+
+
Shares

जनशक्ति नहुँदा लहान अस्पतालको सिटी स्क्यान मेसिन प्रयोगविहीन

२१ वैशाखमा हतार–हतार सीटी स्क्यान सेवा उद्घाटन गरियो । तर मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा सेवा पूर्ण रूपमा ठप्प छ ।

सुरेश राय सुरेश राय
२०८३ वैशाख ३१ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन।
  • अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालन गर्न रेडियोलोजिस्ट, रेडियो प्राविधिक र सहयोगी कर्मचारी आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएको छ।
  • अस्पताल प्रमुख डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो।

३१ वैशाख, सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।

२१ वैशाखमा हतार–हतार सीटी स्क्यान सेवा उद्घाटन गरिएको थियो । तर मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा सेवा पूर्ण रूपमा ठप्प छ । करोडौँ रुपैयाँ लागतमा जडान गरिएको सीटी स्क्यान मेसिन प्रयोगविहीन हुँदा बिरामीलाई मर्का परेको छ ।

तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जित झाले आफ्नो सरुवा हुनुअघि जनशक्ति व्यवस्थापन नै नगरी हतारमा सीटी स्क्यान सेवा उद्घाटन गरेको आरोप कर्मचारीहरूको छ । उद्घाटन भएको हप्तौँ बितिसक्दा पनि बिरामीले सेवा पाउन नसकेपछि अस्पताल प्रशासनमाथि प्रश्न उठ्न थालेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्नु दुःखद भएको बताए । उनले भने, ‘पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको यस प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक छ ।

सर्वसाधारणलाई सस्तो र सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन ठूलो प्रयासपछि मेसिन ल्याइयो । तर सञ्चालन गर्ने प्राविधिक नहुँदा अहिले अप्ठ्यारो स्थिति बनेको छ ।’

अस्पताल प्रशासनका अनुसार सीटी स्क्यान सेवा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी कर्मचारी आवश्यक पर्छ ।

हालै कार्यभार सम्हालेकी अस्पताल प्रमुख (मेसु) डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिइन् ।

अस्पतालबाटै शव साटिएको घटनामा छानबिन गर्न समिति गठन – Online Khabar

उनका अनुसार मधेश प्रदेशभर नै दक्ष रेडियोलोजिस्टको अभाव रहेकाले तत्काल कर्मचारी उपलब्ध हुने निश्चित छैन । ‘हामीले मन्त्रालयसँग निरन्तर ताकेता गरिरहेका छौँ । तर प्रदेशमै विशेषज्ञ जनशक्ति अभाव भएकाले कहिलेसम्म कर्मचारी पठाइन्छ भन्ने टुंगो छैन,’ उनले भनिन् ।

मन्त्रालयबाट जनशक्ति पठाउने अनिश्चित बन्दै जाँदा सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेमा अस्पताल प्रशासन आफैँ अन्योलमा परेको छ ।

मधेश प्रदेशमा कर्मचारी समायोजनमार्फत वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साहलाई यो अस्पतालमा आएका थिए । उनी लहानकै स्थानीयसमेत हुन् । यसअघि निमित्त मेसुका रूपमा कार्यरत रहेका साहलाई गत माघ २ गते प्रदेश मन्त्रालयले डा सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गर्‍यो ।

आफ्नो विशेषज्ञता अनुसारको जिम्मेवारी नपाएको भन्दै उनी हाल घर बिदामा बसेको स्रोत बताउँछ । यता, अस्पतालमा भने विशेषज्ञ अभावकै कारण सीटी स्क्यान सेवा सुरु हुन सकेको छैन ।

तत्कालीन मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा करिब १२ करोड रुपैयाँ लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अर्को लहान अस्पतालमा जडान गरिएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

लामो प्रयास र ठूलो लगानीपछि ल्याइएको मेसिन जनशक्ति व्यवस्थापनमा देखिएको कमजोरीका कारण प्रयोगविहीन भएको हो । राजमार्ग क्षेत्रमा हुने दुर्घटना तथा जटिल रोगका बिरामी अहिले पनि महँगो शुल्क तिरेर निजी अस्पताल वा विराटनगर तथा काठमाडौं धाउन बाध्य छन् ।

 

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?