News Summary
Generated by OK AI. Editorially reviewed.- डाक्टर मञ्जु मिश्रले २४ माघ २०५७ मा नेपालमा पत्रकारितामा स्नातकोत्तर तह सञ्चालन गर्ने कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन दर्ता गराइन्।
- मञ्जु मिश्रले पत्रकारितामा स्नातकोत्तर तह सञ्चालन गर्न खोज्दा आरआर क्याम्पसमा प्राध्यापक बन्न नपाउनु उनको टर्निङ प्वाइन्ट भएको बताइन्।
- उनले १५ पुस २०६१ मा पृथ्वीनारायण आमसञ्चार विश्वविद्यालय स्थापना गर्न शिक्षा मन्त्रालयमा निवेदन दर्ता गरिन् तर १७ वर्षसम्म अनुमति पाइनन्।
‘यो पुस्तक मेरो जीवनको भोगाइ र अनुभवको इमानदार दस्तावेज हो। आफ्नो जीवन र कलेजबारे लेख्न बसिसकेपछि जीवनका कटु सत्यलाई लुकाउनु बेइमानी हुनेछ भन्ने मलाई लाग्छ। सत्य सधैं मूल्यवान् हुन्छ र त्यसको सबैले सम्मान गर्नुपर्छ, चाहे त्यो जतिसुकै कटु किन नहोस्। त्यसैले यसमा मैले आफ्नो पेशागत, सामाजिक एवं व्यक्तिगत जीवनमा भोग्नुपरेका तीतामीठा घटना, कुचक्र, षड्यन्त्र तथा ममाथि घरपरिवार र समाजको हेराइलाई जस्ताको तस्तै ऐना जस्तै प्रस्तुत गर्ने प्रयास गरेकी छु।
म के स्पष्ट पार्न चाहन्छु भने यस पुस्तकमा कसैलाई लाञ्छना लगाउने वा झुट्टा आरोप लगाउने मेरो उद्देश्य होइन, मेरो उद्देश्य त आफूले भोगेको सत्य इमानदारीसाथ अभिलेखबद्ध गरेर इतिहासको जिम्मा लगाउनु मात्र हो। यद्यपि हतार–हतारकै उपज बनेर यो कृति यस रूपमा प्रकाशित भएको छ। मैले कति कुरा समेट्न सकें, कति छुटे, पुस्तक चाहे जस्तो रूपमा तयार पार्न अवश्य सकिएन। सबै कुरा विस्तारपूर्वक समेट्न थालिएको भए पुस्तक यसभन्दा निकै मोटो हुनेथियो।’
हालसालै प्रकाशित आत्मकथा, ‘हिम्मत: पत्रकारिता शिक्षामा कीर्तिमानी पाइला’ मा डाक्टर मञ्जु मिश्र लेख्छिन्।
मञ्जु मिश्र त्यतिबेला, सोभियत सङ्घबाट पत्रकारितामा स्नातकोत्तर साथै विद्यावारिधि समेत पूरा गरी नेपाल फर्केकी थिइन्, जुन बेला उक्त विषयमा स्नातकोत्तर गर्ने महिला विरलै पाइन्थे। उनले स्नातकोत्तर तह पढ्दा हरेक सेमेस्टरमा उत्कृष्ट नम्बर ल्याएर गोल्ड मेडल समेत पाउन सक्षम भएकी थिइन्।
तर उही मञ्जुले पढाइ सकेर फर्किएपछि २०५७ सालतिर आरआर क्याम्पसमा पत्रकारिता पढाउने प्राध्यापकको ठाउँ खाली छ भन्ने थाहा पाएर केही समय पत्रकारिता प्राध्यापनको अनुभव लिनका लागि रत्नराज्य कलेजका पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाललाई भेट्न गएकी रहिछन्। उनले खनाललाई नेपाल प्रेस इन्स्टिच्युटको अफिसमा भेटेर आफ्नो बायोडाटा दिइछन्। तर खनालले उनको बायोडाटा हेर्दै नहेरी घर्रा (ड्रयर) मा थन्क्याएछन्।
मञ्जु ‘हिम्मत’ मा लेख्छिन्, ‘उनी पत्रकारितामा स्नातकोत्तर गरेका व्यक्ति थिएनन्, जनप्रशासन (पब्लिक एडमिनिस्ट्रेसन) मा एमए गरेर स्नातक तहलाई पत्रकारिता पढाइरहेका थिए। यो समयमा आरआर क्याम्पसमा पत्रकारितामा स्नातक तहसम्म मात्र पढाइ हुन्थ्यो। शैक्षिक योग्यता हुँदाहुँदै पनि आईएमा समेत पढाउन नदिएको घटनाले मेरो मनमा ठूलो इख जन्मायो। आरआर क्याम्पसमा पढाउने मौका दिइएको भए शायद त्यहीं जीवनभर अलमलिएर मेरो जीवनको लक्ष्य यसै बिलाएर जाने थियो। यस घटनालाई इखमा बदली नेपालमा स्नातकोत्तर तहमा पत्रकारिता शिक्षा दिने कलेज खोलेर मलाई अगाडि बढ्न मद्दत गर्यो। रत्नराज्य कलेजमा प्राध्यापक भएर काम गर्ने अवसर नपाउनु टर्निङ प्वाइन्ट हो।’ (पेज ४८)
मञ्जुको दृढ निश्चय र आफ्नो उद्देश्य प्राप्त गरेरै छाड्ने अठोटले नेपालमा ‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन’ को स्थापना भयो। ‘हिम्मत’ ले त्यही कलेज खोल्न गरेको सङ्घर्षलाई शब्दमा वर्णन गरेको छ।
‘हिम्मत’ पढेपछि थाहा हुन्छ, नेपालमा महिला भएर काम गर्न कति गाह्रो छ। मञ्जुसँग योजना थियो, हिम्मत थियो; तर साथ दिने हातहरू न्यून थिए। त्यसको प्रतिफल उनले निरन्तर सङ्घर्ष मात्रै गर्नुपरेन, उल्टै अग्रज पत्रकारहरूबाट ‘बौलाही’ को आरोप समेत खेप्नुपर्यो।
यस सन्दर्भमा मिश्र लेख्छिन्, ‘मेरो सपना, विपना सबै कलेज स्थापना गर्नमा केन्द्रित थियो। कुनै लक्ष्य हासिल गर्न पागल जसरी नै लाग्नुपर्छ भन्ने कुरामा म विश्वस्त थिएँ। सबेरै हिंडेकी मान्छे दिनभरिको कामले लखतरान भएर रात परेपछि तीनचुले (डेरा) पुग्दथें। कलेज खोल्ने मेरो दृढ इच्छाशक्तिको मूल्य आमाको मायाबाट वञ्चित भएर छोराहरूले चुकाइरहेका थिए, जुन कुरा आज सम्झँदा पछुतो लाग्छ। विभिन्न संस्था र व्यक्तिसँग सम्पर्कका लागि म प्रतिदिन चार–पाँच घण्टा भौंतारिइरहेकी हुन्थें, कारण मसँग आफ्नो सवारीसाधन त के, बस चढ्ने पैसा पनि हुँदैनथ्यो।
खानाको टुङ्गो नभएकी, झ्वाट्ट हेर्दा गति छाडेकी जस्ती देखिने र कलेज स्थापनाको बाहेक अरू कुरै नगर्ने मलाई देख्दा धेरै जनालाई अनौठो लाग्थ्यो। मेरो यस्तै अवस्था देखेर नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक गोकुल पोखरेलले आफ्ना साथीभाइसँग ‘यो आइमाई बौलाई कि क्या हो, सधैं एउटा झोला बोकेर कलेज खोल्छु भन्दै हिंडेकी देख्छु’ समेत भन्नुभएछ, जुन कुरा पछि भारतदत्तबाट (नेपाल प्रेस इन्स्टिच्युटका संस्थापकमध्येका एक पत्रकार) थाहा पाएँ।’ (पेज ५०)
जुन बेला मञ्जु मिश्र ‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन’ (छोटकरीमा, सीजेएमसी) सञ्चालन गर्न दौडधुप गरिरहेकी थिइन्, त्यतिबेला नेपालमा पत्रकारिता पढ्नका लागि १० महिने कोर्स सञ्चालन गरिरहेको नेपाल प्रेस इन्स्टिच्युटको एकछत्र हालीमुहाली थियो।
पत्रकारिता प्रशिक्षणका लागि दातादेखि सरकारसम्मको कुनै पनि कार्यमा नेपाल प्रेस इन्स्टिच्युट संलग्न नभई कुनै कार्य नै सम्भव थिएन भन्दा पनि हुन्थ्यो। त्यस्तो समयमा मञ्जुले पत्रकारिता विषयमा स्नातकोत्तर पढाउने छुट्टै कलेज दर्ता गर्न खोज्नु बिरालोको घाँटीमा मुसाले घन्टी झुन्ड्याउने कार्यजत्तिकै कठिन थियो तापनि उनले त्यो अठोट पूरा गरेरै छाडिन्। उनले २४ माघ २०५७ मा सीजेएमसी दर्ता गराइन्।
त्यतिबेलासम्म त्रिभुवन विश्वविद्यालयको रत्नराज्य कलेजमा पत्रकारिता विषयमा स्नातक तहसम्म मात्र पढाइ हुन्थ्यो। त्यसबारेमा उनी लेख्छिन्, ‘ठूलो हिम्मतका साथ २४ माघ २०५७ मा सारा बाधा-विरोध र प्रतिकूलतालाई चिर्दै सीजेएमसी दर्ता गरेर जब मैले पत्रकारितामा स्नातकोत्तर सञ्चालन गर्ने निर्णय लिएँ, यसले नेपालको पत्रकारिता शिक्षामा नौलो जुर्मुराहट र बहस शुरु गर्यो। स्नातक तह सञ्चालन गरेर बसिरहेको त्रिभुवन विश्वविद्यालयको आरआर कलेज पनि २२ वर्षपछि एक्कासि जुर्मुरायो। केही वर्ष बाढी नै आए जसरी पत्रकारिताको स्नातक र स्नातकोत्तर तहमा अनेकौं कलेजहरू सञ्चालनमा आए। विभिन्न कलेजहरूले विद्यार्थी आकर्षण गर्न एक विषय मात्र भए पनि पत्रकारिता समावेश गरेर विद्यार्थी भर्ना लिन शुरु गरे।
विद्यार्थीमा पत्रकारिता विषय पढ्ने लहर नै चल्यो। सीजेएमसी सञ्चालन भएको झन्डै दुई वर्षपछि काठमाडौं विश्वविद्यालयले स्नातक तहमा पत्रकारिता शुरु गर्यो भने त्रिभुवन विश्वविद्यालयले पनि २०५९ साल असार-साउनतिर आरआर क्याम्पसमा स्नातकोत्तर तहमा पत्रकारिता शुरु गर्यो।’ हिम्मत, लेखकीय (पेज vi)
‘हिम्मत’ कुनै साहित्यिक पुस्तक होइन; यो जीवनको भोगाइ र अनुभवको दस्तावेज हो। त्यसैले त्यहाँ लेखिएका कुराहरू तीतो, टर्रो र कतिपय व्यक्तिहरूलाई चित्त नबुझ्दो पनि लाग्न सक्ला! ती सबै कुराहरू जान्न र बुझ्न पहिले त पुस्तक पढ्नैपर्छ र चित्त नबुझेका कुराहरूबारे आफ्ना तर्कहरू सार्वजनिक रूपमै राख्न सकिन्छ। किनकि, पुस्तक जब पाठकको हातमा पुग्छ, तब पुस्तकलाई सार्वजनिक सम्पत्ति मानिन्छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट ९ पुस २०५८ को निर्णय अनुसार सम्बन्धन प्राप्त गरेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन अहिले २४ वर्षको लक्का जवान भइसकेको छ। त्यहाँ पढेका विद्यार्थी आ-आफ्नो क्षेत्रमा सफल भूमिका निर्वाह गर्दैछन्। कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिन पनि कम्ता दुःख गर्नुपरेको थिएन।
यसबारेमा मञ्जु लेख्छिन्, ‘पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तोरणबहादुर कार्कीले अर्को हप्ता मलाई सामूहिक मिटिङमा बोलाउनुभयो। कार्कीलगायत सबै पदाधिकारीलाई दबाब परोस् भन्ने मेरो भित्री आशय थियो। विश्वविद्यालयको बुद्धनगरस्थित कार्यालयमा उपकुलपतिका साथै रजिस्ट्रार, डीन, परीक्षा नियन्त्रक लगायत सबैलाई सामूहिक मिटिङमा बोलाउनुभयो। मिटिङमा मैले उहाँहरूलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले पनि सञ्चालन गर्न नसकेको पत्रकारितामा स्नातकोत्तर तह सञ्चालन गर्न सके पूर्वाञ्चल विश्वविद्यालयले इतिहास रच्नेछ र यहाँहरूको पनि नाम रहनेछ भनी सम्झाएँ। पत्रकारितामा स्नातकोत्तर तह कतै सञ्चालन नभएकाले पूर्वाञ्चल विश्वविद्यालयले जति पनि विद्यार्थी पाउन सक्छ भनेर विश्वास दिलाउन खोजें।
उहाँहरूको आवाज थियो, ‘कलेज सञ्चालन गर्छु त भन्नुहुन्छ तर तपाईंसँग न पैसा छ न त कुनै पूर्वाधार। हामीले तपाईंलाई कसरी स्वीकृति दिने? तपाईं एक्लै हुनुहुन्छ; कलेज चलाउन सक्नुभएन भने विद्यार्थी अलपत्र पर्छन्।’
उहाँहरूले थप्नुभयो, ‘तपाईंले नै पत्रकारिता विषयमा स्नातकोत्तर सञ्चालन गर्ने अग्रसरता लिनुभएकोले तपाईंको कलेजलाई सम्बन्धन त दिउँला, तर तपाईंसँगै केसीसीलाई पनि दिनु हाम्रो बाध्यता भएको छ। तपाईंले सुरु गर्ने भनेपछि त्यसले पनि पत्रकारिता स्नातकोत्तर सञ्चालन गर्न हामीलाई दबाब दिइरहेको छ। यदि तपाईंले सञ्चालन गर्न सक्नुभएन भने विद्यार्थीलाई केसीसीमा लैजान सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ।’ (पेज ५८)
उक्त मिटिङमा मञ्जुले दिएको जवाफ झन् बढी मार्मिक लाग्छ: उनले भनिछन्, ‘मैले अलि भावुक भएर हिम्मतसाथ उहाँहरूसमक्ष आफ्नो अडान राखें, मलाई केही भयो वा कलेज चलाउन नसकेर जेल नै परें भने पनि मेरा ७ र ८ वर्षका छोराहरू मलाई जेलमा भेट्न आउन सक्दैनन्। उनीहरूको हजुरबुबा मनुजबाबु मिश्रले मामाघर जाने ढोका बन्द गरिदिनुभएको छ। छोराका बुबा दुबईमै हुनुहुन्छ। घरपरिवारले पटक्कै वास्ता गर्दैनन्। यसैले मैले उनीहरूको व्यवस्थापन एउटा अनाथालयमा गरेकी छु। म वार कि पार तर कलेज खोलेरै छाड्छु र सञ्चालन गरेर सफल देखाउँछु, यहाँहरू ढुक्क हुनुहोस्।’
स्मरणीय छ, डाक्टर मञ्जु मिश्रका पिता चर्चित कलाकार मनुजबाबु मिश्र हुनुहुन्छ; उहाँले छोरीले आफ्नो रोजाइ अनुसार विवाह गरेको कारणले छोरीलाई माइतीको ढोका बन्द गरिदिनुभएको थियो।
मञ्जुले पत्रकारितामा स्नातकोत्तर गर्ने पहिलो कलेज मात्रै खोलेकी होइनन्; नेपालमा कहिल्यै नगरिएको अफ्रिकन फिल्म फेस्टिभलको सुरुआत पनि गरिन्। उनको आफ्नो बाल्यकालको एक अफ्रिकन महिलासँग गाँसिएको स्मृतिले उनलाई नेपालमा ‘अफ्रिकीको आँखाबाट अफ्रिका’ देखाउने धुन सवार भयो; जसको फलस्वरूप सन् २०११ को मे २५ तारिखका दिन नेपालमा पहिलो पटक ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को आयोजना गरियो।
त्यो दिनको तनाव पनि छुट्टै रहेछ; माओवादीले नेपाल बन्द गरेको दिन रहेछ; फेरि उद्घाटन गर्ने मन्त्री, तत्कालीन सञ्चारमन्त्री अग्नि सापकोटा हुनुहुँदोरहेछ। मानिसहरू आउलान् कि नआउलान् भन्ने तनावकै बीच सफलताका साथ उद्घाटन मात्रै होइन, तीन दिनको महोत्सव भव्य भएछ।
त्यसरी शुरु भएको अफ्रिकन चलचित्र महोत्सव सन् २०११ देखि सन् २०२४ सम्ममा बाह्रौं संस्करण सम्पन्न भइसकेको छ। त्यो पनि सीजेएमसीकै छातामा भएको थियो।
मञ्जुको सोच र महत्त्वाकाङ्क्षा त्यतिमै सीमित रहेन; उनले १५ पुस २०६१ मा ‘पृथ्वीनारायण आमसञ्चार विश्वविद्यालय’ स्थापना गर्न शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराइन्। उनका अनुसार, उनले निवेदन दर्ता गर्दा शिक्षा मन्त्रालयमा जम्मा ६ वटा मात्र विश्वविद्यालय दर्ता भएका रहेछन्। उनले आफ्नो इच्छा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई पनि सुनाउन भ्याइछन्।
उनी लेख्छिन्, ‘२०६२ सालतिरको राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राजदरबारमा आयोजित भोजमा मलाई पनि बोलाइएको थियो। दरबारमा मैले राजासँग भेटेर आफ्नो कुरा राख्ने अवसर पाएँ। स्वयं राजालाई नै भनेपछि विश्वविद्यालयको स्वीकृति अवश्य पाइएला भन्ने आशाले मैले राजालाई बिन्ती चढाएँ, ‘सरकार, हाम्रो देशमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय छ, तर राष्ट्र एकीकरण गर्ने महान् पृथ्वीनारायण शाहको नाममा विश्वविद्यालय छैन। हाल देशमा बढ्दै गइरहेको पीत पत्रकारिताले राष्ट्रियता र प्रजातन्त्रलाई संस्थागत एवं सुदृढ गर्न सघाउ पुर्याउन सकिरहेको छैन। यसैले राष्ट्रप्रति समर्पित योग्य एवं देशभक्त पत्रकारहरूको उत्पादन गर्न पत्रकारिताको गुणात्मक र समयानुकूल शिक्षा आवश्यक देखेर कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन सञ्चालन गरिरहेकी छु। नेपालको पत्रकारिता शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लैजान कलेज अफ जर्नालिज्मलाई विश्वविद्यालयमा रूपान्तरित गर्ने तयारीमा लागिपरेकी छु। पृथ्वीनारायण आमसञ्चार विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरिबक्सियोस् सरकार!’
त्यसबेला राजाबाट मेरो कुरा सुनिबक्सियो मात्र, कुनै आश्वासन अथवा जवाफ प्राप्त भएन। त्यसपछिका दिनमा मैले राजालाई भेट्न पटक–पटक प्रयास गरे पनि पुनः भेट्न सकिनँ।’ (पेज १३८/३९)
त्यसपछिका दिनहरूमा उनी हरेक सरकार, हरेक प्रधानमन्त्रीहरूकहाँ फाइल लिएर भेट्न पुगेको पुग्यै गर्थिन्; आफ्नो सपना सुनाएको सुनायै गर्थिन्; तर उनले विश्वविद्यालयको स्थापनाका लागि गरेको १७ वर्षको दौडधुप अन्त्यमा हारमा बदलियो।
उनी आफ्नो नैराश्यता प्रकट गर्दै लेख्छिन्, ‘विश्वविद्यालय स्थापना गर्ने दौडानको क्रममा मैले काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मालाई धेरै पटक भेटें। उहाँले मलाई सधैं परिपक्व सल्लाह र सुझाव दिनुहुन्थ्यो। आफ्नो ठाउँबाट आफूले सकेको सबै सहयोग गर्न प्रतिबद्धता जनाउनुभएको थियो। उहाँलाई भेट्न म धेरैपटक उहाँको घर धुलिखेल पनि गएकी थिएँ। काठमाडौं विश्वविद्यालयका बारेमा कुरा हुँदा उहाँले आफ्ना तीतामीठा अनुभव मसँग बाँड्नुभएको थियो। नेपालको उच्च शिक्षाको इतिहासमा डा. सुरेशराज शर्माको नाम सधैं उच्च सम्मानका साथ सुनौलो अक्षरले लेखिनेछ। एउटा व्यक्तिको हिम्मत, अठोट, प्रतिबद्धता र नेतृत्वले शिक्षा क्षेत्रमा कति फरक र परिवर्तन आउन सक्छ भन्ने उदाहरण काठमाडौं विश्वविद्यालय नै हो।
जम्मा २२ जना विद्यार्थी भएको भ्याली क्याम्पसलाई कहिले चौरमा त कहिले अर्काको क्याम्पसमा कक्षा सञ्चालन गर्दै आफ्नो हिम्मत र अठोटको भरमा उहाँले काठमाडौं विश्वविद्यालयमा परिणत गर्नुभयो, जो आज अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने नेपालको सबैभन्दा राम्रो विश्वविद्यालय बनेको छ। यदि डा. सुरेशराज शर्मा सफल हुनुभयो भने डा. मञ्जु मिश्रले किन नसक्ने भन्ने प्रश्न मेरो मनमा बारम्बार आइरहन्थ्यो। शायद म महिला भएकै कारण मेरो जायज मागको सुनुवाइ नभएको हो। मैले शुरुको काठमाडौं विश्वविद्यालय सञ्चालनको बेलामा भन्दा बलियो पूर्वाधार निर्माण गरिसकेकी थिएँ। यति हो कि म राजनीतिक रूपमा कसैको झोले बन्न सकिनँ।’
माथि उल्लिखित विवरण पढ्दा, मञ्जु मिश्रलाई आर्थिक स्तर निकै बलियो भएर कलेज सञ्चालन गर्न उद्यत महिलाको नजरले हेर्न पनि सकिएला; तर कलेज खोल्ने सपना देख्दाका दिनहरूमा मञ्जुको जीवनस्तर उनकै शब्दमा, ‘बालाजुबाट डेरा सारी भुइँतलाको एउटा अँध्यारो कोठा भाडामा लिएर एउटा कुनामा स्टोभ, अर्को कुनामा पलङ, सानो स्टिलको दराज र भुइँमा एउटा सुकुल बिछ्याएर छोरा लिएर बसेको एक वर्ष भइसकेको थियो।’
त्यस्तो अवस्थामा पनि घर र माइती, दुवैतिरबाट सहयोग नपाउँदाको स्थितिमा समेत वर्षौंको सङ्घर्षले कलेज स्थापना गर्न सक्नु सानो हिम्मत पक्कै होइन।
महिला भएर समाजमा भोग्नुपर्ने समस्या, महिला भएकै कारणले शैक्षिक योग्यता समेत घर्रामा थन्क्याइदिने पुरुष–सत्तात्मक प्रवृत्ति, प्रेमविवाहपछिको उपेक्षा, जवान छोराको आत्महत्या इत्यादि कुराले पारेको असर जान्न किताब एकपटक पढ्नैपर्छ।
पुस्तकको सम्पादन अलि नपुगेको देखिन्छ। मूल्य १२०० राखिएको छ, यति तिरेर पढ्ने पाठक आजकल भेटिन गाह्रै हुन्छ तापनि छपाइको गुणस्तर राम्रो छ। ३२२ पेज रहेको पुस्तकमा १३६ पेज त कलेज स्थापना गर्ने प्रक्रियाका हरेक डकुमेन्ट सङ्कलन गरिएको छ। यस पुस्तकले कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको इतिहासलाई एकै ठाउँमा राखेर सजिलो बनाइदिएको छ।
प्रतिक्रिया 4