+
+
Shares

वाचापत्रको जगमा सरकारको शासकीय सुधार कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा उल्लेख गरेका एक सय कामको आधारलाई टेकेर नयाँ सरकारले शासकीय सुधारका एक सय काम सार्वजनिक गरेको हो ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ चैत १५ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि ल्याएको वाचापत्रको आधारमा नयाँ सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ।
  • सरकारले दलित तथा पिछडिएका समुदायमाथि भएका अन्यायप्रति औपचारिक क्षमायाचना गर्ने र १५ दिनभित्र सुधारमुखी कार्यक्रम घोषणा गर्ने भएको छ।
  • सरकारले भ्रष्टाचार विरोधी महाअभियान सञ्चालन गर्दै सम्पत्ति छानबिन दुई चरणमा गर्ने र १५ दिनभित्र अधिकारसम्पन्न समिति गठन गर्ने जनाएको छ।

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि ल्याएको वाचापत्रको आधारमा टेकेर नयाँ सरकारले शासकीय सुधारका एक सय कार्यसूची ल्याएको छ । रुपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरु वाचापत्रमा समेटेको रास्वपाले त्यसकै आधारमा शासकीय सुधारको कार्यसूची शनिबार ल्याएको छ ।

वाचापत्रमा ‘रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु’ को पहिलो नम्बरमा नै दलितको विषय राखिएको छ ।

नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमै दलित तथा पिछडिएका समुदायहरु माथि भएका जातिय, विभेद, अन्याय र बहिष्करणप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रुपमा क्षमनायाचना गर्ने उल्लेख थियो ।

वाचापत्रमा उल्लेखित उक्त विषयलाई पाँचौ नम्बरमा समावेश गरिएको छ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेदको सरकारले औपचारिक स्वीकार गर्ने भएको छ ।

उक्त समुदायका लागि सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषणा गरिने भएको छ ।

रास्वपाले वाचापत्रमा भ्रष्टचार विरुद्ध महाअभियान सुरु गर्ने प्रतिवद्दता गरेको थियो ।

नीति, अचारण र संस्थागत सुधारका लागि ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्ने घोषणा गरे अनुरुप सम्पत्ति छानबिन दुई चरणमा गर्ने कार्यसूची सरकारले सार्वजनिक गरेको छ ।

सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरुमा २०४६ साल देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन गर्ने वाचापत्रमा लेखिएको थियो ।

वाचापत्र कार्यान्वयन गर्ने गरी २०६२ सालदेखि पछि हालसम्म पहिलो चरण र २०४६ देखि २०६२ साल सम्मको दोस्रो चरणमा छानविन गर्ने गरी शासकीय सुधार कार्यसूचीमा बनाइएको छ ।

१५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने सरकारले घोषणा गरेको छ । उक्त समिति  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने छ ।

समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गरिने सरकारले जानकारी गराएको छ ।

उक्त समितिको कार्यादेशमा आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार प्रदान गरिने भएको छ । सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन उक्त समितिले गर्ने छ ।

रास्वपाले चुनावी वाचापत्रमा सरकार गठन भएको सयदिन भित्रमा सहकारीका साना वचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने प्रतिवद्दता गरेको थियो ।

बचतकर्ताको रकम सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने वाचा चुनावी घोषणापत्रमा रास्वपाले लेखेको थियो । कुनै सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गर्न तयार हुने र फिर्ताको योजना सहित स्रोत सुनिश्चित गरेको अवस्थामा ‘मिलापत्र’को कानुनी बाटो रास्वपाले खुला वाचापत्र मार्फत गरेको थियो ।

शनिबार सार्वजनिक गरिएको सरकारका कार्यका सूचीमा सहकारीका साना वचतकर्ताको रकम फिर्ता सय दिनबाट सुरु गर्ने जानकारी गराइएको छ ।

वाचापत्रमा जनतासँग गरिएको प्रतिवद्दता अनुसार जेनजी आन्दोलनको जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन सरकारले सुरु गरिसकेको छ ।

शुक्रबार सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद्को बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

वाचापत्रमा भनिएको थियो,‘जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानविन गर्न गठित न्यायीक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौं ।’

कार्की आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार गिरफ्तार गरिएको छ ।

रास्वपाले वाचापत्रमा मन्त्रालयको संख्या घटाएर १८ मा झार्ने उल्लेख गरेको छ । वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदा १५ सदस्यीय मन्त्री परिषद् छ  । वाचापत्रमा १८ मन्त्रालय कायम गर्ने घोषणा भए पनि  नयाँ सरकारले संघीय मन्त्रालय १७ कायम गर्ने भएको छ । मन्त्रालयको संख्या घटाउने निर्णय एक महिना भित्र गरिने सरकारको कार्यसूचीमा छ ।

मन्त्रालयहरूको सङ्ख्या आवश्यकता भन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरिने प्रष्ट पारिएको छ ।  मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गरिने भएको छ ।

सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने उद्देश्यले संविधान संशोधनको प्रस्तावहरुको बहसपत्र तयार गर्ने रास्वपाको वाचा थियो । उक्त वाचा कार्यान्वयन गर्ने गरी सरकारले कार्यसूची बनाएको छ ।

देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने सरकारले जनाएको छ ।

‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र गठन गर्ने भएको छ ।

संविधान संशोधनको बहसको प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने सरकारले जानकारी गराएको छ ।

वाचापत्रमा निजामति कर्मचारीमा दलगत ट्रेड युनियन व्यवस्था खारेज गर्ने घोषणा गरिए अनुसार सरकारको शासकीय सुधारको कार्यसूची सार्वजनिक भएको छ । सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने सरकारको तयारी छ ।

निजामती कर्मचारी, शिक्षक, प्राध्यापक लगायतले दलगत आवद्दता त्याग्नुपर्ने नीति सरकारले बनाएको छ ।

सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने भएको छ । यसका लागि निजामति विधेयक ४५ दिन भित्रमा तर्जुमा गरिने भएको छ ।

विद्यालय र विश्वविद्यालयहरुमा दलगत विद्यार्थी संगठनलाई सरकारले बन्देज गर्ने भएको छ ।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप हटाउने उद्देश्यले दुई महिनाबाट विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउने सरकारले कार्यसूची बनाएको छ । विद्यार्थी संगठनका संरचना हटाएपछि तीन महिना भित्र त्यसको विकल्पमा छुट्टै संयन्त्र ‘विद्यार्थी काउन्सिला वा भोइस अफ स्टुडेन्ट’ गठन गरिने भएको छ ।

वाचापत्रमा २०८७ सालसम्म सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने र कर्मचारी भेट्नुपर्ने बाध्यता अन्त्य गरी फेसलेस र कागजविहिन प्रशासनको ढाँचा तयार गरिने उल्लेख थियो ।

सरकारी कार्यालयमा हुने परम्परागत र झन्झटिलो पद्दतिलाई अत्त्य गर्ने रास्वपाको प्रतिवद्दता थियो । पार्टीको वाचापत्र अनुसार सरकारी काम कारबाही छिटो छरितो र प्रविधिमैत्री बनाउने सरकारले कार्यसूची ल्याएको छ ।

नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने, प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने तथा समय र लागत दुवै बढ्ने अवस्थाको अन्त्य गर्ने सरकारले घोषणा गरको छ । नागरिकले प्राप्त गर्ने सरकारी सेवाका लागि प्रमुख सहरमा नागरिक सेवा केन्द्र सञ्चालन गरिने भएको छ ।  त्यस्ता केन्द्रहरूलाई दैनिक कम्तीमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने सरकारी तयारी छ ।

सभापति रवि लामिछानेले चितवनमा सुरु गरेको व्लू बस सेवालाई अरु प्रदेशमा पनि विस्तार गरिने भएको छ ।

महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने सरकारले कार्यसूची बनाएको छ ।  पहिलो चरणमा १०० दिन भित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको तयारी छ । वाचापत्रमा काठमाडौं, पोखरा र विराटनगर जस्ता ठूला सहरमा अत्याधुनिक व्लू बस सञ्चालन गर्ने उल्लेख थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचारमा मतदातासँग गरेको प्रतिवद्दता अनुसार भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेका लागि सरकारले काम गर्ने भएको छ ।

देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण दुई महिनाभित्र गरिने भएको छ ।

स्थानीय तहसँगको समन्वयमा एक हजार दिन भित्रमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड (कट–अफ मिति, आय स्तर, अन्य सम्पत्ति स्वामित्व) लागू गर्ने सरकारले घोषणा गरेको छ ।

सार्वजनिक संस्थानहरुलाई विषयमा बोलेपनि सरकारले यस बारेमा कार्यसूची भने बनाएको छैन । सार्वजनिक संस्थानहरुका विषयमा वाचापत्रमा फरक फरक प्रकृतिमा वर्गीकरण गर्ने उल्लेख थियो ।

सार्वजनिक संस्थान सुधारका लागि केहीलाई गाभ्ने, नीजि–सार्वजनिक मोडलमा लाने, रणनीतिक साझेदार भित्र्याउने, विकेन्द्रित गर्ने, केहीको अचल सम्पत्ति स्वामित्व सरकारको नाममा ल्याउने विकल्पमा अघि बढाउने वाचा थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?