+

खेल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने लक्ष्य छ : ईश्वर जिसी

२०८३ वैशाख  २५ गते ९:२७ २०८३ वैशाख २५ गते ९:२७
खेल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने लक्ष्य छ : ईश्वर जिसी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट कार्यसमिति सदस्य इश्वर जिसीले खेल क्षेत्रलाई व्यवस्थित उद्योगको रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।
  • जिसीले खेल क्षेत्रले पर्यटन प्रवर्दन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने बताए ।
  • उनले खेल क्षेत्रलाई मनोरञ्जन मात्र नभई उद्यम र उद्योगका रूपमा परिभाषित गर्नुपर्ने धारणा राखेका छन् ।

२५ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट कार्यसमिति सदस्यमा निर्वाचित भएका ईश्वर जिसीले खेल क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो स्पष्ट लक्ष्य रहेको बताएका छन् ।

उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट कार्यसमिति सदस्यतर्फ विजयी भएका जिसी पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत खेल क्षेत्रमा पनि जोडिएका छन् ।

एनपीएलमा लुम्बिनी लायन्सका अध्यक्ष समेत रहेका उनले खेलकुद क्षेत्रमा पनि आफ्नो योगदान दिँदै आएका छन् । लुम्बिनी लायन्सले दोस्रो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।

‘स्वास्थ्य पर्यटन, खेल तथा उत्पादनमूलक कम्पनीहरूको नेतृत्व गर्दै आएको अनुभवका आधारमा मनोरञ्जन र खेल क्षेत्रको महत्व कति ठूलो हुन्छ भन्ने कुरा मैले नजिकबाट बुझेको छु ।’ जिसीले भने ।

उनले खेल क्षेत्र मनोरञ्जनको लागि मात्र नभई यसले पर्यटन प्रवर्दनमा सहयोग गर्ने देखि अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सहयोग पुग्ने बताए । ‘खेल क्षेत्रले केवल मनोरञ्जन मात्र होइन, सम्पूर्ण व्यवसायिक चक्रलाई एकीकृत गर्दै बलियो इकोसिस्टम निर्माण गर्न सक्छ, जिसीले भने ‘यसले पर्यटन, रोजगारी, उत्पादन, सेवा तथा अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्दै देशलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

जिसीले उद्योग वाणिज्य महासंघमा एसोसिएट कार्यसमिति सदस्य निर्वाचित भएपछि अब आफूले खेल क्षेत्रलाई व्यवस्थित गर्न र दिगो उद्योगको रुपमा स्थापित गर्न पहल गर्ने बताए । ‘खेल क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र दीगो उद्योगको रूपमा स्थापित गर्नु नै मेरो एक नवीन र प्राथमिक एजेन्डा रहनेछ ।’

नेपाल उद्योग वाणिज्य महासंघको पहिलो कार्यसमिति सदस्य बैठकमा पनि ईश्वर जिसीले आफ्ना महत्वपूर्ण एजेन्डा स्पष्ट रूपमा अगाडि सार्दै उद्योग, खेलकुद र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएका विषयमा धारणा प्रस्तुत गरेका छन् ।

जसमा उनले खेल क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई ‘उद्यम र उद्योग’का रूपमा परिभाषित गर्नुपर्ने धारणा पनि राखेका थिए । ‘खेल क्षेत्रले युवाहरूलाई सकारात्मक ऊर्जा दिने, देशमै अवसर सिर्जना भइरहेको अनुभूति गराउने तथा युवालाई आफ्नै क्षेत्रमा सक्रिय राख्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

उनले खेल पर्यटन, मनोरञ्जन उद्योग तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न खेल क्षेत्र अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै, नेपाल सुरक्षित, ऊर्जाशील र सम्भावनायुक्त गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत हुन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । खेल क्षेत्रको विकासले पर्यटन उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने र अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालप्रति आकर्षित गर्न समेत मद्दत पुग्ने उनको विश्वास थियो ।

युवाहरूलाई ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने आत्मविश्वास दिलाउन खेलकुद र मनोरञ्जन क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै ईश्वर जिसीले बैठकमा आफ्नो प्रभावशाली प्रस्तुति दिएका थिए ।

बैठकमा अध्यक्ष अञ्जन श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

खेलकुद र उद्योग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय