News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ गौतमले इ.पू. ५६३ वैशाख शुक्लपूर्णिमामा लुम्बिनीमा जन्म लिए र ८० वर्षको उमेरमा कुशीनगरमा निर्वाण प्राप्त गरे।
- सिद्धार्थले मध्यमार्ग अपनाएर इ.पू. ५२८ वैशाख पूर्णिमामा बुद्धत्व प्राप्त गरी ४५ वर्षसम्म ज्ञान प्रचार गरे।
- बुद्धले चार आर्य सत्य र आर्यअष्टांगिक मार्ग प्रतिपादन गरी मानवीय दु:ख निवारण, अहिंसा, समानता र सामाजिक कल्याणमा जोड दिए।
सिद्धार्थ गौतमको जन्म ई.पू ५६३ को वैशाख शुक्लपूर्णिमाका दिन लुम्बिनीको रमणीय उपवनमा भएको थियो । उनका पिता कपिलवस्तुका शाक्यवंशी राजा शुद्धोदन र माता मायादेवी थिइन् । शाक्य वंशमा जन्मेकोले उनलाई शाक्यमुनि पनि भनिन्थ्यो ।
मायादेवी सुत्केरी हुन माइती देवदह जाँदै गर्दा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थ जन्मिएका थिए । सिद्धार्थ जन्मिएको सातौं दिनमा मायादेवीको मृत्यु भएकोले सिद्धार्थको पालनपोषण सौतेनी आमा प्रजापतीले गरिन् ।
सिद्धार्थ तरुण हुँदै जाँदा संसारदेखि केही विरक्त, भावुक र अलि बढी विचारमग्न देखेर आफ्नो छोरा साधुहरूको बहकाउमा लागेर गृह त्याग गरेर जाने डरले राजा शुद्धोदनले १६ वर्ष पुग्ने बित्तिकै उनको विवाह छिमेकी कोलिय गणराज्यकी राजकुमारी यशोधरासँग गरिदिए ।
सिद्धार्थ दम्पती २९ वर्षको हुँदा छोरा राहुलको जन्म भयो । एकातर्फ वृद्ध, रोगी, मृत र प्रव्रजितका दृश्यहरू, अर्कोतर्फ समाजका शोषण, दरबारभित्रका दाउपेच र जीवनका अनेक दु:ख देख्दा संसारसँग उनी विरक्त भए । राहुल जन्मिएको सातौं दिन आषाढ पूर्णिमाको रातमा सिद्धार्थ गृह त्याग गरेर निस्किए ।
गृहत्याग गरेको पहिलो रात सिद्धार्थ तत्कालीन मगधको राजधानी राजगृहनजिकै अनोमा नदीमा पुगे र त्यहीँ गेरुवावस्त्र पहिरिए । त्यहाँबाट उनी पहिले आलारकालम नामक तपस्वीकहाँ र पछि उद्दक रामपुत्त कहाँ गए । उनीहरूबाट ध्यान र योगका केही कुरा सिके तर सन्तुष्ट भएनन् ।
ज्ञान आर्जनको विकल्प खोज्दै उनी उरुभेला (बोधगया) पुगे र त्यहाँ भेटिएका अन्य पाँच परिव्राजक (भिक्षु)हरू कौडन्य, वप्प, भद्धिय, महानाम र अस्सजितसँगै करिब ६ वर्षसम्म योग, ध्यान र अनशनको घोर शरीरपीडन तपस्या गरे । यति कठोर तपस्याबाट पनि ज्ञान प्राप्त भएन र उनले दोस्रो मार्गको खोजी गर्न थाले ।
जर्जर र रोगी शरीरले गरेको ध्यानबाट ज्ञान मिल्दैन भन्ने निचोडमा पुगेपछि सिद्धार्थले दालभातलगायत आहार ग्रहण गर्न थाले । त्यो देखेर सँगै रहेका पाँचैजना परिव्राजकहरू उनलाई छोडेर हिंडे । त्यसपछि सिद्धार्थले केही स्थूल आहार खाएर वोधगयाको निरञ्जना नदीको किनारमा ७ हप्तासम्म तपस्या गरे । यसै मध्यममार्गको अवलम्बनबाट उनले इ.पू. ५२८ वैशाख पूर्णिमाको दिन ज्ञान (बुद्धत्व) प्राप्त गरे । त्यही ज्ञान सिद्धार्थको दर्शन बन्न पुग्यो ।
ज्ञानार्जनको दुई महिनापछि असार पूर्णिमाको दिन वाराणसीको उत्तर मृगदावन (सारनाथ)मा साधना गरिरहेका उनै पाँच परिव्राजकहरूलाई बुद्धले प्रथम उपदेश दिए । कौडन्य, वप्प, भद्धिय, महानाम र अस्सजित बुद्धका प्रारम्भिक शिष्यहरू थिए । उनीहरूलाई बौद्ध परम्परामा पञ्चवर्गीय भिक्षु भनिन्छ । ज्ञान प्राप्तिपछिका ४५ वर्षसम्म बुद्धले विभिन्न स्थानमा पुगेर आफ्नो ज्ञानको प्रचार र उपदेश दिए ।
त्यसपछि उनले इ.पू.४८३ वैशाख पूर्णिमाको दिन ८० वर्षको उमेरमा हाल भारतको गोरखपुरमा पर्ने मल्ल गणराज्यको राजधानी कुशीनगरमा निर्वाण प्राप्त गरे । बुद्धले आजीवन दिएका उपदेश, शिक्षा र दर्शनलाई सँगालेर बनाइएको बुद्ध धर्मको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । जसको अर्थ तीनवटा टोकरी भन्ने हुन्छ । त्रिपिटकलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन समूहमा विभाजन गरिएको छ ।
बुद्धका चार आर्य सत्य:
बौद्ध दर्शनको सार भनेको चार आर्य सत्य हो । यसै ज्ञानको प्राप्तिपछि नै सिद्धार्थले बुद्धत्व प्राप्तिको घोषणा गरे । चार आर्य सत्य निम्न छन्–
१. संसारमा दु:ख छ :– जन्म, बुढ्यौली, मरण, शोक, रोदन, मनको खिन्नता, दिक्दारी दु:ख हो । अप्रियसँग संयोग र प्रियसँग वियोग दु:ख हो, इच्छा गरेर नपाउनु पनि दु:ख हो । संसारका प्रत्येक व्यक्तिले यस्ता दु:खबाट अगाडि बढ्नैपर्छ । यसलाई दु:ख आर्य सत्य भनिन्छ ।
२. दु:खको कारण छ :– मानिस सँधै असन्तुष्ट हुन्छ र कुनै न कुनै तृष्णाको पछि लागिरहेको हुन्छ । यसैबाट दु:खको सुरुवात हुन्छ । तृष्णा, लोभ, मोह, द्वेष, इर्ष्या, अहंकार, क्रोध दु:खका कारणहरू हुन् ।
३. दु:खको निरोध छ : दु:खको निरोध वा निवारण सम्भव छ । तृष्णाको शमन वा परित्यागबाट दु:ख निवारण गर्न सकिन्छ । यस अवस्थालाई निर्वाण भनिन्छ ।
४. दु:ख निरोधको उपाय छ :– बुद्धले संसारमा दु:ख छ मात्र भनेनन्, दु:ख निरोधको उपाय पनि पत्ता लगाए । दु:ख निरोधको उपाय नै बुद्धको समग्र दर्शनको केन्द्रबिन्दु हो । दु:ख निरोधको उपायको रूपमा बुद्धले आठवटा मार्ग प्रतिपादन गरेका छन् । जसलाई आर्यअष्टांगिक मार्ग भनिन्छ । बुद्धले भोग विलासमा आशक्ति र शरीर पीडनको बाटो छोडेर मध्यमार्गबाट निर्वाण सुख प्राप्त गर्न सकिन्छ र त्यो मध्यमार्ग नै अष्टांगिक मार्ग हो भनेको कुरा संयुक्तनिकाय, धर्मचक्र प्रवर्तनसूत्रमा उल्लेख छ ।
अष्टांगिक मार्ग
सम्यक् वचन, कर्म, आजीविका, व्यायाम, स्मृति, समाधि, दृष्टि र संकल्प नै अष्टांगिक मार्ग हुन् । अष्टांगिक मार्गलाई आर्यअष्टांगिक मार्ग पनि भनिन्छ । जसलाई प्रज्ञा, शील र समाधिअन्तर्गत विभाजन गरेर अध्ययन गर्ने गरिन्छ–
क) प्रज्ञा :
१. सम्यक् दृष्टि– जुन कुरा वा वस्तु जस्तो छ त्यसलाई त्यस्तै रुपमा बुझ्नु, तिनकै गुण, धर्म र स्वभावमा देख्नु वा अनुभव गर्नु सम्यक् दृष्टि हो । बौद्ध वाङ्मयमा सम्यक् दृष्टि भन्नाले – कर्म र कर्मफलप्रतिको ठिक धारणा, ध्यानको महत्व बारे ठिक धारणा, अनित्यता र यथाबोध बारे ठिक धारणा, क्लेश निर्मूल पार्ने मार्ग बारे ठिक धारणा र निर्वाणको महत्व बारे ठिक धारणा हो ।
२. सम्यक् संकल्प– आशक्ति, तृष्णा, राग, द्वेष, हिंसा आदिबाट टाढै रहनु सम्यक् संकल्प हो । राहुल सांकृत्यायनले – राग, हिंसा, प्रतिहिंसारहित संकल्प नै ठीक संकल्प हो भनेका छन् ।
ख) शील:
३. सम्यक् वचन– झुठो नबोल्नु, कठोर र अपशब्द नबोल्नु, चुगली लगाउने काम नगर्नु र अनावश्यक निन्दा र व्यर्थको गफ नगर्नुलाई सम्यक् वचन भनिन्छ । अरुलाई चोट पुर्याएर एवं खिल्ली उडाएर नबोल्नु र गलत प्रचार नगर्नु यसको सार हो ।
४. सम्यक् कर्म– हिंसा, चोरी, अरुलाई हानि हुने र व्यभिचाररहित कर्म नै सम्यक् कर्म हो । यसअन्तर्गत निम्न कार्य पर्दछन्– क) प्राणीमाथि दयाभाव राख्नु, ख) नैतिक र पवित्र कर्म गर्नु ग) ब्रम्हचर्याको पालना गर्नु ।
५. सम्यक् आजीविका– जीवनयापनको क्रममा अरुलाई दु:ख नदिनु, धोका नदिनु, नैतिकतापूर्ण काम गर्नु र पवित्र उद्योग गर्नु सम्यक् आजीविका हो ।
ग) समाधि :
६. सम्यक् प्रयत्न– इन्द्रियहरूलाई संयम राख्ने, खराब भावनालाई रोक्ने तथा असल भावना उत्पन्न गरी त्यसलाई स्थिर राख्ने प्रयत्न नै सम्यक् प्रयत्न हो । मनको विकार र दुर्गुण हटाएर सद्गुण विकास गर्ने मानसिक प्रयासलाई सम्यक् प्रयत्न भनिन्छ ।
७. सम्यक् स्मृति– खराब र स्वार्थी भावना त्याग गर्नु, सँधै सचेत र सतर्क रहनु, सत्य र यथार्थको स्मरण गर्नु नै सम्यक् स्मृति हो । शरीर, वेदना र चित्तका स्वभावहरू बदलिइरहेका हुन्छन् । जुनबेला जस्तो संवेदना उत्पन्न हुन्छ त्यसलाई त्यस्तै अनुभव गर्नु सम्यक् स्मृति हो ।
८. सम्यक् समाधि– चित्तको एकाग्रतालाई सम्यक् समाधि भन्दछन् । सम्यक् समाधिले मनका विक्षेपहरूलाई हटाएर मन, वचन र कर्मलाई एकाग्र गराउनुका साथै राग, द्वेष र मोहविहीन राख्नसक्छ ।
बौद्ध दर्शनमा सामाजिक कल्याणका पक्ष
क) मानवीय दु:ख निराकरणमा केन्द्रित
बुद्धको धर्म वा दर्शन मानवीय दु:ख निराकरणमा केन्द्रित छ । यसको मूल आधार मानवीय दु:खको पहिचान हो । धर्मचक्र प्रवर्तनको प्रथम उपदेशमा बुद्धले दु:खको कुरा उठाएका छन् । उनका चार आर्य सत्य मध्ये सर्वप्रथम दु:ख छ भनेर बुद्धले दु:खको स्वीकृति गरेको देखिन्छ । त्यसपछिका तीन सत्यहरू दु:खको कारण र तिनको नाशमा केन्द्रित छन् ।
दु:खको स्वीकृति गर्नुको तात्पर्य बुद्ध दु:खवादी थिए भन्ने होइन । बरु दु:ख नाश गरेर सबै प्राणीहरूलाई सुखमा पुर्याउने बाटो देखाएकाले उनी सुखवादी थिए भन्न सकिन्छ । बुद्धकालीन समाजमा शोषण, दासत्व, मानव बेचबिखन, हिंसा, यातना र गरिबी व्याप्त थियो । दासदासीहरूले दासमालिकको अमानवीय दण्डका डरले कठोर परिश्रम गर्नुपर्दथ्यो । यस परिस्थितिको उल्लेख दीर्घनिकायको कूटदन्तसूक्त र संयुक्तनिकायको यन्त्रसूक्तमा समेत गरिएको छ । यस्ता दु:खहरूलाई नजिकबाट देखेको हुनाले बुद्ध मानवीय दु:ख निराकरणमा केन्द्रित रहेको पाइन्छ । मानवीय दु:ख नाशको उपाय नै बौद्ध दर्शनको सबैभन्दा ठूलो उपलब्धी हो ।
ख) अहिंसा र शान्तिको पक्षधरता
सम्पत्ति, सत्ता र प्रतिष्ठाको तीब्र लोभ र लालसाले गर्दा बुद्धकालीन समाजमा चोरी, डकैती, लुटपाट, हिंसाका घटनाहरू अत्यधिक हुने गर्दथे । यसकिसिमका घटनामा संलग्न हुनेलाई दिइने हिंसात्मक सजाँय बारे दुण्डबहादुर बज्राचार्यको मज्झिम निकाय, महादु:खस्कन्धसूत्रमा वर्णन गरिएको छ– “यस्ता लुटेराहरू समातिएमा दास मालिकले कठोर दण्ड दिन्छन् । कोर्राले, छडीले, फलामको रडले हिर्काउनु, हात, खुट्टा, कान, नाक काटिदिनु, खप्परै उडाइदिने, जिउँदो मानिसका शरीरमा तेलले भिजेको कपडा बाँधेर आगो सल्काएर मार्ने, टाउकाको छाला खुर्किदिने जस्ता अमानवीय सजाँय दिएको पाइन्छ ।”
त्यसैगरी, उक्त समयमा धर्म र यज्ञका नाममा पशुबली र क्रुर हिंसा हुने गर्दथ्यो । दीघनिकाय कूटदन्तसूक्तका अनुसार –एक समय बुद्ध मगध देशको भ्रमण गर्दा खाणुमत नामक गाउँमा गएका थिए । त्यो गाउँमा कुटदन्त नामक सबैभन्दा धनी र प्रतिष्ठित ब्राह्मण थिए । ती ब्राह्मणले सब्बाशतशतिका नामक महायज्ञ गर्न लागेको र त्यसमा बली दिनको लागि सातसय गोरु, सातसय बाच्छाबाच्छी, सातसय बोका, सातसय भेंडाहरू मौलामा बाँधेर ठिक्क पारिएको र बुद्धले ठूलो भूमिका खेलेर उक्त प्राणी हत्या रोकेका थिए भनी गोपीरमण उपाध्यायले उल्लेख गरेका छन् । समाजमा हिंसा, पशुबली, जातीय भेदभाव, युद्ध, काटमारका घटना भइरहने हुँदा बुद्धले शान्ति, अहिंसा र अचौर्यमा जोड दिएको पाइन्छ ।
ग) दान र परोपकारमा जोड
बौद्ध दर्शनमा दान र परोपकारलाई अति महत्व दिइएको पाइन्छ । बुद्धले बताएका विभिन्न पारमिताहरू मध्ये दान एक महत्वपूर्ण पारमिता (पूर्णता) हो । तत्कालीन अवस्थामा यो सामाजिक कल्याणको प्रमुख साधन थियो । बौद्ध दर्शनमा गरिब, दु:खी र असहायलाई निस्वार्थभावले दान दिएमा उदारता र करुणाभाव पैदा भई लोभको त्याग गर्न सकिन्छ र लोभको त्यागबाट पुण्य प्राप्ति हुनुका साथै मन शान्त भई समाधिमा सहयोग पुग्दछ भनिएको छ ।
कसैलाई भौतिक वस्तुहरू दिने– आमिष दान, डरबाट मुक्ति दिने– अभय दान र ज्ञान बाँड्ने धर्म दान गरी तीनप्रकारका दानको उल्लेख गरिएको भए पनि धम्मपदमा –धर्म दान सबैभन्दा ठूलो दान हो (सब्बदानं धम्मदानं जिनाति) भनिएको छ । दानले लोभ, अहंकार र स्वार्थबाट मुक्त गराउँदै निर्वाणतर्फ उन्मुख गराउँछ । तत्कालीन समाजमा एकातर्फ अति धनी, सम्पन्न, सेठहरू थिए भने अर्कोतर्फ घरबास केही नभएका अति विपन्न, दास, मजदुर र मागी खाने वर्ग थियो । यस किसिमको विभेद र असमानता कम गर्ने उपायको रुपमा बुद्धले परोपकारी कर्म र दानपारमिताको अभ्यासमा जोड दिएको पाइन्छ ।
घ) सर्वकल्याण, करुणा र मैत्रीको दर्शन
बौद्ध दर्शनको मूल आधार सर्वकल्याण, करुणा र मैत्री हो । बुद्धले अरुलाई दु:ख नदेऊ, मानव बेचबिखन नगर, शोषण नगर, चोट नपुर्याऊ, असल काम गर, खराब भावना त्याग भनेर मानवतावादी विचार व्यक्त गरेका छन् । मानव सभ्यताको इतिहासमा सर्वप्रथम दासप्रथाको विरोध गर्ने र मानिसको किनबेच रोक्नुपर्छ भन्ने विचार बुद्धले अघि सारेका थिए । उनले गरिबहरूप्रति सहानुभूति प्रकट गर्नुका साथै उनीहरूको शोषण गर्न नहुने विषय उठाएका थिए । मानवीय सेवामा बुद्ध आफंै लाग्दथे ।
वैशालीमा महावीरको निर्वाणपछि परेको खडेरी र रोगव्याधिबाट मानिसहरूलाई बचाउन भिक्षु संघसहित बुद्ध त्यहाँ गएको र विभिन्न ठाउँबाट भिक्षा र जडिबुटी ल्याई मनिसहरूको जीवन बचाएको उल्लेख पाइन्छ । उनले मानव समुदायका साथै समस्त प्राणीहरूको समेत कल्याणको लागि प्रवचन दिएका छन् । कल्याण प्रज्ञापारमिता सूत्रहरूमा धेरैपटक “सर्वसत्त्वहिताय”को प्रयोग गरेको हुनाले सबै प्राणी जगतको दु:ख विनाश बुद्धका उपदेशहरूको सार हो । साथै उनले “बहुजनहिताय बहुजनसुखाय” भनेका छन् । यहाँ बहु भनेको धेरै होइन सर्व अर्थात् सबैको अर्थमा प्रयोग भएको छ भने जन्मिनेको अर्थमा जनको प्रयोग भएको छ । त्यसैले बौद्ध दर्शन मानव समुदायको मात्र नभएर सबै जन्मिने प्राणीहरूको कल्याण, तिनीहरूप्रतिको करुणा र मैत्रीको वकालत गर्ने दर्शन हो ।
ङ) मध्यमार्गी विचार
बुद्ध अतिवादका विरोधी थिए । बुद्ध दर्शनले अति विलाशिता र अति दु:ख दुवैबाट टाढा रहन सिकाउँछ । संयुक्त निकायको धर्मचक्र प्रवर्तन सूत्रमा बुद्धले काम–सुखमा लिप्त हुने र शरीर पीडामा लाग्ने दुवै अतिलाई छोडेर आफूले मध्यममार्गको अवलम्बनबाट ज्ञान प्राप्त गरेको बताएका छन् । उनले भगवान्का नाममा हिंसावृत्ति अँगाल्ने, ढोंगी व्यवहार गर्ने र हठयोगी या यौनभोगी भएर जीवन गुजार्ने प्रवृत्तिको आलोचना गर्दै बीचको व्यावहारिक बाटो अँगाल्न उपदेश दिएका छन् । बौद्ध दर्शनले “कर्म गर फलको आश नगर” भन्ने गीताको कर्मवादभन्दा फरक असल काम गरेमा कर्मफल स्वत: प्राप्त हुन्छ भन्ने कुरा बताएको छ ।
बुद्धका उपदेशमा त्यतिबेलाको समाजको द्वन्द्व, अन्तरविरोध र अतिवाद अन्त्य गर्ने अभिप्राय रहेको देखिन्छ । उनले– “आफ्नो चित्तलाई शुद्ध गर, कुनै पाप नगर, कुशल चित्तको वृद्धि गर, यही नै बुद्धको शिक्षा हो” (सब्बपापस्स अकरणं, कुसलस्स उपसंपदा । सचित्तपरियोदपनं एतं बुद्धान सासनं ।) भनेका छन् । मध्यममार्गकै प्रभावका कारण सारिपुत्र, मौद्गल्यायन, कुटदन्त, जस्ता ब्राह्मण र धनी साहुहरूदेखि मगधका राजा बिम्बिसार र कोशलका राजा प्रसेनजीतसम्म उनका शिष्य बनेका थिए । त्यतिबेलाका धनकुवेर र ठूला साहुहरूले बुद्ध र भिक्षुहरूको लागि सुन्दर वाग र ठूल्ठूला विहार दान दिने प्रतिस्पर्धा गरेको देखिंदा उनको मध्यममार्गी विचारको लोकप्रियता अन्दाज गर्न सकिन्छ ।
च) भेदभावरहित समाजको चाहना
गौतम बुद्ध समाजमा विद्यमान भेदभावका विरुद्धमा थिए । उनले प्रज्ञाशील छोरी प्रज्ञाहीन छोरो भन्दा उत्तम हुन्छिन् भनी कोशल नरेशलाई सम्झाएका थिए । बहुपत्नी प्रथा, बालविवाह र विषमवय विवाह व्याप्त रहेको सो समयमा बुद्धले महिला र पुरुष बराबरी हुन् भन्दै एकपत्नी प्रथा र समवयी विवाहमा जोड दिएका थिए । बुद्धका दृष्टिमा सबै मानिस बराबर थिए । उनले नै आफ्नी सानिआमा महाप्रजापतीदेखि गणिका आम्रपालीसम्मका महिलाहरूलाई प्रवज्या दिएर भिक्षुणी परम्पराको सुरुवात गरे । बुद्ध संघमा शूद्र, चाण्डाल, स्त्री एवं अस्पृश्यको भेद थिएन । सबैलाई समान अवसर थियो ।
भुवनलाल प्रधानका अनुसार बुद्धकालीन समाज विभिन्न जात र वर्गमा बाँडिएको थियो र भेदभावमा कट्टरता थियो तापनि उनले जन्मका आधारमा नभई प्रज्ञा, शील, करुणा, मैत्रीका आधारमा व्यक्तिको मूल्यांकन गरेको देखिन्छ । उनले “जटाले, गोत्रले अथवा जन्मले मानिस ब्राह्मण हुँदैन, जो सत्य र धर्ममा अडिग छ उही ब्राह्मण हो” (न जटाहि न गोत्तेन न जच्चा होति ब्राह्मणो । यम्हि सच्चं च धम्मो च सो सुखी सो च ब्राह्मणो ।।) भनेको कुरा धम्मपद मा उल्लेख छ ।
छ) संयमता र नैतिकतामा जोड
मनबाट नै राम्रा नराम्रा विचार र कर्मको आरम्भ हुने भएकोले मनको नियन्त्रणको लागि संयमता अपनाउनु पर्ने विचार बुद्धले व्यक्त गरेका छन् । धम्मपदको पहिलो पद्यमा बुद्धले भनेका छन्– “मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमय । मनसा चे पदुट्ठेन भासति वा करोति वा । ततो नं दुक्खमन्वेति चक्कं वा वहतो पदं ।”
अर्थात् सबै कार्य मनबाट आरम्भ हुन्छन्, मन नै सर्वोपरि छ, संसार मनोमय छ, मनमा दुराशय राखेर बोल्ने वा काम गर्ने मानिसलाई दु:खले गोरुगाडाको पाङ्ग्राले गोरुलाई पछ्याएजस्तै पछ्याइरहन्छ ।
ईसापूर्व ६०० वरिपरिको समयमा ठूलो सामाजिक उथलपुथलपछि आदिम साम्यवादी युगको अन्त्य भएर दासमालिकका राज्यसत्ता स्थापना भइरहेका थिए । समाजमा लुटपाट, हिंसा र काटमारजस्ता घटना भइरहन्थे । त्यसलाई नियन्त्रण गर्ने कानुन र बलियो राज्यसत्ता नभएकोले पनि बुद्धले आत्मिक नियन्त्रण, शान्ति र नैतिकतामा जोड दिएको हुनुपर्दछ ।
भारतीय लेखक डा.राधाकृष्णनले बौद्धधर्म मनोविज्ञान, तर्कशास्त्र एवं नीतिशास्त्रको समुच्चय हो, जसमा अध्यात्मशास्त्र सन्निविष्ट छैन भनेका छन् । यसप्रकार बौद्धदर्शनले आत्मिक नियन्त्रण र संयमतामार्फत् मानव सभ्यतालाई समृद्धितर्फ लैजाने अभिलाषा राख्दछ ।
ज) सुशासन र सदाचार
आजको सन्दर्भमा सुशासन र सदाचार निकै नै महत्वपूर्ण छ । बौद्ध दर्शनले धर्म, न्याय र जनहितमा आधारित शासन गर्न तथा “धर्मराज” को अवधारणाअनुसार शासकले जनताको कल्याणलाई प्राथमिकता दिन सल्लाह दिन्छ । बुद्धले झुटो जीविका छोडेर सच्चा तरिकाबाट जीविका चलाउन प्रेरित गरेका छन् । उनले हातहतियारको व्यापार, प्राणी व्यापार, मांसको व्यापार, मादक पदार्थको व्यापार र विषको व्यापारबाट गरिने कमाइलाई वर्जित गरेका छन् ।
त्यसैगरी– तराजु र ढकको ठगी, घूस, वञ्चना, कृतघ्नता, कुटिलता, वध, डाँका, छेदन, बन्धन र लुटपाटको जीविकालाई पनि निषेध गरेका छन् । बुद्धका आर्थिक तथा राजनीतिक क्षेत्रसम्बन्धी विचारहरू चक्कवत्ती सिंहनाद सुत्त एवं कुटदन्त सुत्तमा संगृहित छन् । जसमा उनले निर्धनता नै पापको कारण भएकोले यसको अन्त्य गर्न राज्यले नै पहल गर्नुपर्ने विचार राखेको देखिन्छ । बुद्धले –आर्थिकरुपले समस्यामा रहेका गरिब, दु:खीलाई राज्यले मद्दत दिनुपर्दछ, जबसम्म निर्धन व्यक्तिहरूका लागि राजाको भण्डार खोलिंदैन तबसम्म प्रजा शान्तिपूर्वक बस्न सक्दैनन् र उनको शासनलाई उत्कृष्ट भन्न सकिंदैन भनेका छन् ।
निष्कर्ष
बुद्ध दर्शन राग, द्वेष, ईर्ष्या, हिंसा, झूट–फरेब, परपीडा, अकल्याण, असंयम त्यागेर सरल जीवन व्यतित गर्ने–गराउने विचारको पुञ्ज हो । बुद्धले आफ्नो ज्ञान दर्शनलाई मानवीय दु:खको निराकरणमा केन्द्रित गरे । दु:ख निरोधको उपायको रुपमा उनले प्रतिपादन गरेको दर्शनको अध्ययनबाट यसमा सामाजिक कल्याणका थुप्रै विषयहरू रहेको देखिन्छ । यो मानवीय दु:ख निवारणको बाटो हुनुका साथै अहिंसावादी, मध्यमार्गी, मानवतावादी र विभेदविरोधी दर्शन पनि हो ।
त्यसैगरी यसले सदाचार, आर्थिक समानता र आत्मिक नियन्त्रणमा जोड दिएको छ । बुद्ध तत्कालिक समयका समाज सुधारक, त्यागी पुरुष एवं दार्शनिक थिए । उनले समाजका अमानवीय क्रियाकलाप, अन्याय, शोषणजस्ता प्रवृत्तिविरुद्ध सरल तरिकाले आफ्ना विचारहरू सम्प्रेषित गरे । उनका उपदेशहरूले सबै प्राणीहरूको हित गरेकाले कालान्तरमा उनका उपदेशहरूलाई धर्म र उनलाई देवताको रुपमा मान्न थालिएको पाइन्छ ।
तर पछिल्लो चरणमा यसको सारभूत मान्यतालाई बङ्याएर हुर्कँदै गएको अवतारवाद, मूर्ति पूजा, आडम्बरपूर्ण प्रवृत्तिको अन्त्य गर्दै बुद्धका प्रारम्भिक विचार, चिन्तन र उपदेशहरूलाई जीवनवादी दर्शनमा विकास गर्नु जरुरी छ । जसबाट शान्ति, सदाचार, सामाजिक कल्याण र मानवतावादी धर्मको रुपमा बुद्धका विचारहरूलाई पुन:स्थापित गर्न योगदान पुग्ने देखिन्छ ।
प्रतिक्रिया 4