News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी अस्पतालहरूमा करोडौं रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छन्।
- महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले दक्ष जनशक्तिको अभाव र कमजोर व्यवस्थापनका कारण उपकरणहरू सञ्चालनमा नआएको उल्लेख गरेको छ।
- राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाखको क्याथल्याब मेसिन र २४ करोडको सिटी स्क्यान सिस्टम सञ्चालनमा नआएपछि बिरामीहरू निजी अस्पताल धाउन बाध्य छन्।
१ जेठ, काठमाडौं । सरकारी अस्पतालहरूमा करोडौं रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । दक्ष जनशक्तिको अभाव, कमजोर व्यवस्थापन र गैरजिम्मेवार निर्णयका कारण राज्यको अर्बौं लगानी उपयोगविहीन बनेको हो ।
महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले राष्ट्रिय ट्रमा सेन्टरदेखि गजेन्द्र नारायण सिंह अस्पतालसम्मका महँगा उपचार सञ्चालनमा नआएको बेथिति औंल्याएको छ ।
प्रतिवेदनअनुसार, उपकरण खरिद गरिए पनि सञ्चालनका लागि आवश्यक जनशक्ति, तालिम र व्यवस्थापनको तयारी नगर्दा ती उपकरणहरू ‘कवाडी’ बन्ने अवस्थामा पुगेका हुन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि नै प्रयोगविहीन अवस्थामा थन्किएको छ ।
दक्ष जनशक्ति नहुँदा करिब एक दशकदेखि मेसिन सञ्चालनमा आउन नसकेको हो । जबकि क्याथल्याब सेवा नपाउँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल धाउन बाध्य भइरहेका छन् ।
सेन्टरमा क्याथल्याब भारत सरकारले विशेषगरी दुर्घटनामा परेकाहरूको मुटु वा नसामा ब्लक भएर समस्या भएमा तत्काल उपचार व्यवस्था गरिदिएको थियो ।
ट्रमा सेन्टरमै २४ करोड ७७ लाख ९ हजार रुपैयाँ मूल्यको सिटी स्क्यान सिस्टम पनि सञ्चालनमा आएको छैन । त्यस्तै १४ थान भेन्टिलेटर र ५ थान सी–आर्म मेसिनसमेत प्रयोगविहीन अवस्थामा छन् । अत्यावश्यक उपचारका उपकरणहरू अस्पतालमै थन्किँदा बिरामीहरू आधारभूत सेवाबाट बञ्चित हुनुपरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ७२ लाख ६० हजार रुपैयाँ मूल्यका लिड, ईसीजी केबलका ३०० सेट, प्रयोगमा आउन सकेका छैनन् । उपकरण खरिद गरिए पनि व्यवस्थापनको अभावमा ती सामान वर्षौँदेखि गोदाममै थन्किएका छन् ।
मधेस प्रदेशको गजेन्द्र नारायण सिंह अस्पतालमा पनि अवस्था उस्तै छ । ४ करोड ९० लाख ९५ हजार रुपैयाँ मूल्यका एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम र एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजी लगायतका उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
जरिबुटी औषधि उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार वैद्यखाना विकास समितिमा समेत ६० प्रकारका मेसिन प्रयोगविहीन भेटिएका छन् ।
सिंगल रोटरी ट्याब्लेटिङ मेसिन, अटोमेटिक क्याप्सुल फिल मेसिन र पाउडर फिलिङ मेसिनजस्ता महत्वपूर्ण उपकरणहरू प्रयोगमा नआउँदा सरकारी औषधि उत्पादन क्षमतासमेत प्रभावित भएको छ ।
नेपाल प्रहरी अस्पतालमा समेत अत्याधुनिक उपकरण प्रयोगविहीन छन् । १६ स्लाइसको सिटी स्क्यान मेसिन र १.५ टेस्लाको एमआरआई मेसिन सञ्चालनमा आउन नसक्दा ती उपकरण प्रयोगविहीन अवस्थामा छन् । राज्यको ढुकुटीबाट अर्बौँ रुपैयाँ खर्चेर किनिएका यस्ता उपकरण सञ्चालनमा नआउँदा एकातिर वारेन्टी अवधि सकिँदै गएको छ भने अर्कोतिर सर्वसाधारणले राज्यबाट पाउनुपर्ने न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको महालेखाले औंल्याएको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार उपकरण खरिद प्रक्रियामा कमिसनको चलखेल हुने तर सञ्चालनका लागि आवश्यक जनशक्ति, तालिम र मर्मतसम्भारको योजना नबनाउने प्रवृत्तिले यस्तो अवस्था सिर्जना भएको हो ।
योजना र तयारीबिना उपकरण खरिद गर्ने सरकारी प्रवृत्तिका कारण स्वास्थ्य क्षेत्रमा गरिएको ठूलो लगानी खेर गइरहेको छ ।
प्रतिक्रिया 4