+
+
Shares

किर्ते सरकारी पत्र बनाएर १०० टन छोकडा आयात गर्न खोज्ने व्यवसायी पक्राउ

नक्कली सरकारी कागज बनाएर १०० टन प्रतिबन्धित छोकडा आयात गर्न खोजेपछि व्यवसायी नविनकुमार अग्रवाल पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २१:००

१७ वैशाख, काठमाडौं । नक्कली सरकारी कागज बनाएर १०० टन प्रतिबन्धित छोकडा आयात गर्न खोजेपछि व्यवसायी नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बिहीबार वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट अग्रवाललाई पक्राउ गरेको हो ।

सिमभिन इन्टरनेसनल इम्पेक्स कालिकास्थान काठमाडौंका सञ्चालक रहेका ५५ वर्षीया अग्रवालको स्थायी ठेगाना वीरगञ्ज–११ रहेको प्रहरीले जनाएको छ ।

सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम नेपाल २०७६ चैत २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

तर, अग्रवालले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्ने नक्कली अनुमतिपत्र तयार पारेर वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेको सीआईबीले जनाएको छ ।

‘उहाँले यो काम पहिल्यै गर्नुभएको रहेछ । अहिले सीआईबीको जानकारीमा आएपछि अनुसन्धान सुरु भएको छ,’ सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) शिवबहादुर श्रेष्ठले भने ।

किर्ते पत्रबारे सामान भन्सारमा आइसकेपछि खुलासा भएको उनले बताए । ‘त्यो सामान भन्सारमा आएको रहेछ । भन्सारले प्रतिबन्धित समान आएको शंका लागेपछि माथि विभागमा खबर गरेको रहेछ । त्यसरी त्यो पत्र किर्ते रहेको खुलेको रहेछ,’ उनले भने । प्रहरीका अनुसार त्यसपछि भन्सार विभागले सामान जफत गरेको थियो ।

प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । त्यसका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत लिइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?