News Summary
Generated by OK AI. Editorially reviewed.- अक्सफोर्ड विश्वविद्यालयको मर्टन कलेजले ७५०औँ स्थापना दिवस मनाएको छ र यो बेलायतको सबैभन्दा पुरानो पुस्तकालयमध्ये एक हो।
- सन् १२७६ मा क्यान्टरबरीका आर्चविशपले कलेजका सदस्यहरूलाई पुस्तक दान गर्न अनिवार्य गरेपछि पुस्तकालयको स्थापना भएको थियो।
अक्सफोर्ड विश्वविद्यालयको मर्टन कलेजमा एउटा पुरानो काठको सन्दुक छ । मध्यकालमा यो सन्दुक खोल्न तीन जना साँचो वाहकहरूलाई एकैसाथ बोलाउनुपर्थ्यो । तर, त्यस सन्दुकभित्र सुन वा गहना थिएनन् । त्यहाँ चर्मपत्रमा लेखिएका बहुमूल्य पुस्तकहरू सुरक्षित राखिएका थिए ।
यो सन्दुक नै आजको प्रसिद्ध मर्टन कलेज लाइब्रेरीको सुरुवात थियो । यसले हालै आफ्नो ७५०औँ स्थापना दिवस मनाएको छ । एजटेक साम्राज्यको उदय हुनुभन्दा पनि पुरानो मानिने यो पुस्तकालय बेलायतको सबैभन्दा पुरानो र ऐतिहासिक पुस्तकालयमध्ये एक हो ।
ऐतिहासिक पृष्ठभूमि
सन् १२७६ मा क्यान्टरबरीका आर्चविशपले एउटा आदेश जारी गर्दै कलेजका सदस्यहरूलाई पुस्तक दान गर्न अनिवार्य गरेका थिए । प्रिन्टिङ प्रेसको आविष्कार हुनुभन्दा अघिको समयमा पुस्तकहरू निकै महँगा र दुर्लभ हुन्थे । त्यसैले कलेजले आफ्ना सदस्यहरूबाट नगदको सट्टा पुस्तकको अपेक्षा गर्थ्यो ।
यही आदेशसँगै सुरु भएको यो पुस्तकालय आज ७५० वर्षदेखि निरन्तर सञ्चालनमा छ । यसको इतिहास यति लामो छ कि यसले मध्यकालीन ब्ल्याक डेथदेखि आधुनिक कोभिड–१९ सम्मका सबै उतारचढावहरूलाई नजिकबाट नियालेको छ ।
१४औँ शताब्दीका प्रख्यात गणितज्ञदेखि लिएर लर्ड अफ द रिङ्ग्सका लेखक जे.आर.आर. टोल्किनसम्मले यसका शान्त कोठाहरूमा अध्ययन गरेका छन् ।
सुरुवाती दिनहरूमा पुस्तकालयको स्वरूप आजको जस्तो आधुनिक थिएन । त्यहाँ न कुनै पुस्तकालय प्रमुख थिए, न त किताब राख्ने दराज नै । सबै पुस्तकहरू एउटै सन्दुकमा बन्द हुन्थे । कुनैकुनै पुस्तक निकाल्न त पूरा समुदाय नै भेला हुनुपर्थ्यो ।
बिस्तारै पुस्तकालयले आधुनिक स्वरूप लिन थाल्यो । त्यसका लागि विभिन्न कार्य गरिए ।
जस्तो, पुस्तकहरूलाई सुरक्षित राख्न र चोरी हुन नदिन तिनलाई टेबुलमा चेनले बाँधेर राखिन्थ्यो । यसले गर्दा पाठकहरूले जुनसुकै बेला सन्दर्भ सामग्रीका रूपमा पुस्तक पढ्न पाउँथे ।
१३७० को दशकमा पुस्तकालयका लागि विशेष कोठा निर्माण गरियो, जुन आज पनि विद्यार्थीहरूले प्रयोग गर्छन् । त्यसैगरी तेर्सो तख्तामा र विशिष्ट शैलीमा किताबहरू राख्न थालियो । यसले गर्दा किताबहरू निकाल्न झनै सजिलो हुन गयो ।
बेलायतमा पहिलो पटक किताबहरूलाई तेर्सो तख्तामा ठाडो पारेर राख्ने तरिका मर्टनले नै सुरु गरेको हो । त्यतिबेला किताबका स्पाइन भित्रपट्टि पारेर राखिन्थ्यो । नामहरू बाहिर देखिने पानाको छेउमा लेखिन्थ्यो ताकि चेनले अवरोध नगरोस् ।
साहित्य, संस्कृति र वैश्विक प्रभाव
भिक्टोरियन युगदेखि नै यस पुस्तकालयलाई बेलायतको सबैभन्दा पुरानो पुस्तकालयका रूपमा चिन्न थालियो । रडयार्ड किपलिङ र जोन बुचन जस्ता लेखकहरूले आफ्ना ऐतिहासिक फिक्सनहरूमा यसको चर्चा गरेका छन् । एफ. स्कट फिट्जगेराल्डको चर्चित उपन्यास ‘द ग्रेट ग्याट्सबी’मा मुख्य पात्रले आफ्नो हवेलीमा मर्टन कलेज पुस्तकालयकै प्रतिरूप बनाएको सन्दर्भले यसको सांस्कृतिक गरिमालाई झल्काउँछ ।
अमेरिकी लेखक राल्फ वाल्डो इमर्सन र सन् १८८४ मा बिट्रिक्स पोटरले यस पुस्तकालयको भ्रमण गरी यसको प्राचीनता र त्यहाँ पाइने धुलोको सुगन्धबारे आफ्नो डायरीमा उल्लेख गरेका थिए ।
धेरैले यो पुस्तकालयलाई ‘विश्वकै पुरानो’ भन्न रुचाउँछन् । तर इतिहासकारहरूका अनुसार पुस्तकालयको परिभाषा फरक-फरक हुन सक्छ । मोरक्कोको अल-करावियिन र इजिप्टको सेन्ट क्याथरिन मोनस्ट्रीलाई पनि विश्वका प्राचीन पुस्तकालय मानिन्छ ।
मर्टनकी वर्तमान पुस्तकालय अध्यक्ष डा. जुलिया वालवर्थ यसलाई युरोपको सबैभन्दा पुरानो र निरन्तर चलिरहेको प्राज्ञिक पुस्तकालय भन्नु बढी सान्दर्भिक ठान्छिन् । चीनको डुनहुवाङ गुफा पुस्तकालय अर्को यस्तै पुरानो उदाहरण हो ।
अबको समय
७५० वर्षको यात्रापछि अब यो पुस्तकालय डिजिटल युगमा प्रवेश गर्दैछ । व्यावस्थापक समितिले दुर्लभ पाण्डुलिपिहरूको डिजिटलाइज गर्दैछ ।
सन् १२७६ मा सुरु भएको पुस्तक दान गर्ने परम्परा आज पनि जारी छ । यससँगै यो पुस्तकालयले ७५० वर्षसम्म एउटा संस्था र मान्छेबीचको सम्बन्धलाई पनि देखाउने बताइएको छ ।
प्रतिक्रिया 4