News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी लगानीकर्ता बिल अकम्यानको पर्सिङ स्क्वायरले युनिभर्सल म्युजिक ग्रुपलाई करिब ६४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव अघि सारेको छ।
- पर्सिङ स्क्वायरले प्रति सेयर ३०.४० युरो मूल्य प्रस्ताव गरेको छ जुन यूएमजीको अघिल्लो बन्द मूल्यभन्दा ७८ प्रतिशत बढी हो।
- प्रस्ताव सफल बनाउन यूएमजीका प्रमुख सेयरधनी बोलोरे समूह र भिभेन्दीसँग समर्थन आवश्यक हुनेछ।
अमेरिकी अर्बपति लगानीकर्ता बिल अकम्यानको कम्पनी पर्सिङ स्क्वायरले विश्वकै ठूलो संगीत कम्पनीमध्ये एक युनिभर्सल म्युजिक ग्रुप (यूएमजी) लाई करिब ६४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव अघि सारेको छ । पछिल्ला पाँच वर्षदेखि यूएमजीमा लगानी बढाउने प्रयास गरिरहेका अकम्यानका लागि यो नयाँ र महत्वपूर्ण मोड मानिएको छ ।
मंगलबार सार्वजनिक गरिएको प्रस्तावअनुसार पर्सिङ स्क्वायरले नगद र सेयरको संयोजनमा प्रति सेयर ३०.४० युरो मूल्य प्रस्ताव गरेको छ । यो मूल्य यूएमजीको अघिल्लो बन्द मूल्य १७.१० युरोभन्दा करिब ७८ प्रतिशत बढी हो । यस आधारमा समग्र कारोबारको मूल्य करिब ५५.७५ अर्ब युरो (६४ अर्ब डलरभन्दा बढी) पुग्ने अनुमान गरिएको छ ।
यूएमजी विश्वका चर्चित कलाकारहरू टेलर स्विफ्ट, बिली आइलीश र केन्ड्रिक लामार जस्ता सुपरस्टारको संगीत व्यवस्थापन गर्ने कम्पनी हो । कम्पनीले आफ्नो सेयर सूचीकरण एम्स्टर्डामबाट न्यूयोर्क सार्ने तयारी पनि गरिरहेको छ । यसले थप लगानीकर्ता आकर्षित गर्ने र कम्पनीको आम्दानी तथा मूल्यांकन बढाउने अपेक्षा गरिएको छ ।
यस विषयमा यूएमजीले औपचारिक प्रतिक्रिया दिएको छैन । तर विश्लेषकका अनुसार, पहिले आक्रामक लगानी रणनीतिका लागि चिनिएका अकम्यान यसपटक भने तुलनात्मक रूपमा सहकार्यको शैलीमा अघि बढेका छन् ।
हाल विश्वव्यापी रूपमा संगीत उद्योग विस्तारको अवस्थामा भए पनि यूएमजीको सेयर मूल्य अपेक्षाकृत कमजोर देखिएको छ । अकम्यानले यही अवस्थालाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कम्पनीको व्यवस्थापनको प्रशंसा गर्दै केही कमजोरी पनि औंल्याएका छन् । विशेषगरी कम्पनीको वित्तीय संरचना पर्याप्त रूपमा उपयोग नभएको र स्पोटिफाइमा गरिएको करिब २.७ अर्ब युरो लगानीको व्यवस्थापनमा प्रश्न उठाइएको छ ।
संगीत क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव बढ्दै जाँदा यूएमजीको प्रदर्शनमा दबाब परेको विश्लेषण गरिएको छ । बजार हिस्सा घट्दै जानु र स्ट्रिमिङ सेवाको वृद्धिदर सुस्त हुनु पनि चुनौतीका रूपमा देखिएको छ । यसै कारण कम्पनीले गत मार्चमा अमेरिकामा सेयर सूचीकरण गर्ने योजना पनि स्थगित गरेको थियो ।
यो प्रस्ताव सफल बनाउन अकम्यानलाई यूएमजीका प्रमुख सेयरधनीको समर्थन आवश्यक हुनेछ । बोलोरे समूहसँग १८.५ प्रतिशत र भिभेन्दीसँग १३.४ प्रतिशत हिस्सा छ भने चिनियाँ कम्पनी टेन्सेन्ट पनि महत्वपूर्ण लगानीकर्ता हो । फ्रान्सेली अर्बपति भिन्सेन्ट बोलोरेको परिवारले कम्पनीको करिब ८० प्रतिशत मतदान अधिकार नियन्त्रण गरेको छ ।
अकम्यानले सन् २०२१ मै यूएमजीमा लगानी बढाउने प्रयास गरेका थिए । त्यसबेला उनको कम्पनीमार्फत यूएमजीलाई सार्वजनिक गर्ने योजना अघि बढाइएको थियो, तर अमेरिकी नियामक निकायको निगरानीपछि उक्त योजना स्थगित भएको थियो । त्यसपछि पर्सिङ स्क्वायर यूएमजीको प्रमुख लगानीकर्ता बनेको थियो र अकम्यान गत वर्षसम्म कम्पनीको बोर्ड सदस्यका रूपमा रहेका थिए ।
यूएमजीको सेयर मूल्य आईपीओपछि करिब एकतिहाइले घटिसकेको छ । यद्यपि विश्वभर संगीत आम्दानी बढ्दो क्रममा रहे पनि यूएमजीले सोनी म्युजिक र वार्नर म्युजिक जस्ता प्रतिस्पर्धी कम्पनीसँग कडा प्रतिस्पर्धा गर्नुपरेको छ । साथै, स्पोटिफाइ, अमेजन, एप्पल र डीजरसहितका स्ट्रिमिङ प्लेटफर्मको प्रभाव बढ्दै जाँदा संगीत उद्योगको परम्परागत संरचना पनि परिवर्तन भइरहेको छ ।
यसबीच एआईको विस्तारले संगीत सिर्जना, वितरण र आम्दानीको मोडेलमै असर पार्ने संकेत देखिएको छ । एआईबाट बन्ने गीतहरू र कपीराइटसम्बन्धी विवादले उद्योगलाई नयाँ चुनौतीतर्फ धकेलिरहेका छन् । यद्यपि, एक सर्वेक्षणअनुसार अधिकांश श्रोताले एआईबाट बनेका र मानवीय सिर्जनाबीच फरक छुट्याउन सक्ने देखिएको छ ।
प्रस्तावअनुसार पर्सिङको एसपीएआरसी होल्डिङ्स यूएमजीसँग गाभिनेछ र नयाँ कम्पनी अमेरिकाको नेभाडामा दर्ता भई न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत हुने योजना रहेको छ ।
अलजजिराबाट ।
प्रतिक्रिया 4