+
+
Shares

चोरीको आरोपमा एक जना पक्राउ, एक किलो सुनचाँदीका गरगहना बरामद

चोरीको आरोपमा एक किलोभन्दा बढी सुनचाँदी गरगहनासहित एकजना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १७:५५

१५ वैशाख, काठमाडौं । चोरीको आरोपमा एक किलोभन्दा बढी सुनचाँदी गरगहनासहित एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तनहुँको ऋषिङ्ग गाउँपालिका– ५ रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको जनाएको छ ।

रानाभाटसँग १९१ ग्राम सुनजस्तो देखिने पहेलो रङका गरगहना, तिलहरी र पोतेसहितको ६८७ ग्राम थप गहना र चाँदीजस्तो देखिने ३१७ ग्राम गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै उनीसँग विभिन्न दरका विदेशी मुद्रा, १९ थान धातुका सिक्का, ५ थान विभिन्न कम्पनीका घडी, दुई थान मोबाइल पनि फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै घटनामा प्रयोग गर्ने दुई थान खुकुरी र एक थान फलाम रड पनि रानाभाटसँग भेटिएको अपराधन अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

गत पुस ११ मा काठमाडौं महानगरपालिका–३१ सचेतनामार्गमा, वैशाख ८ मा काठमाडौं महानगरपालिका–५ कालोपुलमा र हिजो सोमबार टोखा नगरपालिका–३ जागरण टोलका एक–एक घरमा चोरी भएका थिए ।

ती चोरीका घटनामा रानाभाट संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।  सोही आशंकाका आधारमा खोजी गर्दैजाँदा सोमबार नै काठमाडौंको टेकुबाट उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी कार्कीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?