+
+
Shares

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

डिमेन्सिया बुढ्यौलीको ‘सामान्य’ समस्या होइन। यो रोग हो जसलाई ६० वर्षदेखि नै रोक्न सकिन्छ।

प्रा.डा. राजीव झा प्रा.डा. राजीव झा
२०८२ चैत १९ गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिमेन्सिया मस्तिष्कको सिन्ड्रोम हो जसले स्मरणशक्ति, सोच्ने क्षमता र व्यवहारमा असर पार्छ र दैनिक जीवनमा समस्या ल्याउँछ।
  • नेपालमा अनुमानअनुसार चार–पाँच लाख मानिस डिमेन्सियाबाट प्रभावित छन् र ६० वर्षमाथिका १० प्रतिशतमा यो समस्या देखिन्छ।
  • डिमेन्सियाको पूर्ण उपचार छैन तर जीवनशैली परिवर्तन, दिमाग सक्रिय राख्ने र समयमै जाँचले रोकथाम र नियन्त्रण सम्भव छ।

 तपाईंले आज बिहान उठ्नसाथ के गर्नुभयो ? याद गर्नुहोस् त । पानी पिउनुभयो, शौचालय जानुभयो, नास्ता खानुभयो । तर, के तपाईं बिहान उठेदेखि अहिलेसम्म के–के गर्नुभयो भनी मलाई फटाफट बताउन सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न ।

किनभने हाम्रो मस्तिष्कले ती सबै कुरा यसरी संग्रहित गर्दैन, जसलाई हामी तुरुन्तै याद गर्न सक्छौं । यो सामान्य कुरा हो । तर यही कुरा त्यसबेला असामान्य बन्न पुग्छ जब हामीले सम्झनुपर्ने कुराहरू बिर्सन थाल्छौं ।

जस्तै: तपाईं घरबाट निस्कनुहुन्छ र केही पर पुगेपछि झल्याँस्स हुनुहुन्छ – ‘मैले ढोकामा ताला लगाएँ कि लगाइनँ ? ग्याँस बन्द गरे कि गरेनँ  ?’

यादाकदा यस्तो हुनु सामान्य हो । तर यो क्रम बढ्दै गएमा त्यसले हाम्रो दैनिकीलाई प्रभाव पार्न थाल्छ ।

हामीले सम्झनैपर्ने कुराहरू पनि बिर्सन थाल्छौं – औषधि खाएँ कि खाइनँ? भात खाएँ कि खाइनँ ? फलानोको पैसा तिरें कि तिरिनँ ?

यो समस्या यतिमै रोकिँदैन ।

तपाईं क्रमशः त्यस्ता कुराहरू बिर्सन थाल्नुहुन्छ जुन सम्झनैपर्ने हुन्छन् । जस्तै: घरबाट निस्केपछि घर फर्कने बाटो नै बिर्सनुहुन्छ । कहाँ पुग्नुपर्ने हो, कहाँ हराउनुहुन्छ । यस्ता दुखद् घटनाहरू धेरै हुने गरेका छन् । खासगरी घरका बुढापाकाहरू यसरी हराउने गरेका छन् । घरबाट निस्केको मान्छे घर नै फर्कन नसक्ने समस्या एकातिर छ भने अर्कोतिर यस्तो अवस्थामा पुगेको व्यक्तिलाई स्याहारसुसार गर्नु अर्को महाभारत हुन्छ ।

तिनीहरूलाई परिवारले यसरी ख्याल गर्नुपर्ने हुन्छ कि मानौं उनीहरू काखे बच्चा हुन् । जतिखेर पनि, जहाँ पनि उनीहरूको हेरचाह गरिरहनुपर्ने हुन्छ । उनीहरूलाई औषधि खुवाउन, खाना खुवाउन, नुहाइधुवाइ गर्न, शौच गराउन पनि सहयोगी चाहिन्छ । यो समस्या बढ्दै जाँदा कहाँसम्म पुग्छ भने उनीहरूले मुखमा राखिदिएको खानेकुरा चपाउनसमेत भुल्छन् । यो एक जटिल स्थिति हो ।

यस्तो किन हुन्छ ? कसलाई हुन्छ ? कसरी हुन्छ ? यसको कुनै उपचार छ ?

यसलाई चिकित्सकीय भाषामा डिमेन्सिया नामको सिन्ड्रोम भनिन्छ । सुरुमा यसको जैविक समस्या बुझौं ।

हामीले बिर्सने समस्यालाई खासै वास्ता नगर्दा त्यो प्रवृत्ति बढ्दै जान सक्छ । यससँगै मस्तिष्क सुक्दै जाँदा यसको जटिलता बढ्दै जान्छ ।

डिमेन्सिया भनेको के हो ?

डिमेन्सिया कुनै एउटा रोग होइन, यो दिमागका धेरै प्रकारका समस्या एकैसाथ देखिने सिन्ड्रोम हो । उमेर बढ्दै जाँदा दिमागका करोडौं न्यूरन (नर्भ सेल) हरू कमजोर हुन्छन् र दिमागको आकार नै सानो हुँदै जान्छ। जसरी छाला र अनुहारमा झुर्री पर्छ, त्यसैगरी दिमागभित्र पनि खुम्चिन्छ ।

परिणामस्वरूप स्मरणशक्ति, सोच्ने क्षमता, निर्णय लिने शक्ति र व्यवहारमा ह्रास आउँछ । जब यी समस्या दैनिक कामकाजमा असर पार्न थाल्छन् – जस्तै चाबी कहाँ राखियो थाहा नहुने, भर्खरै गरेको कुरा एकछिनमै बिर्सिने, घर चिन्न नसक्ने – तब यो डिमेन्सिया बन्छ ।

साधारण बिर्सने समस्या (जस्तै अफिसबाट निस्किँदा हाजिरी साइन आउट गरेको बिर्सनु) र डिमेन्सियाको बिर्साइ एउटै होइन । डिमेन्सियामा मानिसले शब्द नै बिर्सन्छन्, चाबी के हो भन्ने पनि थाहा हुँदैन ।

डिमेन्सियाको समस्या नेपालीलाई कति ?

भारतमा मात्र एक करोडभन्दा बढी मानिसमा डिमेन्सिया छ । अमेरिकामा यो मृत्युका प्रमुख कारणमध्ये एक हो । नेपालमा अझै सही तथ्यांक छैन, तर अनुमानअनुसार चार–पाँच लाख मानिस प्रभावित छन् ।

६० वर्षमाथिका १० प्रतिशत र ८० वर्षमाथिका करिब ५० प्रतिशत मानिसमा यो समस्या देखिन्छ । तर हाम्रो समाजमा ‘बुढापाकाको समस्या हो’ भन्दै यसलाई बेवास्ता गरिन्छ । त्यसैले बिरामी छिटै कमजोर हुन्छन् र चाँडै मृत्यु हुन्छ ।

डिमेन्सियाका मुख्य कारणहरू

१. आनुवंशिक (जेनेटिक) परिवारमा कसैलाई छ भने अरूलाई पनि हुन सक्छ ।

२. अल्जाइमर रोग (७०–८०% केस) दिमागमा नराम्रो प्रोटिन जम्मा हुन्छ। यी प्रोटिनले न्यूरनका “तार” हरूमा खिया लगाउँछन्। सूचना एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैन । हिप्पोक्याम्पस (मेमोरी बनाउने भाग) सबैभन्दा पहिले प्रभावित हुन्छ ।

३. भास्कुलर डिमेन्सिया स्ट्रोक, दिमागमा रक्तस्राव वा रक्तनली बन्द हुँदा दिमागका भाग सुक्न थाल्छन् ।

४. अन्य कारण टाउकोमा चोट, इन्फेक्सन, चुरोट–रक्सीको अत्यधिक प्रयोग, अनियन्त्रित डायबिटिज, उच्च रक्तचाप, कोलेस्ट्रोल आदि ।

डिमेन्सियाका तीन चरण र लक्षण

सुरुवाती चरण

  • दिनमा दुई–तीन पटक एउटै कुरा बिर्सनु
  • एउटै प्रश्न बारम्बार सोध्नु
  • चाबी, फोन, पैसा कहाँ राखियो भन्ने समस्या

मध्यम चरण

  • आफ्नो घर चिन्न नसक्नु
  • वर्ष, महिना, समय थाहा नहुनु
  • मृत परिवारका सदस्यसँग कुरा गरेको जस्तो लाग्नु
  • डिप्रेसन, चिन्ता, भ्रम

गम्भीर चरण

  • आफैं केही गर्न नसक्नु (ब्रस गर्नु, खानु, पिसाब–दिसा नियन्त्रण गर्नु)
  • बाथरूम, भान्सा कहाँ छ थाहा नहुनु
  • १००% अरूमा निर्भर
  • हिँड्न पनि गाह्रो

के यो निको हुन्छ?

यो प्रश्नको उत्तर सकारात्मक छैन। खासमा डिमेन्सिया पूर्ण निको हुँदैन, तर रोक्न र नियन्त्रण गर्न सकिन्छ । दुर्भाग्यवश अहिलेसम्म यसको पूर्ण उपचार छैन। तर रोकथाम र लक्षण कम गर्ने धेरै उपाय छन्:

जीवनशैली परिवर्तन (सबैभन्दा प्रभावकारी)

  • नियमित व्यायाम
  • दिमागको व्यायाम: किताब पढ्ने, डायरी लेख्ने, नयाँ कुरा सिक्ने, पजल खेल्ने
  • स्वस्थ खाना (फलफूल, तरकारी, माछा, बदाम)
  • चुरोट–रक्सी पूरै छोड्ने
  • सात–आठ घण्टा राम्रो निद्रा
  • डायबिटिज, प्रेसर, कोलेस्ट्रोल नियन्त्रणमा राख्ने
  • सामाजिक क्रियाकलाप (कुराकानी, साथीभेट, परिवारसँग बस्ने)

सेकेन्डरी कारण भए उपचार सम्भव टाउकोमा पानी जम्ने (नर्मल प्रेसर हाइड्रोसेफालस), पुरानो रगत जम्ने (क्रोनिक सबड्युरल हेमाटोमा), ब्रेन ट्युमर, इन्फेक्सन आदि भए शल्यक्रिया गरेर दुई–चार दिनमै डिमेन्सिया हराउन सक्छ। त्यसैले लक्षण देखिएमा तुरुन्त सिटी स्क्यान वा एमआरआई गर्नुहोस् ।

परिवारको भूमिका र चुनौती

बिरामीलाई आफैं केही थाहा हुँदैन, त्यसैले उनी दु:ख कम पाउँछन्। तर परिवारले दिनरात सेवा गर्दा थकित र तनावग्रस्त हुन्छन् ।

के गर्न सकिन्छ ?

१. घरमा साइनबोर्ड राख्ने (भान्सा यता, ट्वाइलेट यता)

२. कार्ड वा चिप राख्ने (बाहिर हराएमा सम्पर्क गर्न सकियोस्)

३. बिरामीलाई सक्रिय राख्ने: हिँडाउने, गीत सुनाउने, सानो काम दिने

४. आफ्नो स्वास्थ्य पनि ख्याल राख्ने (परिवारले आराम गर्ने समय मिलाउने)

अब बुझौं र बचाऔं

डिमेन्सिया बुढ्यौलीको ‘सामान्य’ समस्या होइन। यो रोग हो जसलाई ६० वर्षदेखि नै रोक्न सकिन्छ। स्वस्थ जीवनशैली, दिमाग सक्रिय राख्ने र समयमै जाँच गराउने हो भने हामी आफैं र आफ्ना अभिभावकलाई यो समस्याबाट बचाउन सक्छौं ।

‘बुढो भएपछि त यस्तै हुन्छ’ भन्ने सोच बदलौं । डिमेन्सियालाई बेवास्ता नगर्नुहोस्। लक्षण देखिएमा तुरुन्त न्यूरोलोजिस्टसँग जाँच गर्नुहोस् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?