News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल टोलीहरूलाई हनी ट्र्याप र सुरक्षासम्बन्धी जोखिमबाट सावधान रहन सात पृष्ठको निर्देशन पठाएको छ।
- निर्देशनअनुसार टोली व्यवस्थापकको लिखित अनुमति बिना खेलाडी वा सहयोगी सदस्यको होटल कोठामा बाहिरी व्यक्तिलाई जान नदिने व्यवस्था गरिएको छ।
- बीसीसीआईले भेप, ई–सिगरेट र प्रतिबन्धित पदार्थ प्रयोगमा कडाइ गर्दै ४८ घण्टाभित्र सबै खेलाडीलाई नियमबारे जानकारी गराउन निर्देशन दिएको छ।
२५ वैशाख, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल टोलीहरूलाई ‘हनी ट्र्याप’ र सुरक्षासम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ । बीसीसीआईका सचिव देवजित सकियाले टोलीहरूलाई सात पृष्ठको निर्देशन पठाउँदै खेलाडी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।
बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहारसम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ ।
निर्देशनअनुसार अब टोली व्यवस्थापकको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाडी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन । पाहुनासँग भेटघाट होटलको लबी वा सार्वजनिक स्थानमै गर्नुपर्नेछ ।
त्यस्तै, खेलाडी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीलाई जानकारी दिनुपर्नेछ । अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम पनि बनाइएको छ ।
बीसीसीआईले केही टोली सदस्यहरूले परिचयपत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यासस्थलमा परिचयपत्र अनिवार्य रूपमा देखिने गरी लगाउन निर्देशन दिएको छ । नियम उल्लंघन गरे प्रवेश रोक्न सकिने बताइएको छ ।
फ्रेन्चाइज मालिकहरूलाई पनि खेलका बेला डगआउट वा मैदानमा खेलाडीसँग प्रत्यक्ष कुराकानी गर्न वा अँगालो हाल्न नपाइने भनिएको छ । बीसीसीआईले यस्तो व्यवहारले खेलको प्रक्रियामा असर पार्न सक्ने जनाएको छ ।
ड्रेसिङ रूममा भेप सेवन गरेको घटना सार्वजनिक भएपछि बीसीसीआईले भेप, ई–सिगरेट र प्रतिबन्धित पदार्थ प्रयोगमा कडाइ गरेको छ । यस्तो कार्य भारतीय कानुनअनुसार अपराध हुन सक्ने चेतावनी पनि दिएको छ ।
बीसीसीआईले टोली व्यवस्थापकहरूलाई ४८ घण्टाभित्र सबै खेलाडी र सहयोगी सदस्यलाई नियमबारे जानकारी गराउन, लिखित सहमति लिन र होटल आउने पाहुनाको अभिलेख राख्न निर्देशन दिएको छ ।
-क्रिकबजबाट
प्रतिक्रिया 4