+
+
Shares

लोक दोहोरीमा छाडा शैली प्रयोग भएको भन्दै साइबर ब्युरोमा उजुरी

लोक सञ्चारकर्मी नेपालका तर्फबाट अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले एक जना गायक र एक जना गायिकाविरुद्ध किटानीसहित ब्युरोमा उजुरी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते २१:१३

३० वैशाख, काठमाडौं । लोक दोहोरी गीतमा छाडा शैलीको प्रयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लाइभ दोहोरी गीतमा छाडा संस्कृति मौलाएको भन्दै ब्युरोमा उजुरी दिएको हो ।

लोक सञ्चारकर्मी नेपालका तर्फबाट अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले एक जना गायक र एक जना गायिकाविरुद्ध किटानीसहित ब्युरोमा उजुरी दिएका छन् ।

सचिव सरगमले गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनाललाई पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिएको जानकारी दिए ।

अधिकारी र छिनालले गाएको गीत केही दिनअघि मात्रै युट्युबमा राखिएको थियो । जसमा छाडापनको पराकाष्टा रहेको भन्दै आलोचना भइरहेको थियो ।

चौतर्फी आलोचनापछि त्यो गीत केही घण्टामै युट्युबबाट हटाइएको थियो ।

‘गीतभित्र प्रयोग गरिएका अधिकांश शब्दहरू दोहोरो अर्थ लाग्ने, अश्लीलता झल्किने तथा सामाजिक मर्यादाविपरीतका रहेका छन्,’ उजुरीमा भनिएको छ, ‘साथै, दोहोरी प्रस्तुतिका क्रममा महिलाको भित्री वस्त्र देखाउँदै गरिएका हाउभाउ, संवाद र दृष्यहरूले नेपाली समाज, पारिवारिक वातावरण तथा युवा पुस्तामाथि प्रत्यक्ष नकारात्मक असर पर्ने देखिएको छ ।’

सचिव सरगमले लोकसंगीत नेपालको संस्कृति र पहिचान भएकोले यो विधामा कसैले पनि अश्लीलता फैलाउन नपाउने बताए ।  ‘भाइरल हुने लोभमा यस्तो छाडा हर्कत गर्न कसैलाई पनि छुट छैन, यसमा प्रहरीले आवश्यक कारबाही गर्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?