News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको ३३ वर्ष पूरा भएको छ।
- दासढुंगा घटनाको वृत्तान्त प्रस्तुत गर्ने ५८ मिनेट लामो 'दासढुंगा घटना गीत' युट्युबमा सार्वजनिक गरिएको छ।
- गीतमा बमबहादुर कार्की, शिवा आले, लोचन भट्टराई, विमाकुमारी दुरा र पवित्रा थापाको स्वर छ र मदन भण्डारीका भाषणका अंश पनि समावेश छन्।
काठमाडौं । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आइतबार ३३ वर्ष पुगेको छ । यस अवसरमा उनीहरूको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् ।
हरेक वर्ष मदन स्मृति दिवस मनाइँदा एउटा गीतको चर्चा अनिवार्यजस्तै हुन्छ । बमबहादुर कार्की, शिवा आले, लोचन भट्टराई, विमाकुमारी दुरा र पवित्रा थापाको स्वर रहेको ‘दासढुंगा घटना गीत’ त्यसबेला विशेषगरी बज्ने गर्छ ।
६ वर्षअघि म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत शनिबार बमबहादुरले आफ्नै युट्युब च्यानलबाट पुनः सार्वजनिक गरेका छन् । ‘दासढुंगा घटना गीत’ शीर्षकमा अपलोड गरिएको यो सामग्री अडियो संस्करणमै उपलब्ध छ । भिडियो भने बनाइएको छैन ।
५८ मिनेट लामो यो गीत सम्भवतः नेपालको सबैभन्दा लामो गीतमध्ये एक मानिन्छ । गीतले दासढुंगा घटनाको विवरण मात्र होइन, त्यस दिनको परिस्थिति, मदन भण्डारी र जीवराज आश्रितको कार्यक्रम, मौसम, यात्रा र उनीहरू कुन उद्देश्यले कहाँ जाँदै थिए भन्ने वृत्तान्तसमेत प्रस्तुत गर्छ ।
पूरै गीत सुन्दा श्रोता त्यतिबेलाको समयमै पुगेजस्तो अनुभूति हुन्छ । गीतमा बमबहादुर, शिवा, लोचन, विमाकुमारी र पवित्राको स्वर छ भने बीचबीचमा मदन भण्डारीका भाषणका अंश पनि समावेश गरिएको छ ।
मदनको भाषणको अंशसँगै गीत सुरु हुन्छ :
‘घटना हो ५० साल जेठ ३ गतेको
दासढुंगा भन्ने ठाउँमा जिप खसेको
एमालेका नेता दुई मदन आश्रित चढेका
पोखराको भेलाबाट आउँदै गरेका
चितवनको ज्यामिरेमा जान भनी आँटेका
मुग्लिनको तारेभीर पनि काटेका
आकाशभरि कालो बादल मडारिँदै आएको
बेलुकीको साढे पाँच बज्नै लागेको…’
यो गीतले म्युजिक नेपालको युट्युब च्यानलमा ८ लाखभन्दा बढी भ्यूज पाएको छ । सयौं श्रोताले कमेन्टमार्फत मदन-आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विरु रिमाल नामका एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘शुक्रबारको दिन थियो । हामी स्कुल १ बजे छुट्टी भएर बाहिर निस्किँदा तनहुँको दुलेगौंडामा झण्डा फर्फराउँदै गएको जिप देखेका थियौं । भोलिपल्ट थाहा भयो, त्यो मदन भण्डारी चढेको गाडी रहेछ । दासढुंगामा दुर्घटना भएछ ।’
धेरैले घटनाप्रति दुःख व्यक्त गरेका छन् भने कतिपयले अहिले पनि मुलुकलाई मदन र जीवराजजस्ता नेताको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । कतिले धेरैअघि सुन्न खोजेको गीत अहिले मात्रै भेटिएको बताएका छन् ।
गीत निस्किएपछि जब अमर लामाले धम्काए

कार्कीले यो गीत २०५० सालमा रेडियो नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए । सुरुमा भने उनको योजना तीज गीत बनाउने थियो । देशका विभिन्न घटना समेटेर दिदीबहिनीलाई गीतमार्फत सुनाउने सोच उनको थियो । त्यस क्रममा बाढीपहिरो, राजनीति र सामाजिक घटनाबारे पनि उनले गीतमा समावेश गरे ।
त्यही क्रममा दासढुंगा घटनालाई पनि तीज गीतमा समेट्ने विचार आएको उनी बताउँछन् । त्यसपछि उनले पत्रपत्रिकामा प्रकाशित सामग्री संकलन गर्न थाले ।
‘एकदिन रेडियो नेपालमा बसिरहेका बेला ठूलो पानी पर्यो । त्यहीँ पत्रपत्रिका पढ्दै घटनाको विवरण टिपेर गीत लेख्यौं,’ बमबहादुरले भने, ‘गीत रेडियो नेपालमै रेकर्ड गरेका हौं ।’
त्यतिबेला बमबहादुर सञ्चार मन्त्रालयअन्तर्गत कर्मचारी थिए । गीत सार्वजनिक भएपछि आफूमाथि राज्यविप्लवको आरोप लगाउँदै कारबाही गरिएको उनी सम्झिन्छन् । त्यसपछि उनलाई काजमा राखिएको थियो ।
‘गीत बाहिर आएपछि कतिपय रेडियोले बजाएनन् । म निजामती कर्मचारी थिएँ । विवादास्पद सामग्री निकालेको भन्दै निजामती ऐनअनुसार कारबाही भयो । भित्रभित्रै नम्बर काट्ने काम पनि भयो,’ उनले सुनाए ।
सहलेखक दामोदर घिमिरेको नाम राख्दा समेत आपत्ति आएको कार्कीको स्मरण छ । दासढुंगा घटनाका चर्चित पात्र अमर लामाको नाम गीतमा उल्लेख गरिएको र त्यसकै कारण उनले आफूलाई घुमाउरो शैलीमा धम्काएको कार्की बताउँछन् ।
‘“तपाईंसँग एकदिन राम्रैसँग भेट हुन्छ” भनेर अमर लामाले धम्काए । त्यो भाषाको अर्थ मैले बुझिहालेँ,’ उनले भने ।
त्यतिबेला यो गीत निकै बिक्री हुने क्यासेटमध्ये एक बनेको बमबहादुर सम्झिन्छन् ।
‘अहिलेजस्तो गीत निकाल्न धेरै पैसा लाग्दैनथ्यो । गीतलाई दर्शक-श्रोताले निकै रुचाएका थिए,’ उनले भने ।
उनका अनुसार, दासढुंगा घटनाबारे नयाँ पुस्तालाई बुझाउन र त्यस समयको राजनीतिक परिवेश सम्झाउन पनि यो गीत अहिले सान्दर्भिक छ ।
२०५० सालमा रेकर्ड गरिएको यही गीतलाई पछि प्राइभेट गरेर कार्कीले म्युजिक नेपाललाई दिएका थिए । अहिले भने म्युजिक नेपालको स्वीकृति लिएर आफ्नो च्यानलमा उनले अपलोड गरेका हुन् । थम्बनेल फोटोबाहेक गीतमा कुनै भिन्नता भने छैन ।
प्रतिक्रिया 4