बुद्ध पूर्णिमाको पावन अवसरमा सम्पूर्ण नेपाली मनहरूमा बुद्धत्वको हार्दिक शुभकामना !
एउटा लेखकको हैसियतले म शब्दहरू कोर्दै छु, एउटा नागरिकको हैसियतले म आफ्नो समाजलाई नियाल्दै छु र एउटा आध्यात्मिक खोजीको मार्गमा हिँडिरहेको यात्रीको रूपमा म आफ्नै भित्र चियाउँदै छु ।
आज वैशाख पूर्णिमा, बुद्ध जन्मेको दिन । यो त्यही दिन हो, जब यो धर्तीले एउटा विराट् प्रकाश पाएको थियो । आज यो विशेष दिनमा उत्सव मनाइरहँदा मलाई केही प्रश्नहरूले घेरी रह्यो:
हाम्रो भूगोलले त बुद्धलाई जन्म दियो, तर के हाम्रो चेतनाले बुद्धत्वको एउटा सानो त्यान्द्रो पनि अङ्कुरण गर्न सक्यो ? माटोले बुद्ध त पायो, तर के यो मनले बुद्धत्व पायो ? लुम्बिनीको काखमा सिद्धार्थ त बिउँझिए, तर हाम्रा चेतनाका आँखाहरू अझै कतिन्जेल निदाइरहने ?
हामी बुद्धको देशका मानिस हौँ भनेर गर्व त गर्छौँ, तर के हाम्रो गर्व केवल एउटा ऐतिहासिक संयोगमा मात्र सीमित छ ? कि हामीले बुद्धको विरासतलाई साँच्चै आफ्नो रगतमा मिसाएका छौँ ? आउनुहोस्, आज बुद्धलाई भित्ताको फोटोबाट निकालेर आफ्नो हृदयको ऐनामा हेर्ने प्रयास गरौँ ।
हामीले विद्यालयका पाठ्यपुस्तकदेखि लोकसेवाका फारमसम्म एउटै कुरा कण्ठ पार्यौँ, सिद्धार्थ गौतमलाई त चिन्यौँ- राजा शुद्धोधनका छोरा, मायादेवीका राजकुमार, लुम्बिनीमा जन्मिएको बालक । हामीले उनको वंशावली कण्ठ पार्यौँ, उनको भूगोलको सर्टिफिकेट बोक्यौँ । तर के हामीले बुद्धलाई चिन्यौँ ? त्यो मौनतालाई ? त्यो असीमित करुणालाई ? त्यो घोर जागरणलाई ?
सिद्धार्थ एउटा इतिहास हुन् जुन किताबमा छ, तर बुद्ध एउटा अवस्था हुन् जुन हाम्रै श्वासमा हुनुपर्थ्यो । बुद्ध भनेको त जागेको चेतना हो; अहङ्कारको खरानीमा उम्रिएको परम शान्तिको कमल हो । हामीले भूगोलको पासपोर्टमा बुद्धको टाँचा त लगायौँ, तर हाम्रो आचरणको भिसामा बुद्धत्वको गन्ध कहिल्यै आएन ।
हामीले राजकुमार सिद्धार्थलाई चिन्यौँ जसले दरबार त्यागे, तर ती बुद्धलाई चिन्नै खोजेनौँ जसले संसारलाई दुःखबाट मुक्त हुने बाटो दिए । जसले हाम्रो आन्तरिक अहङ्कारको दरबार भत्काउने सूत्र दिए ।
विडम्बना ! हामीले इतिहासको मृत प्रमाणपत्र त जतनले बोक्यौँ, तर वर्तमानको जीवित जागरणमा भने सधैँ फेल भइरह्यौँ । बुद्ध हुनु भनेको जन्मको मिति सम्झनु मात्र होइन, बरु स्वयम्भित्रको अन्धकारबाट बिउँझनु हो ।
आज “बुद्ध वाज बर्न ईन नेपाल” केवल एउटा ऐतिहासिक तथ्य रहेन, यो त हाम्रो सामूहिक अहङ्कारको हतियार र राष्ट्रवादको एउटा सस्तो सिल्ड बनेको छ । हामी बुद्धलाई छिमेकीसँगको श्रेष्ठता सिद्ध गर्ने लडाइँमा एउटा ढालको रूपमा प्रयोग गरिरहेका छौँ ।
विडम्बना कस्तो छ भने, सामाजिक सञ्जालमा कसैले बुद्धको जन्मस्थानबारे अलिकति गलत सूचना दियो भने, हामी उनै बुद्धका अनुयायी हौँ भन्दै खुकुरी उदाउन र ढुङ्गा टिप्न बेर लगाउँदैनौँ ।
हामीले बुद्धको भूगोल त जोगाउन खोज्यौँ, तर के उनले सिकाएको स्वभाव भने कतै बाटोमै गुमाइरहेका त छैनौँ ?
जुन बुद्धले जीवनभर अहिंसा र मैत्रीको शीतल जल छर्किए, उनकै नाममा हामी आज घृणाको आगो ओकल्न पछि पर्दैनौँ । हामी बुद्धको जन्मस्थानका लागि त लडिरहेका छौँ, तर उनले सिकाएको बोधका लागि भने कहिल्यै लडेनौँ । सम्झनुस्, बुद्धलाई सिमानाको रक्षक बनाउनु भनेको उनको अनन्त दर्शनलाई एउटा साँघुरो घेराभित्र कैद गरेर उनको वैचारिक हत्या गर्नुसरह हो ।
हाम्रो राष्ट्रवाद आज यस्तो बौद्धिक दरिद्रताबाट गुज्रिरहेको छ कि हामीलाई बुद्धको ठेगानाको त ठूलो चिन्ता छ, तर उनको चेतनाको भने कुनै वास्ता छैन । बुद्धलाई गालीगलौज र घृणाको माध्यम बनाउनु भनेको सूर्यलाई अँध्यारोको लेपनले पुज्नुजस्तै हो । यदि बुद्धले आज हाम्रो यो हिंस्रक राष्ट्रवाद देख्थे भने सायद मन्द मुस्कानका साथ फेरि एकपटक भन्थे होलान्, ‘भिक्षुहरू ! भूगोल त केवल माटो हो, तर बुद्धत्व त त्यो असीमित आकाश हो जसको कुनै सिमाना हुँदैन ।’
हामीले बुद्धलाई एउटा राष्ट्रिय पहिचानको मृत प्रमाणपत्रजस्तो मात्र बनायौँ । विमानस्थलमा विदेशी ओर्लिँदा बुद्धको देशमा स्वागत छ भनेर विज्ञापन त गर्छौँ, तर ट्याक्सीको भाडादेखि होटेलको कोठासम्म आइपुग्दा हामी उनलाई आफ्नै अकुशल व्यवहारले लुटिरहेका हुन्छौँ । सामाजिक सञ्जालमा बुद्धको नाममा वीरता प्रदर्शन गर्ने हामी, एउटा सामान्य मतभेदमा मानवीयता भुलेर सडकमा उत्रिन्छौँ ।
जुन धर्तीमा संसारकै सबैभन्दा ठुलो शान्तिको ज्योति बल्यो, त्यही धर्तीका मान्छेको मनमा आज यति धेरै अशान्ति, ईर्ष्या र कुण्ठा किन ? बुद्धलाई भूगोलको सिमानामा थुनेर गरिने गर्वको कुनै मूल्य हुँदैन, जबसम्म उनको विचारले हाम्रो मथिङ्गलमा क्रान्ति ल्याउँदैन । हामीले बुद्धलाई तस्बिरमा चिन्यौँ, नारामा चिन्यौँ र विवादमा चिन्यौँ, तर उनले सिकाएको त्यो मौनमा चिन्न भने सधैँ चुकिरह्यौँ ।
आज हामी कुनै पनि पवित्र स्थलमा जाँदा त्यहाँको ऊर्जा महसुस गर्न होइन, त्यहाँको दृश्य कैद गर्न जान्छौँ । तपाईं लुम्बिनी जानुस् वा अन्य कुनै पनि गुम्बा र चैत्य, मन्दिरको ढोकाभित्र पस्नुअघि नै क्यामेरा ‘अन’ हुन्छ । कुन ‘एङ्गल’ बाट फोटो खिच्दा धेरै लाइक आउँछ वा कुन रिल भाइरल हुन्छ भन्ने चिन्ताले हाम्रो भक्तिलाई नै निलिदिएको छ ।
त्यो पवित्र स्थानमा उभिएर दुई मिनेट आँखा चिम्लने र त्यो मौनतालाई आत्मसात् गर्ने धैर्यता आज हामी कसैसँग छैन । हामी त्यहाँ तीर्थयात्री बनेर होइन, एउटा कन्टेन्ट क्रिएटर बनेर पुगेका छौँ ।
हाम्रो क्यामेराको लेन्सले बुद्धको ढुङ्गाको मूर्ति त कैद गर्यो, तर हाम्रो ध्यानको लेन्सले बुद्धको त्यो अजस्र प्रकाशलाई कहिल्यै समात्न सकेन । विडम्बना ! हामी बुद्धलाई केवल पर्यटन र व्यापारको वस्तु बनाइरहेका छौँ, जबकि बुद्ध त एउटा गहिरो आन्तरिक परिवर्तन र क्रान्तिको नाम हो ।
हामी ‘चेक-इन’ गर्नमा यति व्यस्त छौँ कि आफ्नो भित्र झाँक्न नै बिर्सिसक्यौँ । क्यामेराको मेमोरी कार्ड त फोटोले भरिएला, तर हाम्रो चेतनाको रित्तोपन कहिले भरिने ? हामी बुद्धको अगाडि उभिएर पनि बुद्धभन्दा टाढा छौँ, किनकि हाम्रो ध्यान बुद्धमा होइन, स्क्रिनको रिजोलुसनमा अड्किएको हुन्छ ।
सम्झनुस्, बुद्धत्व कुनै फोटोमा कैद हुने दृश्य होइन, यो त मौनमा गरिने साक्षात्कार हो । हामीले बुद्धलाई ग्यालरीमा त सजायौँ, तर आफ्नो जीवनमा सजाउन भने सधैँ चुकिरह्यौँ । हाम्रो यो देखावटी संस्कृतिले बुद्धलाई एउटा सजावटको वस्तु त बनाउला, तर यसले कसैको जीवनमा बुद्धत्वको ज्योति भने कहिल्यै बाल्न सक्दैन । के हामी एक दिन क्यामेरा बिर्सेर, केवल आफू भएर बुद्धलाई भेट्न जान सक्छौँ ?
हामी कति विरोधाभासी छौँ ! डिसेम्बर २५ को अघिल्लो रात क्रिस्मस ईभ मनाउन होटेल र क्लबहरूमा खुट्टा राख्ने ठाउँ पाइँदैन । सडकहरू झिलिमिली हुन्छन्, डिस्कोका स्पिकरहरू रन्किन्छन् र मान्छेहरू रातभर जाग्राम बसेर एउटा विदेशी उत्सवमा आफूलाई समाहित गर्छन् । तर, विडम्बना ! बुद्ध पूर्णिमाको अघिल्लो रात हाम्रा गुम्बाहरू र विहारहरू किन सुनसान हुन्छन् ?
हामीलाई पश्चिमाको हल्लामा रमाउन आउँछ, किनकि त्यहाँ आफूलाई हराउन सजिलो छ । तर बुद्धको मौनतामा बस्न गाह्रो छ, किनकि त्यहाँ आफैँलाई भेट्नुपर्छ । र, आजको मान्छे अरू सबैसँग भेट्न तयार छ, तर आफैँसँग भेट्न डराउँछ ।
हामीलाई अरूको पार्टीमा ब्युँझिन त आउँछ, तर आफ्नै बुद्धत्वमा सधैँ निद्रा लाग्छ । संसार जबजब अशान्तिले पिरोलिन्छ, तब शान्ति खोज्न बुद्धको शरणमा आउँछ । तर हामी बुद्धको देशका मानिसहरू, आफ्नै आँगनको अमृत छोडेर बाहिरको मरुभूमिमा मृगतृष्णाजस्तै अशान्तिमा रमाइरहेका छौँ ।
बुद्धलाई केवल इतिहासको पात्रबाट निकालेर वर्तमानको जीवन्त संस्कृति बनाउन हामीले केही ठोस कार्यहरू गर्नैपर्छ । बुद्ध जयन्तीलाई केवल बिदाको दिन होइन, चेतनाको उत्सवमा बदलौँ:
बुद्ध पूर्णिमाको अघिल्लो रातलाई हामीले मौन जागरणको रूपमा मनाउन सक्छौँ । रातको निश्चित समयमा केही मिनेटका लागि भए पनि सबै ग्याजेट बन्द गरी पूर्ण मौन शान्ति र ध्यानमा डुबौँ । १० मिनेटको मात्र भए पनि सामूहिक मौनता संसारकै सबैभन्दा शक्तिशाली प्रार्थना हुनेछ ।
टोलटोलमा सामूहिक ध्यानका कार्यक्रमहरू आयोजना गरौँ । यदि भिडमा जान मन छैन भने, आफ्नै एकान्तमा बसौँ । श्वासलाई नियालौँ र सोधौँ- म को हुँ ? बुद्धको मूर्ति बनाउनु सजिलो छ, तर आफूभित्रको बुद्धत्व जगाउन गाह्रो । हामीले बुद्धलाई मन्दिरका मूर्तिहरूमा धेरै सजायौँ, अब उनलाई आफ्नै हृदयको सिंहासनमा सजाउने बेला आएको छ । एउटा दियो बाहिर बालौँ, भूगोलका लागि; र एउटा दियो भित्र बालौँ, आफ्नो बोधका लागि ।
यदि हामीले हरेक बुद्ध पूर्णिमामा देशभरि सामूहिक ध्यान र मौनताको परम्परा बसाल्न सक्यौँ भने, केही वर्षमै नेपाल संसारको आध्यात्मिक राजधानी बन्नेछ । तब मानिसहरू हाम्रो अनुहारमा छाएको शान्ति र व्यवहारमा झल्किएको करुणा हेर्न आफैँ लुम्बिनी ओइरिनेछन् ।
बुद्ध हुनु भनेको जन्मनु मात्र होइन, बुद्ध हुनु भनेको बिउँझनु हो । के यो बुद्ध पूर्णिमामा हामी आफ्नै अज्ञानता र अहङ्कारको निद्राबाट बिउँझिन तयार छौँ ? बुद्धलाई भूगोलमा मात्र होइन, अब आफ्नो व्यवहार र चरित्रमा पनि जन्माऔँ । तब मात्र हाम्रो ‘बुद्ध वाज बर्न ईन नेपाल’ भन्नुको वास्तविक सार्थकता रहनेछ ।
बुद्ध जयन्तीको शुभकामना मात्र होइन, बुद्धत्वको शुभकामना !
प्रतिक्रिया 4