्रियता मतमा परिवर्तन भएकैले उनी प्रधानमन्त्री हुने आधार तयार भएको हो । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा होमिएको रास्वपाले दुई तिहाइ (२७५ मध्ये १८२ सिट) नजिकको जित निकाल्यो ।

राजनीति विश्लेषक चन्द्रकिशोर रास्वपाको जित र बालेनको सत्तारोहणलाई नेपाली राजनीतिमै आएको सिफ्ट मान्छन् । ‘विरासत र हिरासतको मान्यता बोकेको राजनीतिको कायान्तर भयो । नयाँ सोंच, मान्यता र स्वर सहित नयाँ चेहरा आइपुग्यो,’ उनी भन्छन्, ‘पुराना दलहरुमा भए अहिले सरकारको नेतृत्व गरेका, मन्त्री भएका र सांसद बनेकाहरुलाई वडाध्यक्षको टिकट पाउन समेत लायक मानिँदैन थियो ।’

नयाँ सरकार गठन हुँदा देखिएका तथ्यहरुले पनि विश्लेषक चन्द्रकिशोरले भनेजस्तै पुराना दलहरूमा भए वडाध्यक्षको टिकट नपाउने उमेर समूहका नेताहरूको काँधमा देशको नेतृत्व गएको प्रष्ट छ ।

३६ वर्षका बालेन प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषद्‌मा १० जना मन्त्री त ४० वर्ष मुनिका छन् । गृहमन्त्री सुधन गुरूङ ३८ वर्षका छन् भने २९ वर्षका सस्मित पोखरेल शिक्षा मन्त्री सहित सरकारको प्रवक्ता बनेका छन् ।

‘जुन उमेर समूहका युवाहरुले देशको नेतृत्व लिन पुगेका छन्, यो ठूलो फड्को हो,’ विश्लेषक चन्द्रकिशोर भन्छन् ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहाल पनि युवाहरुको काँधमा देशको नेतृत्व जानुलाई सकारात्मक मान्छन् । ‘७० वर्ष कटेकाहरुले भन्दा युवाहरुले बाँच्नुपर्ने उमेर धेरै हुन्छ, त्यसैले उनीहरुले देशको अवस्था राम्रो बनाउन लाग्लान्,’ दाहाल भन्छन्, ‘यो परिवर्तनलाई सकारात्मक रुपमै लिनुपर्छ ।’

राणाशासनका बेला जन्मिएका, पञ्चायत र राजतन्त्रविरुद्ध लडेका र पाँचौपटक प्रधानमन्त्री भइसकेका ७९ वर्षीय शेरबहादुर देउवाकै पुस्ताले शासन गरिरहेको सत्ता बालेनको नेतृत्वमा पुग्दा अनेक कीर्तिमान बनेका छन् ।

बाहुबलबाट स्थापित जंगबहादुर राणा, राजाको नियुक्ति पाएका तुलसी गिरी र सूर्यबहादुर थापालाई छोड्ने हो भने बालेनले युवा प्रधानमन्त्रीको कीर्तिमान बनाएका छन् ।

गत २१ फागुनको निर्वाचनकै क्रममा बोलन र रास्वपाले थुप्रै संसदीय रेकर्ड तोडेका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निर्वाचन क्षेत्र झापा–५ मा गएर बालेनले झण्डै ५० हजारको मतान्तरले पराजित गरेका थिए ।

संसदीय इतिहासमै धेरै मत (६८ हजार ३४८) पाएर बालेन सांसद निर्वाचित हुँदा ओली १८ हजार ७३४ मतमै सीमित भएका थिए । ओलीविरुद्ध बालेन भिड्दा रास्वपाले संसदीय इतिहासकै सर्वाधिक मत पाएको थियो ।

प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट (७५.७५ प्रतिशत) जितेको रास्वपाले समानुपातिक तर्फ ५१ लाख ८३ हजार ४९३ (४७.८४ प्रतिशत) पायो । २०१५ सालमा कांग्रेस र २०६४ सालमा माओवादीले पाएको भन्दा यो मत धेरै थियो । मेयरका रुपमा पाएको आकर्षणलाई बालेनले कायमै राख्दा यो तहको लोकप्रिय मत आएको बुझ्न गाह्रो पर्दैन ।

बरिष्ठ पत्रकार दाहाल, मतदाताले बालेनलाई चिन्दै नचिनी देशको नेतृत्व सुम्पिएको बताउँछन् । ‘बालेन कस्ता पात्र हुन् ? र उनको शक्तिको स्रोत के हो ? भन्ने बुझिएको छैन,’ दाहाल भन्छन्, ‘विवेकले होइन, पुरानाहरुले नगरेको भन्ने इमोसनका आधारमा मत दिएकाहरुलाई अब बालेनले कामबाट चिनाउनुपर्नेछ ।’

विश्लेषक चन्द्रकिशोर पनि प्रधानमन्त्री बालेनले आफ्नो कामबाटै परिवर्तनको अनुभूति दिलाउनुपर्ने बताउँछन् । ‘सार्वभौम प्रतिनिधि सभामा अनाहक आक्रमण गरेर, विघटन गरेर फेरि प्रतिनिधिसभामै आइपुगेका छन्, बालेन,’ उनी भन्छन्, ‘अब उनले सार्वभौम प्रतिनिधि सभाको स्रोत र शक्तिकै पक्षमा रहेको कुरा व्यवहारबाट देखाउनुपर्छ ।’

तर, गैरसंवैधानिक कदम चाल्नतिर लागे भने त्यो लोकतान्त्रिक कूको यात्रा हुने उनी बताउँछन् । ‘लोकतान्त्रिक प्रक्रियाबाटै लोकतन्त्रलाई कमजोर पार्ने, अपहरण गर्ने गरिन्छ,’ चन्द्रकिशोर भन्छन्, ‘बालेन त्यो बाटोमा कीमार्थ लाग्नु हुँदैन ।’

नाति पुस्ताको नेतृत्व

मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकर्ड राखेका बालेन २०४६ सालको बहुदल पुनर्स्थापनापछि जन्मिएका पुस्ता हुन् । यसर्थ बहुदलपछिको पुस्ताको काँधमा देशको नेतृत्व आएको अर्थमा पनि बुझ्न सकिन्छ ।

पछिल्लो ८ दशकको राजनीतिक प्रवृत्ति हेर्दा पनि हरेक परिवर्तनपछि देशको नेतृत्व नयाँ पुस्ता र पंक्तिमा गएको छ । २००७ सालमा राणाशासनको अन्त्य भएपछि मोहन शमशेर जबराकै नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । जबरापछि मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डा.केआई सिंह, सुवर्ण शमशेर जबरा र विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भए । यी नेताहरू राणाशासन ढाल्ने आन्दोलनमा थिए ।

२०१५ सालको पहिलो संसदीय निर्वाचनबाट प्रधानमन्त्री बनेका बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्त गर्दै राजा महेन्द्रले व्यवस्था परिवर्तन गरेपछि पञ्चहरु सत्तामा आए ।

पञ्चायतकालमा तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द र मरिचमानसिंह श्रेष्ठले सरकारको नेतृत्व गरे । मरिचमान बाहेकले दोहोरिएर प्रधानमन्त्री चलाए ।

२०४६ सालमा बहुदल स्थापना भएपछि पञ्चायतविरुद्ध संघर्ष गरेका नेताहरू प्रधानमन्त्री भए । २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यो सरकारले २०४८ सालमा गराएको निर्वाचनबाट एमालेका महासचिव मदन भण्डारी शक्तिशाली नेताका रुपमा उदाए । अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईलाई मदनले हराएकाले कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारी प्रधानमन्त्री भए । अधिकारी नेतृत्वको सरकार ९ महिनामै ढल्यो, र कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए । हङ पार्लियमेन्ट भएकाले देउवापछि पञ्चायतकै नेताहरु लोकेन्द्रबहादुर र सूर्यबहादुर प्रधानमन्त्री भए । २०५६ सालको निर्वाचनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा दोहोरिँदै प्रधानमन्त्री भए ।

२०६१ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि दोस्रो जनआन्दोलन उत्कर्षमा पुग्यो । ०६२/०६३ सालको उक्त जनआन्दोलनकै जगमा गणतन्त्र स्थापना भयो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि मुलुकले प्रधानमन्त्रीमा नयाँ अनुहार पाए ।

३ असोज ०७२ सालमा संविधान जारी हुँदाको अवधिसम्म पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी शर्मा ओली एकपछि अर्को सरकारको प्रधानमन्त्री भए ।

संविधान जारी भएपछि भने प्रधानमन्त्री पदमा प्रचण्ड, ओली र देउवाबीच एकप्रकारले ‘म्युजिकल चेयर’ चल्न थाल्यो । देउवाले पाँचौंपटक, ओलीले चौथो र प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बनेको रेकर्ड बनाए । यदि जेनजी आन्दोलनबाट राजनीतिक परिवर्तन भएको थिएन भने देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने सूचीमा थिए ।

०८४ सालमा निर्वाचन गरेर ओली पाँचौपटक र प्रचण्ड चौथोपटक प्रधानमन्त्री बन्ने योजनामा थिए । ओलीले अझै २५ वर्ष शासन गर्ने पटकपटक सार्वजनिक घोषणा गरिरहेका थिए । तर भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग सहित भएको जेनजी आन्दोलनले राजनीतिक कोर्स नै बदलियो ।

राजनीतिक बिरासत बोकेका पार्टी र नेताहरू किनारामा धकेलिएर रास्वपाले अत्याधिक सिट पाउँदा बालेन प्रधानमन्त्री भएका छन् । ‘हाम्रो पुस्ताले चिन्दै नचिनेका युवाहरुले सरकार बनाए । यो सकारात्मक कुरा हो,’ वरिष्ठ पत्रकार दाहाल भन्छन्, ‘तर २४ भदौको घटनामा हर्ताकर्ता देखिएकाहरुलाई पनि बालेनको टीममा राखेको देखियो । यसले शंका गर्नुपर्ने देखियो, ढुक्क हुन सकिएन ।’

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार रहिसकेका वरिष्ठ पत्रकार दाहाल, नयाँ सरकारलाई भू-राजनीतिमा विशेष ध्यान दिन सुझाव दिन्छन् । ‘यो संवेदनशील विषय हो । एकपटक चुकियो भने युगयुगसम्म मुलुकले त्यसको मूल्य चुकाइरहनुपर्छ,’ उनी भन्छन्, ‘युवा पुस्ताले हाँकेको सरकार कसैको गोटी हुनेगरी चल्नु हुँदैन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?