+
+
Shares

डिस्चार्ज भए शिव सदा, अरुण चौधरीले तिरिदिए अस्पतालको बिल

शुक्रबार अनलाइनखबरमा समाचार प्रकाशित भएलगत्तै चौधरीले शिवको उपचार वापतको १ लाख रुपैयाँ तिरिदिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १८:५२

४ वैशाख, विराटनगर । उपचार खर्च तिर्न नसक्दा विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा रोकिएका सिन्धुलीका १९ वर्षीय शिव सदा डिस्चार्ज भएका छन् ।

अनलाइनखबरमा सदाको आर्थिक अवस्था र बाध्यताबारे समाचार प्रकाशित भएपछि सिजी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले उपचार खर्च तिरिदिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

शुक्रबार अनलाइनखबरमा समाचार प्रकाशित भएलगत्तै चौधरीले शिवको उपचार वापतको १ लाख रुपैयाँ तिरिदिएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका शिव सदाले गत २७ चैतमा विष सेवन गरेका थिए । उनलाई आमा मघिया सदा र श्रीमती कृतिकाले उपचारका लागि सुरुमा कटारी र त्यसपछि विराटनगरको कोशी अस्पताल ल्याएका थिए । कोशीमा उपचार सम्भव नभएपछि उनलाई २८ चैतमा विराटनगरकै विराट निदान अस्पताल भर्ना गरियो ।

गम्भीर अवस्थामा रहेका शिवलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा अस्पतालको बिल ६२ हजार ६०० र औषधिको ७६ हजार ५८६ गरी जम्मा १ लाख ३९ हजार १८६ रुपैयाँ पुगेको थियो । तर विपन्न परिवारका सदाले ऋण खोजेर जम्मा १५ हजार रुपैयाँ मात्र बुझाउन सके ।

बाँकी १ लाख २४ हजार १८६ रुपैयाँ तिर्न नसकेपछि शिवकी आमा मघिया सदा बाटो खर्चको अभावमा विराटनगरबाट पैसा खोज्न पैदल सिन्धुलीतर्फ लागेकी थिइन् ।

आफूसँग भएको मोबाइलसमेत औषधि पसलमा बन्धकी राखेर हिँडेकी उनीसँग छोराको सम्पर्क भएको छैन । अस्पतालमा शिव र उनकी १४ वर्षीया श्रीमती कृतिका मात्रै अलपत्र अवस्थामा बसिरहेका थिए ।

मातातिर्थ औंशीको दिन एक आमा छोराको उपचार खर्चका लागि मोबाइल समेत बन्धकी राखेर हिँडेको र छोरा अलपत्र परेको खबर सार्वजनिक भएपछि अरुणकुमार चौधरीले तत्कालै सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए ।

अनलाइनखबरको समन्वयमा शुक्रबार नै चौधरीले अस्पतालको बिल वापत १ लाख रुपैयाँ तिरिदिएका थिए । चौधरीले सहयोग गरेपछि अस्पतालले पनि २४ हजार १८६ रुपैयाँ छुट दिएको थियो ।

अस्पतालका सञ्चालक अजय यादवले सदाको अवस्था कमजोर देखिएकाले आफूहरूले पनि सहयोग गरेको बताए । ‘उहाँहरूको आर्थिक अवस्था कमजोर हो, अरुण चौधरीले त्यति कन्ट्रिब्यूसन गरेपछि हाम्रो तर्फबाट पनि छुट गरेका छौं,’ उनले भने ।

यादवका अनुसार गम्भीर अवस्थामा आएका सदाको आईसीयूमा राखेर उपचार भएको थियो । ‘उपचारमा आउँदा बिरामीलाई हामी उपचारको प्रक्रिया र शुल्कका बारेमा जानकारी गराउँछौं, उहाँलाई हामीले जानकारी गराएका थियौं,’ यादवले भने, ‘डिस्चार्जको समय आएपछि उहाँलाई खर्च तिर्न भनेका थियौं । उपचार खर्च ल्याउने भन्दै घर जानुभएको थियो, तर आउनु भएन ।’

अस्पतालबाट डिस्चार्ज हुने बेला घर जाने भाडासमेत नभएका शिव सदालाई अस्पताल सञ्चालक यादवले २ हजार रुपैयाँ बाटो खर्च दिएका थिए । अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा शिव र कृतिकाले सहयोगका लागि अरुण चौधरीलाई धन्यवाद दिए ।

‘गर्न नहुने गल्ती भयो, अब सुधार गर्छौं,’ अस्पतालबाट प्रफुल्लित मुद्रामा निस्किँदै गरेका सदाले भने, ‘अब यस्तो गल्ती गर्दिनँ, मिहिनेत गर्छु, काम गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?