काठमाडौं । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकामा आफ्ना सबै ‘प्रिमियम’ प्लानहरूको शुल्क बढाएको छ।
झन्डै तीन वर्षपछि युट्युबले फेरि मूल्य वृद्धि गर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष असर इन्डिभिजुअल, फ्यामिली र लाइट प्लान चलाउने प्रयोगकर्ताहरूलाई पर्नेछ।
युट्युबको वेबसाइटमा अद्यावधिक गरिएको नयाँ मूल्य सूची अनुसार अबका परिवर्तनहरू यस प्रकार रहेका छन् :
इन्डिभिजुअल प्लान : यसअघि १३.९९ डलर रहेको यो प्लानको मूल्य २ डलरले बढेर प्रति महिना १५.९९ डलर पुगेको छ।
फ्यामिली प्लान: यो प्लानमा सबैभन्दा बढी ४ डलरको वृद्धि गरिएको छ। अब फ्यामिली प्लानका लागि प्रयोगकर्ताले प्रति महिना २६.९९ डलर तिर्नुपर्नेछ।
लाइट प्लान : सस्तो मानिने लाइट प्लान पनि १ डलरले महँगिएर प्रति महिना ८.९९ डलर पुगेको छ।

नयाँ ग्राहकहरूका लागि यो मूल्य तत्कालै लागू हुनेछ भने पुराना ग्राहकहरूका लागि आगामी जुन महिनाको बिलिङ चक्रदेखि मात्र नयाँ दर लागू हुने बताइएको छ।
युट्युबले यसबारे हालसम्म कुनै औपचारिक सार्वजनिक घोषणा नगरे पनि केही प्रयोगकर्ताहरूलाई इमेल पठाएर जानकारी दिन सुरु गरिसकेको छ।
बढ्दो महँगीबाट बच्न प्रयोगकर्ताहरूलाई वार्षिक प्लान लिने विकल्प पनि दिइएको छ। वार्षिक १५९.९९ डलर तिर्दा मासिक प्लानको तुलनामा झन्डै १५ प्रतिशत अर्थात् करिब ३२ डलर बचत हुने देखिन्छ। यद्यपि, यो मूल्य वृद्धि हालका लागि अमेरिकी बजारमा मात्र सीमित रहेको छ।
विज्ञापनरहित अनुभव, अफलाइन भिडियो डाउनलोड र ब्याकग्राउन्ड प्ले जस्ता सुविधाहरूका लागि युट्युब प्रिमियम लोकप्रिय रहे पनि लगातारको मूल्य वृद्धिले प्रयोगकर्ताहरूलाई सस्तो ‘प्रिमियम लाइट’ तिर आकर्षित गर्न सक्ने प्रविधि विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया 4