+
+
Shares

मल आपूर्तिमा कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्रीसँग कृषिमन्त्रीको आग्रह

बिहीबार कृषिमन्त्री चौधरीले मलको आपूर्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेर कूटनीतिक माध्यमबाट प्रयास गरिदिन आग्रह समेत गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १९:०६

१० वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा चासो व्यक्त गरेकी छन् । मल आपूर्तिका विषयमा चिन्ता प्रकट गर्दै उनले परराष्ट्र मन्त्रालयसँग पहलका लागि छलफल पनि गरेकी छन् ।

बिहीबार कृषिमन्त्री चौधरीले मलको आपूर्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेर कूटनीतिक माध्यमबाट प्रयास गरिदिन आग्रह समेत गरिन् ।

पश्चिम एसियामा देखिएको संकटका कारण मल आपूर्तिमा थप समस्या भइरहेको भन्दै मन्त्री चौधरीले आपूर्तिको व्यवस्थापन सहज गर्न पहल गरिदिन परराष्ट्रमन्त्री समक्ष आग्रह गरेकी हुन् ।

मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकार भएका निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात रहेको मन्त्री चौधरीकी प्रेस संयोजक सरिता थारुले जानकारी दिइन् । उनका अनुसार असारपछिका लागि मन्त्री चौधरीले थप एक लाख ५० हजार मेट्रिक टन मल आवश्यक रहेको अनुमानका आधारमा जिटुजी (सरकार–सरकार) माध्यमबाट खरिद गर्ने निर्णय गरेकी छन् ।

गत चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको प्रेस संयोजक थारुले जानकारी दिइन् । मल आपूर्तिका लागि नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

यसबीच वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको बताइएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?