गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा म अति नै प्रफुल्लित भएको छु । यसको लागि विश्वविद्यालयका पदाधिकारीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । साथै, प्रथम दीक्षान्त समारोह सफलतापूर्वक आयोजना गर्नुभएकोमा विश्वविद्यालय परिवारको प्रशंसा नगरी रहन सक्दिनँ ।
यस पश्चात्, म सर्वप्रथम आज दीक्षित हुने विद्यार्थीहरूलाई हृदयदेखि नै बधाइ दिन चाहन्छु । धेरै घण्टा, दिन र वर्षको मेहनतपछि तपाईंहरूले गण्डकी विश्वविद्यालयबाट उपाधि पाउनुभएको छ । यस उपाधिले आउने यात्रामा तपाईंहरूलाई ठूलो आत्मविश्वासका साथ अघि बढ्न मद्दत गर्छ भन्ने मलाई लाग्दछ ।
गण्डकी विश्वविद्यालय अवश्य नयाँ हो, तर यसको वास्तविक शक्ति यसको उमेरमा होइन, यसको शैक्षिक दृष्टिमा निहित छ । मेरो बुझाइमा, यही दृष्टिले यसलाई अन्य विश्वविद्यालयहरूभन्दा फरक बनाएको छ ।
गण्डकी विश्वविद्यालयसम्बन्धी सूचनामूलक परिचय सामग्रीमा लेखिएका केही कुराले मेरो ध्यान आकर्षित गरेका छन् । सर्वप्रथम, यहाँको पढाइ-सिकाइ अन्तर्विषयक (inter-disciplinary) तरिकाले गरिन्छ भनिएको छ । दोस्रो, विद्यार्थीहरूमा समालोचनात्मक किसिमले सोच्ने (critical thinking) क्षमताको विकास गर्ने उल्लेख गरिएको छ ।
वास्तवमा कुनै विषय पनि बहुविषयक दृष्टिकोणले नहेरी बुझ्न गाह्रो हुन्छ । सजिलो उदाहरणका लागि हामी वातावरणीय समस्यालाई लिनसक्छौँ । यस्तो समस्यालाई एकल विषयको घेराभित्र राखेर बुझ्ने प्रयास प्राय: विफल हुन्छ । यसलाई त वनस्पति शास्त्र, जीवशास्त्र, भूगर्भशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिक शास्त्र आदिबाट केलाउन आवश्यक पर्दछ ।
त्यस्तै, हाम्रो समाजलाई धेरै पिरोलिरहेको भ्रष्टाचारको समस्या बुझ्न पनि त्यस्तै बहुविषयक दृष्टिकोण आवश्यक हुन्छ । समस्यालाई सही हिसाबले बुझ्न नसकिए त्यसको समाधान पनि ठीक किसिमले गर्न सम्भव हुँदैन । त्यसैले विद्यार्थीहरूलाई बहुविषयक दृष्टिले समस्या बुझ्न र केलाउन सिकाउनु आजको शिक्षाको अनिवार्य आवश्यकता हो ।
अन्तरविषयक तरिकाले पढाउने–सिकाउनेको अर्को फाइदा भनेको यसले आधुनिक युगमा चाहिने लचिलोपन तथा थप सीप सिक्ने क्षमता भएका स्नातकहरू तयार पार्दछ । केही दशकको तुलनामा अहिले श्रम बजारमा निकै ठूलो परिवर्तन आएको छ । विशेषत: एआई प्रविधिमा भइरहेको विकासले यस परिवर्तनलाई ठूलो गतिमा अघि बढाइरहेको छ । आज अत्यावश्यक देखिएको सीप केही वर्षमै अप्रासंगिक हुन सक्छ । त्यसैले हामीले उत्पादन गर्ने स्नातकहरू हाम्रो जमानामा जस्तै दुई–चार विषयमा केही ज्ञान वा सीप प्राप्त गरेर मात्र पुग्दैन । हामीले उनीहरूलाई केवल आजका लागि होइन, तीव्र रूपमा बदलिँदै गएको भोलिको श्रम बजारका लागि पनि तयार पार्नुपर्छ ।
गण्डकी विश्वविद्यालयले विद्यार्थीहरूमा समालोचनात्मक सोच (critical thinking) को विकास गर्ने गरी पढाइ सञ्चालन गर्ने भन्ने जुन उल्लेख गरेको छ, त्यसले पनि मलाई धेरै उत्साही बनाएको छ । धेरै वर्षसम्म हामीले विद्यालय, कलेज र विश्वविद्यालयहरूमा समालोचनात्मक सोच विकास गर्ने विषयमा खासै ध्यान दिएका थिएनौँ । म पढ्दाखेरिदेखि पढाउँदासम्म पनि विद्यार्थीहरूमा समालोचनात्मक सोच विकास गर्नुपर्छ भन्ने विचार हामीले बनाएका थिएनौँ । अहिलेसम्म पनि हाम्रो मूल्याङ्कन पद्धतिले धेरै अवस्थामा विद्यार्थीले कति सम्झियो भन्ने जाँच गर्छ, कति सोच्यो भन्ने होइन ।
मेरो विचारमा समालोचनात्मक सोच भनेको बेन्जामिन स्यामुएल ब्लुम (Benjamin Samuel Bloom) ले सन् १९५६ मा विकास गरेको र पछि उनका दुई विद्यार्थीहरूले सन् २००१ मा परिमार्जन गरेको ज्ञानको वर्गीकरण (Taxonomy of Knowledge) मा उच्च कोटीका ज्ञानहरू (higher order knowledge) हुन् । त्यसमा सम्झने र बुझ्ने बाहेक बुझिएको कुरा लागु गर्नसक्नु (apply), विश्लेषण गर्न सक्नु (analyze), मूल्याङ्कन गर्न सक्नु (evaluate) र सबैभन्दा माथि सिर्जना गर्नु (create) पर्दछ ।
नयाँ–नयाँ विषयहरूको पढाइको सुरुवातसँगै विषयप्रति विद्यार्थीहरूको बौद्धिक जिज्ञासा जगाउन नयाँ शिक्षण विधि वा तरिका अपनाएकोमा म विश्वविद्यालयको प्रशंसा गर्दछु । यो छोटो अवधिमा शिक्षण विधि त्रुटिरहित नहुन सक्छ, तर सही दिशातिर अग्रसर भएपछि सिकाइ–पढाइ, शिक्षण विधि र पाठ्यक्रम क्रमश: सुधारिँदै जाने निश्चित छ ।
अब फेरि दीक्षित विद्यार्थीहरूतर्फ फर्किएर केही कुरा साट्न मन लागेको छ । विद्यार्थीहरू, तपाईंहरू यस्तो समयमा श्रम बजारमा प्रवेश गर्दै हुनुहुन्छ, जहाँ अवसर ठूलो छ, तर चुनौती पनि त्यत्तिकै ठूलो। करिब तीन वर्षअघि घर–घरसम्म आइपुगेको एआईले कतिपय अवस्थामा सहयोग पुर्याउँछ भने कतिपय अवस्थामा अप्ठ्यारो पनि हुन सक्छ । तपाईंहरूले दिन वा हप्ता लगाएर गर्ने काम एआईले केही क्षणमै पूरा गरिदिन्छ ।
यो विभिन्न विकसित देशहरूका केही क्षेत्रहरूमा देखापरिसकेको समस्या हो। यो संकट अझै हाम्रो ढोकामा पूर्ण रूपमा आइपुगेको छैन, तर यसले हाम्रो श्रम बजारलाई पनि ढिलोचाँडो प्रभाव पार्ने निश्चित छ । यसै कारणले, अनिश्चित भविष्यको लागि तपाईंहरू ले आफूलाई तयार राख्नुपर्छ । आजको अनिश्चित समयको सबैभन्दा राम्रो तयारी भनेकै आफूलाई फराकिलो, लचिलो र निरन्तर सिकिरहने व्यक्तिका रूपमा तयार गर्नु हो ।
एउटा विषयमा गहिरो दक्षता हासिल गरेपछि पनि अन्य विषयप्रति आफ्नो जिज्ञासा कहिल्यै मर्न नदिनुहोस् । त्यसमा तपाईंहरूको विश्वविद्यालयबाट प्राप्त शिक्षाले अवश्य मद्दत गर्नेछ भन्ने मलाई विश्वास छ ।
एआईको कुरा गर्दा मलाई विश्वास छ कि तपाईंहरूले पनि यसको प्रयोग गर्नुहुन्छ होला । एआईको विकासको सुरुआतका दिनका एक प्रबोध अभियन्ता, बङ्गलादेशी मूलका बेलायती इमाड मोस्ताकले एक अन्तर्वातामा भनेझैं, ‘हामीले एआईलाई हाम्रो मसल जस्तै प्रयोग गर्नुपर्छ ।’ यसले झन्झटिलो र समय लाग्ने कामलाई कम समयमा नै सम्पन्न गरिदिन्छ ।
वास्तवमा, दिमागले गर्ने सानोतिनो काम हामीले स्मार्टफोन, क्यालकुलेटर र कम्प्युटर एप्सलाई दिन थालेको पनि केही वर्ष भइसकेको छ । यस्ता काम बाहिर यन्त्रलाई दिनेगककदा, हामो मनमनै अंक गणना गर्ने, टेलिफोन नम्बरहरू स्मरण गर्ने र सानोतिनो कुरा सम्झिने क्षमतामा एक किसम को ह्रास आएको महसुस भए पनि, सोच्ने र विश्लेषण गर्ने शक्तिमा भने खासै फरक परेको देखिँदैन ।
यस सम्बन्धी अनुसन्धान गर्नेहरूले यस्ता कामलाई कग्नेटिभ अफ्लोडिङ अर्थात् संज्ञानात्मक भार घटाउने वा हल्का पार्ने काम भनेर व्याख्या गर्छन् । सानातिना काम एआईलाई सुम्पेर हामीले आफ्नो बुद्धि अझ ठूला, गम्भीर र सिर्जनात्मक काममा केन्द्रित गर्न सक्छौँ ।
तर एआईको तीव्र विकाससँगै अब जोखिम केवल संज्ञानात्मक भार घटाउनेमा सीमित छैन । जोखिम त हाम्रो सोच्ने जिम्मेवारी नै एआईलाई सुम्पिने ठाउँसम्म पुग्न सक्नेमा छ। कग्नेटिभ सरेन्डरिङ भन्ने शब्द पेन्सिलभेनिया विश्वविद्यालय को प्रख्यात व्हार्टन स्कूलका अनुसन्धानकर्ताहरूले सन् २०२४-२५ देखि प्रयोगमा ल्याउन थालेको बुझिन्छ ।
यी अनुसन्धानकर्ताहरूको भनाइअनुसार, एआईले पार्ने खास असर भनेको यसले दिने उत्तरमा भन्दा पनि यसले हाम्रो सोच्ने र सिक्ने तरिकामा ल्याउने परिवर्तन हो ।
केही तथ्याङ्क तथा सूचना लिनका लागि मात्र एआई प्रयोग नगरी, यदि हामीले सोच्ने, विश्लेषण गर्ने, समस्या पहिचान गर्ने र समाधान खोज्ने जस्ता कामका लागि पनि यसैमाथि निर्भर हुँदै जाने हो भने, यसलाई ‘कग्नेटिभ सरेन्डरिङ’ भन्नुपर्छ ।
तपाईंहरूलाई यसले केही काममा छिटो र छरितो बनाउन मद्दत गरे पनि, अन्तत: यसले तपाईंहरूको सोच्ने क्षमतामा ह्रास ल्याउँछ । उदाहरणको लागि तपाईंहरू आफै नलेखी एआईलाई नै सो काममा अत्यधिक प्रयोग गर्नुहुन्छ भने त्यसले तपाईंहरूको स्वतन्त्र रूपमा विचारहरूलाई वाक्यमा संरचना गर्ने क्षमतालाई कमजोर बनाउँछ । यसलाई मनोवैज्ञानिकहरू भन्ने गर्छन्, अर्थात् क्षमताको क्षय । यो एआईको प्रयोगबाट आउने ज्यादै गम्भीर चुनौती हो । त्यसैले, एआई प्रयोग गर्नुहोस्, तर आफ्नो बुद्धि त्यसमा समर्पण कदापि नगर्नुहोस् । यही मेरो तपाईंहरूलाई सबैभन्दा गम्भीर सल्लाह हो । अन्तमा, आजका सबै दीक्षित विद्यार्थीहरूलाई मेरो हार्दिक शुभकामना । तपाईंहरूको आउने दिनहरू सफल रहोस् ।
(शिक्षाविद् माथेमा त्रिविका पूर्वउपकुलपति हुन् । उनले गण्डकी विश्वविद्यालयमा चैत्र २८, २०८२ मा आयोजित प्रथम दीक्षान्त समारोहमा दिएको दीक्षान्त भाषणको यो सम्पादित अंश हो ।)
प्रतिक्रिया 4