+
+
Shares
विचार :

अरूको पछि लागेर सेयर बजारबाट धनी भइँदैन

आफूले लगानी गर्दा नै सबल कम्पनी छनोट गरेपछि बजारको सूचकमा आएको घटबढमा अल्झिरहनुपर्दैन ।

साम चालिसे साम चालिसे
२०८३ वैशाख १७ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा लगानी गर्दा कम्पनीको आर्थिक अवस्था र बजार विश्लेषण गरेर दीर्घकालीन योजना बनाउनुपर्छ।
  • नेपालमा सेयर बजारमा अफवाह र हल्लामा आधारित लगानीले जोखिम बढाएको छ।
  • सबल कम्पनीको सेयरमा दीर्घकालीन लगानीले सम्पत्ति वृद्धि र जोखिम न्यून हुन्छ।

कम्पनीको पूँजीलाई साना–साना टुक्रामा विभाजित गरिएको हुन्छ । त्यसरी विभाजन गरिएको पुँजीको सबैभन्दा सानो हिस्सा भनेको एक कित्ता सेयर हो । कुनै पनि कम्पनीको पूँजीमा लिइने हिस्सा नै सेयर स्वामित्व हो । त्यो कम्पनीको पूँजीको आकार अनुसार सेयरको संख्या निर्धारण हुन्छ ।

धितोपत्र बजार भनेको सेयरको खरिदबिक्री गर्ने ‘प्लेटफर्म’ हो, जहाँ सूचीकृत कम्पनीको हिस्सा अर्थात् सेयरको कारोबार हुन्छ ।

व्यक्ति वा संस्थाले आफ्नो सम्पत्ति वृद्धि गर्न वा सिर्जना गर्नका लागि सेयर बजारमा लगानी गर्छन् । सम्पत्तिको आकारमा गुणात्मक वृद्धि गर्ने उपाय दुइटा छन्, त्यसमध्येको एउटा सेयर बजारको लगानी हो भने अर्को व्यापार व्यवसाय हो । तुलनात्मक रुपमा लगानी गर्न सहज र उच्च जोखिम लिई सेयर बजारबाट सम्पत्ति विस्तार गर्न सकिन्छ । त्यसका साथै घरजग्गाको कारोबार पनि छिटो सम्पत्ति निर्माण गर्ने उपाय हो । तर, सेयर बजारमा जस्तो सानो पूँजीले घरजग्गामा काम गर्दैन ।

सेयर बजारलाई बुझेर दीर्घकालका लागि लगानी गरेको खण्डमा पैसा कमाउन सकिन्छ । दीर्घकालीन लगानीमा नाफा निश्चित छ । सेयर बजारबाट धेरैले गुमाएको कुरा सुनाउँछन् । गुमाएँ भन्ने लगानीकर्ताको लगानी अवस्था बुझ्दा अल्पकालीन लगानी अर्थात बजारको मार्जिनल लाभका लागि सेयर खरिद र बिक्री गर्नेहरू अधिकांश हुन्छन् ।

नेपालमा बजार तथा सम्बन्धित कम्पनीको अवस्थामा बारेमा नबुझी हल्ला, अफवाह र अरुको देखेर लगानी गर्ने प्रवृत्ति छ । जुन सेयर बजारमा घातक मानिन्छ । सेयर खरिद बिक्रीको निर्णय पनि कसैले घट्दैछ वा बढ्दैछ भनेकै भरमा गर्ने प्रचलन छ । बजारको अवस्था र कम्पनीको तथ्याङक विश्लेषण गर्न अति नै जरुरी छ । नेपालको सन्दर्भमा प्राविधिक विश्लेषण पनि हुने गरेको छ । तर, त्यसको प्रभावकारिता न्यून देखिने गरेको छ ।

सेयर बजारमा लगानी गरेर धनी बन्न वा सम्पत्ति कमाउन अरुको पछि लागेर सकिँदैन । बजार र सेयर कारोबारलाई नबुझी लगानी गरेको खण्डमा क्यासिनोभन्दा पनि बढी जोखिमयुक्त छ । क्यासिनोमा हरेक १०० गेममा जित्ने सम्भावना ११ प्रतिशत मानिन्छ भने गुमाउने सम्भावना ८९ प्रतिशत हुन्छ ।

आफूले लगानी गर्दा नै सबल कम्पनी छनोट गरेपछि बजारको सूचकमा आएको घटबढमा अल्झिरहनुपर्दैन । जबसम्म कम्पनी अवस्था कमजोर भएको हुँदैन ।

तर, सेयर बजारबाट धेरै लिन खोजेको खण्डमा कमाउने सम्भावना १० प्रतिशत मात्रै हुन्छ । बजारप्रतिको पर्याप्त ज्ञान छैन भने सेयर बजार पनि जित्ने खेल होइन ।

धितोपत्र बजार बुझेर आफूले लगानी गर्ने कम्पनीको विस्तृत समीक्षा गरेको खण्डमा भ्यालु बढ्दै जान्छ, पोर्टफोलियो बढ्दै जान्छ । यसरी सम्पत्ति वृद्धि गर्दा जोखिम रहँदैन । समय भने लाग्छ । ‘कम्पाउन्डिङ’ले काम गर्न अलिकति समय लाग्छ ।

दीर्घकालीन लगानी योजना सहित १० लाखको सेयर खरिद गर्दा हरेक ४ देखि ५ वर्षमा त्यो दोब्बर हुने सम्भावना रहन्छ । सेयर बजारमा लगानी गर्ने भनेको आफ्नो बचत हो । व्यक्ति अनुसार सेयर छनोट गर्ने भन्दा पनि नाफाको आधारमा गर्नु पर्छ । सेयर बजारमा लगानी गर्दा संस्थागत लगानी तथा सामुहिक लगानी कोषलाई आधार बनाउनु भएको छ भने त्यसमा पनि आफू सचेत हुनुपर्छ ।

पछिल्लो समयमा सामुहिक लगानी कोषले समेत अल्पकालीन कारोबार गरेको अवस्था छ । साथै बजारमा सेयरको माग र आपूर्तिमा ती कोषले मद्दत पुर्‍याउनु पर्नेमा त्यसो गरेको देखिँदैन । त्यसैले कसको कुरा सुन्ने, कसको नसुन्ने लगानीकर्ताले विवेक प्रयोग गर्नुपर्छ । त्यसका साथै ती संस्था वा व्यक्तिको नेटवर्थ, रिटर्न, पर्फर्मेन्स लगायतका पक्षलाई विश्लेषण गर्नुपर्छ । मार्केटमा लाग्नेबित्तिकै सबैजनाले आफूलाई एक्स्पर्ट ठान्ने गर्छन्, तर कसको कुरा सही वा गलत छुट्याउनु सक्नुपर्छ ।

सेयर मार्केट भागेर कतै जाँदैन । जुन कम्पनीको सेयर खरिद गर्ने येजना गरिन्छ, त्यो २ महिना ढिलो खरिद गर्दा पनि फरक पर्दैन, तर कम्पनीलाई बुझेको हुनुपर्छ । सेयर बजारमा एक लाख लगानी गर्ने योजना छ भने करिब २ महिना बजारलाई विश्लेषण गर्न सुरु गर्नुपर्छ ।

कम्तिमा पनि २–३ महिनाको समय खर्चेर कम्पनीहरू विश्लेषण गर्नु राम्रो हन्छ । भोलि ५ रुपैयाँ, १० वा २० रुपैयाँ नै बढ्ला, तर नबुडोस् भन्ने मान्यता राख्नुपर्छ । मार्केटले कसरी काम गर्छ, स्टक मार्केट भनेको के हो, पैसा कसरी बढ्छ, कम्पाउन्डिङ कसरी हुन्छ, कम्पाउन्डिङ कति छ, रिटर्न कति आउँछ त्यो हेर्न सक्नु पर्छ ।

सेयर मुल्य बढेको खण्डमा सम्पत्तिको अकार बढ्यो । तर, वास्तविक सम्पत्ति कम्पाउन्डिङले सिर्जना गर्छ । बोनसदेखि लिएर कम्पनीले दिने प्रतिफलसम्म बढ्दै जान्छ, त्यो पनि सम्पत्ति हो ।

लगानी गर्नुभन्दा अघि सुचिकृत कम्पनीको विश्लेषण गरेर विभिन्न क्षेत्रका उत्कृष्ट कम्पनीहरूको छनोट गर्नुपर्छ । त्यस क्षेत्रका उत्कृष्ट २ देखि ३ कम्पनीको पहिचान गर्नुपर्छ । त्यसपछि क्षेत्रगत विविधिकरण गरी लगानीको निर्णय गर्नु उपयुक्त हुन्छ । बजारको अवस्थाअनुसार लगानी थप्ने वा घटाउने गर्नु पनि जुरुरी हुँदैन ।

किनभने कम्पनीले विगतदेखि दिँदै आएको र आगामी दिनमा दिनसक्ने लाभांशको विश्लेषण लगानीकै बखत भइसकेको छ । त्यस आधारमा लगानी गर्दा सम्पत्ति बढाउन सकिन्छ ।

सेयर मूल्यमा हुने घटबढलाई हेर्नु भएन । सेयर मूल्य जुनसुकै बेला घट्ने बढ्ने हुन सक्छ । त्यो स्टक मार्केटको ट्रेन्ड नै हो । आफूले लगानी गर्दा नै सबल कम्पनी छनोट गरेपछि बजारको सूचकमा आएको घटबढमा अल्झिरहनुपर्दैन । जबसम्म कम्पनी अवस्था कमजोर भएको हुँदैन, तबसम्म बजारको घटबढमा निर्णय परिवर्तन गर्न जरुरी छैन । कम्पनीको अवस्था नराम्रो भयो भने लगानी परिवर्तन गर्ने निर्णय गर्नु पर्छ ।

धितोपत्रको प्राथमिक बजार भने बुझ्ने र नबुझ्ने सबैका लागि हो । भोलि दोस्रो बजारमा कारोबार हुँदा लगानी गरेको भन्दा धेरै मूल्यमा सेयर बिक्री गर्न सकिन्छ । साधारण सेयरमा लगानी गर्दा दीर्घकालीन अवधिकै लागि राख्न पनि सकियो र कम्पनीको अवस्था विश्लेषण गरेर बाहिरिन पनि सकियो । त्यहाँ पनि अलिकति पैसा बन्छ ।

प्राथमिक बजारले थोरै पैसा बनाउन मद्दत गर्ने भएपनि धनी बनाउन सक्दैन । धनी बन्नका लागि धितोपत्रको दोस्रो बजारमा जानुपर्छ । समान्य मान्छेलाई धनी बनाउने ठाउँ भनेको स्टक मार्केट हो । सम्पत्ति सिर्जना गर्ने साधन होइन सेयर बजार । त्यसैले आफ्नो बचत परिचालन गरेर धनी बन्न केही समयको लगानी हुनुपर्छ ।

प्राथमिक बजारमा दौडिँदै गर्दा सेकेन्डरीलाई पढ्नुपर्छ । कुनै कम्पनीको सेयर मूल्य कम्पनीले दिँदै आएको प्रतिफल र कम्पनीको वित्तीय अवस्थालाई आधार मानेर निर्धारण भएको छ भने त्यो कम्पनी राम्रो हो । बलियो कम्पनी र उपयुक्त सेयर मूल्य छ भने मात्र लगानी गर्नु उपयुक्त हुन्छ । कम्पनी राम्रो छ भन्दैमा जति पनि मूल्यमा खरिद गर्न तयार हुन भएन । कुनै कम्पनी ओभरभ्यालुड भएका रहेछन् भने त्यस्ता कम्पनीमा लगानी गर्नुहुँदैन ।

(चालिसे सेयर बजार विश्लेषक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?