+
+
Shares

केरला विधानसभामा आरजेडीको खाता खोल्ने पीके प्रवीन को हुन् ? 

राजनीतिक विश्लेषकहरूका अनुसार उनको स्वच्छ छवि र उच्च शैक्षिक पृष्ठभूमिले मतदाताहरूमाझ विश्वास जगाउन ठूलो मद्दत पुर्‍याएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केरला विधानसभा निर्वाचनमा राष्ट्रिय जनता दल (आरजेडी) का उम्मेदवार पीके प्रवीनले कुथुपरम्बा सिटबाट पहिलो पटक जित हासिल गरेका छन्।
  • प्रवीनले इन्डियन युनियन मुस्लिम लिगकी उम्मेदवार जयन्ती राजनलाई १२८६ मतको अन्तरले पराजित गरेका छन्।
  • आरजेडीको यो जितले पार्टीलाई बिहार बाहिर पनि आफ्नो उपस्थिति देखाउने अवसर प्रदान गरेको छ।

२२ वैशाख, काठमाडौं । केरला विधानसभा निर्वाचनमा राष्ट्रिय जनता दल (आरजेडी) ले पहिलो पटक जित दर्ता गरेको छ। पार्टीका उम्मेदवार पीके प्रवीनले कुथुपरम्बा सिटबाट ऐतिहासिक जित हासिल गरेका हुन्।

आरजेडीको यो जित यसकारण पनि चर्चामा छ किनभने यो पार्टीको पहिचान अहिलेसम्म मुख्य रूपमा बिहारको राजनीतिसँग मात्र जोडिएको थियो।

निर्वाचन आयोगका अनुसार पीके प्रवीनले इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) की उम्मेदवार जयन्ती राजनलाई १२८६ मतको अन्तरले पराजित गरे। प्रवीनले कुल ७०,४४८ मत प्राप्त गर्दा बीजेपीका उम्मेदवार सिजीलाल २२,१९५ मतका साथ तेस्रो स्थानमा रहे।

को हुन् पीके प्रविन ? 

पीके प्रवीन एक सफल व्यवसायी हुन् । उनले अन्नामलाई विश्वविद्यालयबाट स्नातकोत्तर र एम.फिल.सम्मको शिक्षा हासिल गरेका छन्। केरलाको राजनीतिमा राष्ट्रिय जनता दल (आरजेडी) वामपन्थी लोकतान्त्रिक मोर्चा (एलडीएफ) को एउटा सहयोगी दलको रूपमा रहेको छ।

यही गठबन्धन अन्तर्गत आरजेडीले यस निर्वाचनमा तीनवटा सिटमा आफ्ना उम्मेदवारहरू उठाएको थियो। तीमध्ये पार्टीले कुथुपरम्बा सिटमा जित निकाल्न सफल भयो भने बाँकी दुई सिटमा पार्टी दोस्रो स्थानमा रह्यो। प्रवीनले निर्वाचन आयोगमा बुझाएको चुनावी हलफनामा अनुसार उनीसँग सवा तीन करोड भारु भन्दा बढीको सम्पत्ति रहेको छ।

यस सम्पत्ति विवरणमा १.३३ करोड भारु बराबरको चल सम्पत्ति र २.०५ करोड भारु बराबरको अचल सम्पत्ति समावेश छ। उनीमाथि करिब १५ लाख भारु बराबरको ऋण वा दायित्व समेत रहेको छ। निर्वाचन आयोगमा बुझाइएको हलफनामा अनुसार उनी विरुद्ध कुनै पनि आपराधिक मुद्दा दर्ता भएको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार उनको स्वच्छ छवि र उच्च शैक्षिक पृष्ठभूमिले मतदाताहरूमाझ विश्वास जगाउन ठूलो मद्दत पुर्‍याएको थियो।

केरलामा आरजेडीको उपस्थिति 

केरलाको निर्वाचनमा बिहारका पूर्व मुख्यमन्त्री तथा आरजेडी नेता तेजस्वी यादवले पनि एलडीएफको समर्थनमा चुनावी प्रचार गरेका थिए। 

१६ मार्चमा पटनामा बोल्दै उनले भनेका थिए, ‘केरलामा हाम्रो पार्टी एलडीएफको हिस्साको रूपमा विधानसभा निर्वाचन लडिरहेको छ। विगतमा पनि केरला विधानसभामा हाम्रो पार्टीको उपस्थिति रहेको थियो। हामीलाई आशा छ कि हामीले राज्यमा एलडीएफलाई सत्ता जोगाइराख्न मद्दत गर्नेछौँ ।’

केरलाको राजनीतिमा कांग्रेस र सीपीएम लामो समयदेखि एक-अर्काका मुख्य प्रतिद्वन्द्वी रहँदै आएका छन्, जबकि बिहारमा भने यी दुवै दलहरू आरजेडीसँगै ‘महागठबन्धन’ अन्तर्गत सँगै रहेका थिए। आरजेडीले यसअघि पनि केरलाको स्थानीय तहको निर्वाचनमा केही सिटहरू जितिसकेको थियो।

गत वर्ष डिसेम्बरमा सम्पन्न केरलाको स्थानीय तह निर्वाचनमा आरजेडीले कुल ६३ सिट जितेको थियो । सन् २०२१ को विधानसभा निर्वाचनमा भने पार्टीले वायनाडको कल्पेट्टा, कोझिकोडको वडकारा र कन्नूरको कुथुपरम्बा सिटमा प्रतिस्पर्धा गरेको थियो।

राजनीतिक जानकारहरूका अनुसार केरला जस्तो राज्यमा आरजेडीको यो जित प्रतिकात्मक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ, किनभने यसले पार्टीलाई बिहार बाहिर पनि आफ्नो उपस्थिति देखाउने अवसर प्रदान गरेको छ। यो जित यसकारण पनि अर्थपूर्ण छ किनभने हालै सम्पन्न बिहार विधानसभा निर्वाचनमा पार्टीले नराम्रो पराजय भोग्नुपरेको थियो।

१४० सदस्यीय केरला विधानसभा निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी ६३ सिट जितेको छ भने सीपीएम २६ सिटसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी, इन्डियन युनियन मुस्लिम लिगले २२ सिटमा सफलता हात पारेको छ। ( बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको अनुवाद ) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?