News Summary
Generated by OK AI. Editorially reviewed.- बाल शल्यक्रिया वयस्कको भन्दा फरक र संवेदनशील हुन्छ किनभने बच्चाको शरीर, अंग र रोगसँग लड्ने क्षमता भिन्न हुन्छ।
- बालबालिकामा इनगुइनल हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस लगायत जन्मजात समस्याका कारण शल्यक्रिया गरिन्छ।
- शल्यक्रिया पछि बच्चालाई भोलिपल्टदेखि हल्का खाना र हिँड्न दिइन्छ, तापक्रम र रगतको चाप निगरानी गरिन्छ।
बच्चा बिरामी पर्दा आमाबुबाको मनमा स्वाभाविक रूपमा डर र चिन्ता बढ्छ । यदि चिकित्सकले ‘बच्चालाई निको बनाउन शल्यक्रिया गर्नुपर्छ’ भनेमा धेरै अभिभावकको पहिलो प्रश्न हुन्छ, ‘सानो बच्चालाई शल्यक्रिया गर्दा खतरा त हुँदैन ?
यस्तो प्रश्न आउनु स्वभाविक पनि हो । बाल शल्यक्रिया वयस्कको शल्यक्रियाभन्दा एकदमै फरक, जटिल र संवेदनशील हुन्छ । उनीहरूको शरीर, अंग, रोगसँग लड्ने क्षमता र सहनसक्ने शक्ति सबै वयस्कबाट पूर्णरूपमा भिन्न हुन्छन् ।
बाल शल्यक्रिया किन संवेदनशील हुन्छ ?
बच्चामा पनि खासगरी नवजात शिशु र साना बच्चाहरू अझै शरीरले पूर्ण विकसित भइसकेका हुँदैनन् । उनीहरूको रगतको मात्रा कम हुन्छ, शरीरको तापक्रम सजिलै घटबढ हुन्छ र पानी–तरल पदार्थको सन्तुलन पनि अत्यन्त नाजुक हुन्छ।
शल्यक्रिया गर्दा सानो भुल वा गल्तीले पनि ठूलो समस्या नहोला भन्न सकिन्न । नवजात शिशु त आमाको पेटबाट बाहिर निस्केको केही समय मात्र भएको हुन्छ । नयाँ संसारमा घुलमिल हुन पनि उनीहरूलाई गाह्रो पर्छ । त्यसैले शल्यक्रियाको समयमा शरीरको तापक्रम, रगत र तरल पदार्थको मात्रा एकदमै सही तरिकाले मिलाउनुपर्छ ।
तर राम्रो पक्ष पनि छ । बच्चाहरूको घाउ निको हुने र रोगसँग लड्ने क्षमता वयस्कभन्दा धेरै बलियो हुन्छ । उनीहरू छिटो निको हुन्छन् । तर शरीरमा सञ्चित शक्ति (सहन सक्ने कुल क्षमता) निकै कम भएकाले सानो गल्तीले पनि ठूलो जोखिम हुन सक्छ ।
यही कारणले बाल शल्यक्रिया निकै संवेदनशील र चुनौतीपूर्ण मानिन्छ । बाल सर्जनले हरेक कदम अत्यधिक सावधानीका साथ चाल्नुपर्छ ।
कस्तो अवस्थामा बालबालिकाको शल्यक्रिया हुन्छ ?
बच्चाहरूमा धेरैजसो शल्यक्रिया जन्मजात समस्याका कारण हुन्छन् ।
– इनगुइनल हर्निया (नलीबाट आन्द्रा बाहिर निस्कने समस्या)
– हाइड्रोसिल (अण्डकोषमा पानी जम्मा हुने समस्या)
– एपेन्डिसाइटिस (आन्द्रा सुन्निने समस्या)
– अण्डकोष नझरेको समस्यामा
– जन्मजात आन्द्राको अवरोध
यी समस्या वयस्कमा भन्दा बच्चामा फरक तरिकाले हेरिन्छ र फरक तरिकाले शल्यक्रिया गरिन्छ ।
वयस्क र बच्चाको शल्यक्रियामा हुने फरक
शरीरको बनोट
बच्चाको अंगहरू साना, कोमल र अझै विकसित भइरहेका हुन्छन् । ठूला उपकरण प्रयोग गर्न मिल्दैन ।
उपकरण
बच्चाका लागि विशेष साना उपकरण चाहिन्छ । ल्याप्रोस्कोपिक शल्यक्रिया (पेटमा सानो प्वाल पारेर दुरबिनको सहायताले गर्ने अपरेसन) मा पनि ३ वा ५ मिलिमिटरका साना नली प्रयोग गरिन्छ । ठूला उपकरणले बच्चाको कमजोर तन्तुलाई बिगार्न सक्छ । यी साना उपकरण चाँडै बिग्रिन पनि सक्छन् ।
परिवारको ठूलो भूमिका
वयस्क शल्यक्रियामा बिरामी एक्लै आउँछ पनि स्वास्थ्य संस्था आउन सक्छ । तर बच्चाको हकमा आमाबुबा र परिवार आउँछन् । बच्चा बिरामी हुँदा पूरै घरको वातावरण बिरामी जस्तै हुन्छ । आमाबुबालाई डर लाग्छ, चिन्ता हुन्छ । उनीहरूलाई सम्झाउँदै, विश्वास दिलाउँदै शल्यक्रिया गर्नु पनि ठूलो चुनौती हो ।
औषधि र डोजमा फरक
बच्चालाई बेहोस् पार्ने औषधि र डोज पनि उमेर र तौल अनुसार फरक हुन्छ । शल्यक्रिया पछि होसमा ल्याउने बेला निकै सतर्कता चाहिन्छ । सानो बच्चामा यो चरण झन् गाह्रो हुन्छ ।
शल्यक्रिया अघि
शल्यक्रिया किन गर्नुपर्छ, कसरी हुन्छ, के जोखिम छ भन्ने सबै कुरा आमाबुबासँग राम्रोसँग कुरा गर्छन् । बच्चा ठूलो छ भने उसलाई पनि बुझाउँछन् । डर र चिन्ता कम गर्न यो धेरै महत्वपूर्ण हुन्छ । त्यस्तै, बच्चाको रगत पुगेको छ कि छैन, पानीको मात्रा ठीक छ कि छैन, ज्वरो छ कि छैन, संक्रमण छ कि छैन जाँचेर तयार पारिन्छ । आवश्यक परे रगत वा एन्टिबायोटिक दिइन्छ ।
शल्यक्रिया पछि
शल्यक्रिया सकिएपछि बच्चालाई होसमा ल्याउने र राम्रोसँग सम्हाल्ने काम निकै संवेदनशील हुन्छ । तापक्रम, सास र रगतको चाप निगरानी गरिन्छ।
खाने र हिँड्ने कुरा
पहिले आन्द्राको शल्यक्रिया भएपछि ६–७ दिनसम्म केही पनि खुवाउँदैनथे । अहिले भने भोलिपल्टदेखि नै हल्का खाना सुरु गर्न सकिन्छ । दुखाइ नियन्त्रणमा छ र घाउ ठीक छ भने शल्यक्रियाको भोलिपल्ट नै बच्चालाई बेडबाट उठेर हिँड्न, पिसाब गर्न र शौचालय जान दिइन्छ ।
शल्यक्रिया पछि घाउ निको हुँदै गएपछि बच्चाहरू आफैं खेल्न र हिँड्न थाल्छन् ।
प्रतिक्रिया 4