+
+
Shares

शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान हुने गरी शिक्षामा बजेट विनियोजन गर्न विज्ञहरूको सुझाव

विज्ञहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्ने औंल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा बजेट विनियोजन बढाउनुपर्ने औंल्याएका छन्।
  • त्रिभुवन विश्वविद्यालयका डा. डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर अनुसन्धानलाई बढावा दिनुपर्ने बताए।
  • सम्मेलनमा सहभागी अर्थशास्त्रीहरूले नेपालमा शैक्षिक अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने र सरकारलाई नीति निर्माणमा बौद्धिक टेवा पुग्ने बताए।

१ जेठ, काठमाडौं । विज्ञहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्ने औंल्याएका छन् । ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरुले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेश लगायत देशका अर्थशास्त्रीहरुको उपस्थिति थियो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्वडीन प्राध्यापक डा. डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरुले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताए ।

नेपालमा सैद्धान्तिक शिक्षामा धेरै लगानी भएको तर खोज,अनुसन्धान र नवप्रवर्तनले प्राथमिकता नपाएको शर्माको भनाइ छ ।

‘दिगो विकासका लक्ष्य हासिल गर्न कुशल व्यवस्थापन क्षमता चाहिन्छ । विश्वव्यापी सोचलाई स्थानीयस्तरमा विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारले शैक्षिक अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ’, शर्माले भने ।

उनले शिक्षा क्षेत्रको बजेट बढाएर मात्रै विश्वबजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिने बताए ।

भारतको बनारस हिन्दू विश्वविद्यालयको व्यवस्थापन संकायका प्रमुख प्राध्यापक डा.हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण औजार भएको बताए ।

विश्व अर्थतन्त्रको उदाहरण दिँदै डा.सिंहले शक्ति राष्ट्रहरूले अनुसन्धानमा गरेको लगानीले नै अर्थतन्त्रमा प्रतिफल दिएको दाबी गरे । नेपाल र भारतबीच शैक्षिक क्षेत्रमा पर्याप्त सहकार्य हुन नसकेको भन्दै उनले दुई देशबीच राजनीतिक र सांस्कृति सम्बन्धजस्तै शैक्षिक सम्बन्ध पनि बलियो बनाउनुपर्नेमा जोड दिए ।

मधेश विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा.अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरुले चिर्न सक्नुपर्ने बताए ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले अर्थशास्त्रीहरु कुनै पनि मुलुकको सहयोगी शक्ति रहेको बताए । उनले नेपालमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन नेपालका लाग उचित कानुन र नीति बनाउन सहयोगी हुने दाबी गरे ।

आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, अनुसन्धानका निष्कर्ष र विमर्शले राष्ट्रिय नीति निर्माणमा मद्दत पुग्ने बताए ।

नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरुले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरु विश्वस्तरी भएको बताए ।

सम्मेलनको निष्कर्षले सरकारलाई नीति निर्माणमा बौद्धिक टेवा पुग्ने चौधरीको भनाइ छ । शनिबारसम्म चल्ने सम्मेलनमा नेपालका सबैजसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु तथा व्यापार,वाणिज्य,प्रविधि र कानुनका विद्यार्थीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?