News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लेको छ।
- बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ४३ रनले पराजित गरेको छ र चेन्नई लगातार तेस्रो हार भोगिरहेको छ।
- बेंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने अन्य बलरहरूले पनि विकेट लिएर चेन्नईलाई २०७ रनमा अलआउट गराए।
२२ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लेको छ । आइतबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ४३ रनले पराजित गरेको हो ।
बेंगलुरुले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा अलआउट हुँदै २०७ रन बनायो । चेन्नईको यो लगातार तेस्रो हार हो र अंकविहीन रहेर पुछारमा छ ।
चेन्नईको सुरुवात आजपनि राम्रो हुन सकेन । कप्तान रुतुराज गायक्वाड ७, सन्जु सामसन ९ अनि आयुष म्हात्रे १ रनमै आउट भएपछि तेस्रो ओभरमा ३०-३ को अवस्थामा पुगेको थियो ।
सरफराज खानले २५ बलमा ८ चौका र २ छक्कासहित ५० रन बनाए । प्रशान्त वीरले ४३ अनि जेमी ओभरटनले ३७ रन बनाए । शिवम दुबे १८ रनमा आउट भए ।
बेंगलुरुका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने क्रुनाल पान्ड्या, अभिनन्दन सिंह र ज्याकब डफीले २-२ विकेट लिँदा सुयाश शर्माले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले देवदत्त पडिक्कलको अर्धशतक तथा टिम डेभिडको आक्रामक फिनिसिङसहितको अर्धशतक मद्दतमा २० ओभरमा ३ विकेट मात्र गुमाएर २५० रन बनाएको थियो ।
डेभिडले २१ बलमा अर्धशतक प्रहार गर्दै २५ बलमा ३ चौका र ८ छक्का मद्दतमा अविजित ७० रन बनाए । पडिक्कलले ५१ तथा कप्तान रजत पाटिदारले अविजित ४८ रन बनाए । ओपनर फिल साल्टले ४६ अनि विराट कोहलीले ३८ रन बनाए ।
टिम डेभिड १८औं ओभरमा २८ रन बनाएर खेलिरहँदा अन्शुल कम्बोजको बलमा बोल्ड भएका थिए । तर कम्बोजको उक्त बल नो बल भएपछि चेन्नईले महँगो मूल्य चुकाउनुपर्यो ।
चेन्नईका लागि अन्शुल कम्बोज, जेमी ओभरटन र शिवम दुबेले १-१ विकेट लिए ।
प्रतिक्रिया 4