काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।
अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनको सुझावको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज पक्राउ परेका छन् ।
अध्यक्ष ओली पक्राउ परेलगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो ।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले गौरी बहादुर कार्की नेतृत्वको आयोगले गरेको छानबिन निष्पक्ष नरहेको निष्कर्ष पार्टीले निकालेको बताए ।
यसआधारमा एमालेले छुट्टै आयोग गठन गर्न माग गरेको हो । ‘उक्त घटनाको निष्पक्ष र न्यायीक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछ,’ महासचिव पोखरेलले पार्टीको निर्णयबारे जानकारी दिए ।
नेकपा एमालेले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।
प्रतिक्रिया 4